सुब्बालाई मैनाली पुरस्कार

काठमाडौं । साहित्यिक पत्रकार संघले २०७७ सालको मैनाली कथा पुरस्कार दार्जिलिङ निवासी कथाकार विन्द्या सुब्बालाई प्रदान गर्ने निर्णय गरेको छ । संघका महासचिव पुष्पा खनालले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कथामा महत्वपूर्ण योगदान दिएकाले उक्त पुरस्कार दिइएको उल्लेख छ । कथाकार सुब्बाका कथाक्रम (१९८४), हस्पिस (२००३), शीतलहर (२०१३) कथाकृति लगायतका दर्जनौं कृति प्रकाशित छन । सुब्बाले दियालो, अगमसिह गिरी, साहित्य अकादमी लगायतका दर्जनौ पुरस्कार र सम्मान पाएकी छन् ।

नगद एक लाख एक हजारसहितको उक्त पुरस्कार आधुनिक नेपाली कथाका प्रवर्तक गुरुप्रसाद मैनालीको नाममा २०३८ सालमा स्थापना गरिएको थियो । कथाकारलाई प्रोत्साहित गर्ने उद्देश्यले उनका सुपुत्र डा. सुशील, राजेन्द्र, अम्बिका र डा. माधव मैनालीको सक्रिय सहयोगमा पुरस्कार स्थापना गरिएको खनालले जानकारी दिइन् । यस वर्ष कथाकार सुब्बालाई दिइने निर्णय संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।

मैनाली कथा पुरस्कारबाट यसअघि कथाकार विश्वम्भर चञ्चल, जगदीश घिमिरे, प्रेमा शाह, खगेन्द्र संग्रौला, मनु ब्राजाकी, मोहनराज शर्मा, माया ठकुरी, कुमार ज्ञवाली, भाउपन्थी, पद्मावती सिहं, भागिरथी श्रेष्ठ, राजव, किशोर पहाडी, सनत रेग्मी, सन्तोष भट्टराई, मुरारी अधिकारी, इन्दिरा प्रसाई, ध्रुव सापकोटा, नगेन्द्रराज शर्मा, नारायण ढकाल, माधव भण्डारी, गोविन्द गिरी प्रेरणा, गोपाल पराजुली, महेशविक्रम शाह, इस्माली, अविनाश श्रेष्ठ, नयनराज पाण्डे, राजेन्द्र विमल लगायत पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया