कोरोनाबाट मर्नेको संख्यामा वृद्धि

काठमाडौं । नेपाल कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा पछिल्लो केही दिनमा वृद्धि हुन थालेको छ । संक्रमितको संख्या लगभग उस्ता उस्तै संख्यामा देखिएपनि मृतक भने बढ्न थालेका हुन् । पछिल्लो ६ दिनमा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ती मध्ये सात जनाको पछिल्लो दुई दिनमा मृत्यु भएको हो । अहिलेसम्म कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ३ हजार २७ पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार चैत्र ९ गते ३ जना, ११ गते १ जना, १३ गते ४ जना र १४ गते ३ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय कोरोना संक्रमणविरुद्धको पहिलो खोप लगाएपछि मानिस बढि आत्मविश्वासी भएर हेलच्याक्राई भएको हुन सक्ने जनस्वास्थ्यविद्हरुको आशंका रहेको छ । पहिलो चरणको खोपले कुनै ठुलो प्रभाव नपार्ने भन्दै दोस्रो चरणको खोप लगाएपछि मात्रै त्यसले काम गर्ने भएकाले सावधानी अपनाउन उनिहरुको आग्रह छ । कतिपयको मृत्यु पहिलो खोप लगाएका व्यक्ति पनि रहेको बताइएको छ ।

यसैबीच, थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ७४५ मा पिसिआर परीक्षण गर्दा ८५ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाबाट निको हुनेको दर ९८.४ प्रतिशत छ । पछिल्लो तथ्यांकसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ७५० पुगेको छ । पछिल्लो २४ घण्टामा ९३ जना निको भएर फर्किएसँगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ४३५ पुगेको मन्त्रालयको जनाएको छ ।

प्रतिक्रिया