नगरप्रमुखको डोजरमा आगजनी

डोल्पा । जिल्लाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुई वटा डोजरमा आगजनी भएको छ । नगरपालिकाको केन्द्र जुफालबाट वडा–५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जंगलमा भे १ क ४६३६ र भे १ क १२९४ नं. का दुई वटै डोजरमाथि अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।

घटना विषयमा स्थानीयवासीसँग बुझ्दा शनिबार साँझ ७ः३० बजेसम्म सकुसल भएको र बिहान मात्रै आगजनी भएको पाइएको डाँगीको भनाइ छ । घटना कसले कसरी घटायो अझै पत्ता नलागेको भन्दै उनले आफ्नो नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेकाले अनुसन्धान सुरु गरिएको बताए । आगजनीबाट दुई वटै डोजर पूर्णरूपमा क्षति भएको बताइएको छ ।

दुई वटै डोजर मौसम एन्ड हरिष निर्माण सेवाको नाममा रहेको प्रहरीले जनाएको छ । आफू काठमाडौं भएको र घटनाका विषयमा फोनबाट जानकारी पाएको नगरप्रमुख शाहीले बताए । प्रहरी घटनास्थलमा पुगिसकेको र अहिले ठ्याक्कै कसैमाथि शंका नभएको शाहीको भनाइ छ ।

प्रतिक्रिया