रक्तपातपूर्ण म्यानमार : सेनाले चलाएको गोली लागेर एकैदिन कम्तिमा ८९ प्रर्दशनकारीको मृत्यु

म्यानमार । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा शनिबार ठूलो मानवीय क्षति भएको छ । ‘आर्मड फोर्सज डे’को दिन भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि कम्तिमा ८९ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर मृतकको संख्या यकिन हुन सकेको छैन । त्यो भन्दा पनि बढि हुन सक्ने बताइएको छ ।

जुन्ता (म्यानमार सेना) प्रमुख जनरल मिङ आन हाइङले राजधानी न्यापितामा आयोजित सैन्य परेडलाई सम्बोधन गर्दै सेनाले लोकतन्त्रको रक्षा गर्ने बताएका छन् । त्यसलगत्तै रक्तपात मच्चिएको खवरहरु सार्वजनिक भएका हुन् । राज्य नियन्त्रित टेलिभिजनले शुक्रबार प्रदर्शनकारीको टाउको र ढाडमा गोली चल्न सक्ने बताएको थियो । तर, यो चेतावनीको बाबजुद नागरिकहरु रङगुन, माण्डले र अन्य प्रमुख सहरमा सेनाले माघ १९ मा गरेको ‘कू’ विरुद्ध सडकमा उत्रिएका हुन् ।

म्यानमारको नाउ न्यूज पोर्टलका अनुसार सुरक्षाकर्मीको गोली लागेर शनिबार ८९ जनाको मृत्यु भएको छ । माण्डलेमा ५ वर्षे बालकसहित २९ जनाको मृत्यु भएको छ । रङगुनमा मात्र २४ जना मारिएका छन् । थाइल्यान्डको सीमानेर म्यानमारको सशष्त्र आदिवासी समूह करेन नेसनल युनियनका एक कमाण्डर र लडाकुसहित १० थप मारिएका छन् । सैनिक प्रवक्ताले चाहिँ यो हताहतीबारे कुनै टिप्पणी गरेका छैनन् ।

सेनाले सत्ता आफ्नो हातमा लिएयता भएको प्रदर्शनमा शनिबारसहित ४ सय जना सर्वसाधारणको ज्यान गएको जनाइएको छ । गत नोभेम्बरको चुनावमा धाँधली भएको भन्दै सेनाले निर्वाचित नेतालाई अपदस्थ गर्दै शक्ति आफ्नो हातमा लिएको हो । सेना प्रमुख आङ लाइङले लोकतन्त्रको रक्षा गर्ने र देशमा चुनाव गराउने बताएका छन् । तर चुनाव कहिले हुन्छ भन्ने खुलाएनन् । सेनाले फेब्रुअरीमा शासन सत्ता हातमा लिएको थियो ।

प्रतिक्रिया