नामको नागरिक समाज

प्राडा बद्रीविशाल पोखरेल

त्रिविलगायत उच्च शिक्षण संस्थामा पदोन्नतिका लागि प्राडा जस्ता सिङपुच्छर नझुण्ड्याउने सौरभ, केशवप्रसाद भट्टराई, चन्द्र भण्डारी आदिजस्ता राजनीतिक व्यक्ति, विशिष्ट विद्वान्, लेखक तथा विश्लेषकहरू इमानी र विवेकी हुन् यिनीहरू सदाकाल पाँडेगालीमा रमाएको आजसम्म देखिएको छैन । तिनले ओली सरकारका कामको सन्तुलित र शालीन टिप्पणी गरेका छन् । कलमको महत्व नबुझ्नेहरू कलमलाई झट्टी बनाएर हान्छन् ।

 

बृहत नागरिक आन्दोलनका नामबाट यही १४ चैतमा नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राष्ट्रविरोधी नाटक मञ्चन भयो । यस नाटकका सूत्रधार प्रा.कृष्ण खनाल थिए । खनालले नै वक्ता र प्रश्नकर्ताको लगाम लिएका थिए । खनाल नै अतिथि वक्ताका रूपमा रहेका जसपाका अध्यक्ष महन्त ठाकुरलाई अनेक कृत्रिम बखेडा र बहाना देखाएर ओलीविरुद्ध प्रतिनिधिसभामा उभ्भिन उकासिरहेका थिए । खनाल त उपस्थित सबै अतिथि वक्ताहरूलाई ओलीलाई कुनै पनि हालतमा जसरी पनि अपदस्थ गर्न अनुनय, विनय मिश्रित तीव्र आक्रोश व्यक्त गर्दै थिए । यसैमा आधारित लेख पनि प्रकाशित गरेका छन् खनालले ०७४ पुस २३ गते एक दैनिकमा । ओली सरकारले देखिने थोरै मात्र काम गरे आगामी दुई÷चार वटा चुनावमा पनि कांग्रेसका लागि हार मात्र हात लाग्छ भनेका थिए । तर, अहिले ओली सरकारले तत्कालीन, अल्पकालीन र दीर्घकालीन रूपमा गरेको देश, जनता र जनजीविकाका सबालका काम देखेर खनाल आफैँ आत्तिएको अनुभव हुन्छ ।

खनाललगायत नागरिक समाजका अभियन्ता, विश्लेषक र लेखक भनिने एकथरिहरू मानिसहरू भारतीय शाषक अनुकूल वा कन्फर्टेबल सरकार निर्माणजस्तो राष्ट्रघाती प्रवृत्तिका बारेमा मौन साँधेर बसिरहेका छन् । देशभित्र नै प्रदेश हुन्छ भन्ने आशयका भनाइलाई आधार बनाएर ओलीलाई संघीय शासन विरोधी भनेर एक स्वरमा ठूला मिडियामा रोइलो गर्नेहरू नेपालमा कठपुतली सरकार छिट्टै नबनेकामा धेरै दुःखित देखिन्छन् । उक्त नागरिक सभामा नाकाबन्दीका बेला दशगजापारि गएर नेपालतिर ढुंगामुढा बर्साउन उक्साउने ठूला नागरिक अभियन्ता भनिएका खगेन्द्र संग्रौलाले त विगतमा झैँ जात, भात, नाक, नश्ल जस्ता नेपालीहरूमा परस्पर विद्वेष र विध्वंश मच्चाउन उद्यत तथा उत्तेजित भाषण गरे । उनले तराई मधेसका जनतालाई देशभित्रका औपनिवेशीसमेत भन्न पनि बाँकी राखेनन् । यसभन्दा पनि अघि बढेर खनालहरू नेपालको संविधान (२०७२) का बारेमा तराईमधेसी जनतालाई भड्काउने उद्घोषण गरिरहेका थिए । ओलीकै अठोट र अडानबाट धन्न जे जस्तो भए पनि संविधान बन्यो, लागू भयो र समय क्रममा असहमतिहरू थान्को लागेका छन् । संविधान बन्न नसकेको भए देश कस्तो अवस्थामा पुग्थ्यो खनालले कल्पना गरे हुन्छ । मानवअधिकारवादी कृष्ण पहाडीले (२०७३ जेठ १७ सोमबार, नागरिक दैनिकमा) संविधान जारी गर्न लाग्दा राष्ट्रपतिको निवासमा बसेर षड्यन्त्र नगरेको भए मधेस आन्दोलनमा यतिका मान्छे मारिने थिएनन् भनेका छन् । तर, तिनै महामहिम वर्तमान राष्ट्रपतिप्रति अनेक फतुर लगाएर लाञ्छित गर्छन् । आग्रह र आदतले मानिसलाई कति तल झार्न सक्छ भन्ने यो एउटा भद्दा उदाहरण हो ।

संविधान नबन्दै देशमा आगो लागेजस्तो भएको थियो । अनि संविधान बनेपछि खनाल, संग्रौला, रोक्का, पाठक, लाल आदि नामका अभियन्ताहरू तराई मधेसका जनतालाई संविधानविरुद्ध नानाभाँती उग्र अराजक अराजनीतिक प्रचारबाजी गरेर भड्काउ अभियानमा न्वारानदेखिको बल लगाउँदै थिए । बल्दो आगोमा पेट्रोल छर्किरहेका थिए । नेकपा एमाले र अझ ओलीलाई मधेसमा प्रवेश निषेध गर्ने तहमा पु¥याउन तिनले कम्मर कसेका थिए तर हजार झुटलाई एउटै सत्यले समाप्त पार्छ पारेको छ ।

नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्नेहरूको यिनले आलोचना गर्दैनन् किनकि ती तिनका साख्खै दाजुभाइ र मतियार परे । ओली इतर प्रधानमन्त्रीले भारतीय शाषकका अगाडि निहुरिएर तपाईंहरूले भने अनुसार संविधान संशोधन गर्छु भनेको नागरिक अभियन्ता नामका नामीहरू बोल्ने हिम्मत गर्दैनन् । एउटा लेखक, प्राज्ञ, विश्लेषक र वकिलसित अलिकति त इमान र विवेक हुन्छ तर त्यति पनि पहिचान नभएपछि कसरी बौद्धिक प्राज्ञिक लेखक र विश्लेषक भइन्छ । त्रिविलगायत उच्च शिक्षण संस्थामा पदोन्नतिका लागि प्राडाजस्ता सिङपुच्छर नझुण्ड्याउने सौरभ, केशवप्रसाद भट्टराई, चन्द्र भण्डारी आदि जस्ता राजनीतिक व्यक्ति, विशिष्ट विद्वान्, लेखक तथा विश्लेषकहरू इमानी र विवेकी हुन् यिनीहरू सदाकाल पाँडेगालीमा रमाएको आजसम्म देखिएको छैन । तिनले ओली सरकारका कामको सन्तुलित र शालीन टिप्पणी गरेका छन् । कलमको महत्व नबुझ्नेहरू कलमलाई झट्टी बनाएर हान्छन् । यिनलाई १ सय ३० वटा तुइन विस्थापित भएकामा धेरै पिर परेको जस्तो छ, रानीपोखरीको भव्य र आकर्षक अवस्था देखेर आतेस भएको छ । तराई मधेसमा विखण्डनकारी गतिविधि रोकिएकामा यिनलाई पर्नु पिर परेको छ । माओवादी विप्लब पार्टी शान्तिपूर्ण राजनीतिक धारमा आएकामा पनि यिनलाई खपिनसक्नु भएको छ । शायद यिनले मेलम्चीको पानी पनि कसरी पिउँदा हुन् । ओलीको अनुहार हेर्र्दै दाह्रा किट्ने मानव कसरी मन थामेर बस्दो हो । निर्माण पूरा हुन लागेको भव्य र भयानक धरहरा उद्घाटनका दिन यिनको सातो जान बेर छैन । यस खालका बौद्धिक भनिएका व्यक्तिहरूलाई उनकै घरपरिवारका विवेकी तथा सचेतजनले के भन्दा हुन् ।

चुच्चे नक्सा नेपाली नक्सामा समावेश भएको भोलिपल्ट प्रधानमन्त्रीविरुद्ध प्रायोजित गतिविधि गर्ने दाहाल र नेपालहरू यिनका प्रशंसनीय पात्र बन्छन् । बाध्यात्मक अवस्थामा संविधानअनुसार मध्यावधि घोषणा गर्दा मांसाहारी नागरिक अभियानको अगुवाइ गर्नेहरू शान्तिको माला जप्छन् । बालुवाटार अगाडि प्रधानमन्त्री र सुरक्षाकर्मीविरुद्ध अराजक बोली वचन गर्दै मुठभेटको आन्दोलन गर्नेहरू भद्र नागरिक भएका छन् ।
नाकाबन्दीका विरुद्ध चट्टानी अडान राख्ने प्रधानमन्त्रीलाई सपनामा पनि सराप्छन् । प्राडा पीताम्बर शर्माले केही दिनअघि बिबिसी नेपाली सेवामा अन्तर्वार्ताका क्रममा ओली सरकारका पालमा पहिलेका सरकारले खास केही नगरेको धेरैजसो नियमित काम गरेको, दुईतिहाइ मत प्राप्त सरकारले त्यसअनुसार धडाधड काम नगरेको भनेर आग्रहपूर्ण विचार प्रवाह गरे ।

ओली सरकारले गरेका विकासे कामहरू विगतका सरकारलेझैँ नियमित रूपमा गरिने सामान्य काम हुन् भन्ने शर्माले हिजोका दिनमा वर्षभरिमा १० किमी मात्र बाटो बन्थ्यो तर अहिले प्रतिदिन पाँच किमिका दरले बनेका कालोपत्रे गरिएका बाटाहरूको जम्मा हिसाब गरुन् । देश र जनताका हितमा समर्पित सरकार विकास र निर्माण गर्ने काममा पञ्चमीको पाइला गनेर बस्दैन भन्ने शर्मालाई थाहा होस् । रुख देख्ने जंगल नदेख्ने, जंगल देख्ने अनि रुख नदेख्ने रोगग्रस्तलाई पहिले रोगकै उपचार गर्नुपर्छ ।

जानीबुझी चोर बाटोतिर लागेका मानिसलाई सज्जन भन्न सकिन्न । गलत दिशादर्घामा लागेको मानिसलाई साधु भन्न सकिन्न । पहेँलो वस्त्र धारण गर्ने बित्तिकै सन्यासी भन्न मिल्दैन । कुराले होइन कर्म नै मानिसको असली पहिचान हो । मूर्खले बदलाको भावना राख्छ, बुद्धिमानले बिर्सिदिन्छ सज्जनले माफ गरिदिन्छ । त्यसैले ओलीका विरुद्ध विष प्रवाह गरे पनि त्यसलाई शिवले पिएझैँँ ओलीले पिइदिनु हुन्छ । नाम मात्रका ज्ञानीलाई साँच्चो ज्ञानी बनाउनु मजा हुन्छ । जुनकिरीलाई जूनदेखि रिस उठ्छ, पोथ्राहरू समीको विशालता देखेर दुःख मान्छन् ताराहरू सूर्यको रिस गर्छन् । ओलीको एकोहोरो रिस गर्नेहरूको औकात दयनीय देखिन्छ । के गर्नु केही दिन, केही छिनको खपतका लागि निहित स्वार्थवस कसैका लागि लेख्ने र बोल्नेहरू बोलिरहन्छन् तर तिनले देश र जनताका वास्तविक हितमा लेख्तैनन् । तिनलाई देश र जनताको खुसहाली मन पर्दैन । मन पर्ने भए देशव्यापी रूपमा विकास निर्माणका कामहरू तिनले देख्ने थिए र लेख्ने पनि थिए । ती त कसैका लागि परायाका लागि र यो देश कहिल्यै पनि उँभो नलागोस् भन्नका लागि मात्र लेख्छन्, बोल्छन् । देश र जनताको खुसहाली देख्ने सामान्य नैतिकता पनि नहुनेहरू ओलीलाई नैतिकताको पाठ पढाइरहेका छन् । आखिर प्रतिनिधिसभा पुनस्थापित हुँदा के कस्ता विकृति उत्पन्न हुन्छन् भन्ने फेरि पनि स्पष्ट भयो । यो कुरा त पहिले नै देखिएको थियो । प्राडा संंग्रौलाले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पद त्याग गर्नुपर्ने अत्यन्त महत्वपूर्ण अर्तीबुद्धि गर्दै थिए । शायद उनलाई पनि कन्फर्टेबल सरकार बनाउन हतार भएको हुँदो हो ।

भूकम्पपीडित, बारा पर्सा जिल्लाका सुनामीपीडित लगायत घरबारविहीन तथा सरकारका विभिन्न निकाय, पुरातात्विक महत्वका गरी सात लाखभन्दा बढी भवन, घर र आवासहरू निर्माण गरेको तथ्यबाट अभियन्ताहरूको ओठमुख सुकेको हुनुपर्छ । मधेस सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत दुई लेनको सडक, हुलाकी राजमार्ग, व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत ६ लेनको तीव्र गतिमा भइरहेको सडक निर्माण, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत गरी कालोपत्रे भएका सडकहरूको संख्या उल्लेख्य देखेर यिनको होसहवास उडेको हुनुपर्छ । भारतीय सरकारले पूरा गर्छु भनेर वर्षांै रोकेर र कामै नगरेर रहेको हुलाकी मार्ग पूरा हुने अवस्थामा पुग्नु पनि पहिलेका सरकारले गरेझैँ नियमित काम हुन् । बरु प्राज्ञहरू र प्राध्यापकहरूले निम्न कुराहरू सुनुन्, बुझून् र गुनून्, प्रधानमन्त्री ओलीका अनुसार बाह्य हस्तक्षेका विरुद्ध लड्नु पर्दैन, नेपालीहरू अड्दा वा एक ढिक्का हुँदा हुन्छ । यत्ति पनि बुद्धि पलायो भने हामी स्वतन्त्र, स्वाधीन र समृद्ध देश बन्न सक्छौँ । होइन आफू पनि नगर्ने गर्नेको पनि खेदो खन्ने बेहोरा रहिरहने हो भने यो देश कहिल्यै बन्दैन ।

प्रतिक्रिया