इटाली विजयी, स्पेन रोकियो

पेरिस । कतार विश्वकप २०२२ को युरोपियन छनोटको पहिलो खेलमा इटालीले सहज जित निकाल्दा स्पेन बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा इटालीले नर्दन आयरल्यान्डलाई २–० ले पराजित गरेको हो । स्टेडियो इनिओ टार्डिनी पार्मा इटालीमा भएको खेलमा घरेलु टोलीको जितमा डोनिनिको बेरारडी र सिरो इमोविलले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलका चौथो मिनेटमा डोमिनिको बेरारडीको गोलबाट इटालीले १–० को अग्रता लिएको थियो । उनले एलेसान्द्रो फ्लोरेन्जीको पासमा गोल गरेका थिए ।

३९औं मिनेटमा सिरो इमोविलेले गोल गर्दै इटालीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले लोरेन्जो इन्सिग्नेको पासमा गोल गरेका थिए । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै इटालीको जितमा पर्याप्त बन्यो । यही समूह ‘सी’ को अर्काे खेलमा स्वीट्जरल्यान्डले बुल्गेरियालाई उसकै मैदानमा ३–१ ले पराजित गरेको छ । स्वीट्जरल्यान्डको जितमा ब्रिल इम्वोलो, ह्यारिस सेफेरोभिक र स्टेभेन जुवेरले गोल गरे । घरेलु टोलीका किरिल डेस्पोडोभले एक गोल फर्काए ।

यो नतिजापछि स्वीट्जरल्यान्ड र इटालीको समान ३ अंक भएपनि गोल अन्तरमा स्वीट्जरल्यान्ड शीर्षस्थानमा तथा इटाली दोस्रो स्थानमा रहेको छ । बुल्गेरिया र नर्दन आयरल्यान्ड चौथो र पाँचौ स्थानमा रहँदा लिथुआनिया तेस्रो स्थानमा रहेको छ । यस्तै विश्वकप छनोटकै अर्काे खेलमा स्पेनले अग्रता जोगाउन नसक्दा ग्रीससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । स्पेनका अल्भारो मोराटाले कोकीको पासमा ३३औं मिनेटमा गोल गर्दा ग्रीसका एनास्टासिअस बाकासेटासले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए ।

यही समूहको अर्काे खेलमा स्वीडेनले जर्जियालाई १–० ले पराजित गरेको छ । स्वीडेनको जितमा भिक्टोर क्लाइसनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३५औं मिनेटमा ज्लाटन इब्राहिमोभिचको पासमा गोल गरेका थिए । यसै खेलमार्फत ३९ वर्षीय भेट्रान ज्लाटन इब्राहिमोभिचले सन्यासको निर्णय फिर्ता लिदै ५ वर्षपछि स्वीडेनका लागि पहिलो खेल खेल्दै गोलको लागि असिस्ट दिए ।

जितपछि समुह ‘बी’ मा स्वीडेन ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । १ अंक जोडेको ग्रीस दोस्रो तथा स्पेन तेस्रो स्थानमा रहेको छ । अंकविहीन कोसोभो चौथो तथा जर्जिया पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया