एनबीए कपको मिति सर्यो

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने योनेक्स सनराइज एनबीए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिति परिवर्तन भएको छ । यही चैत १५ देखि १८ गतेसम्म हुने भनिएको च्याम्पियनसिप कभर्ड हलको व्यस्त भएका कारण मिति सार्नु परेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिएका छन् । अब च्याम्पियनसिपको नयाँ मिति २०७८ साल वैशाख ४ देखि ८ गतेसम्म हुने भएको छ ।

दशरथ रंगशालास्थित कभर्ड हलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रित युगल, ब्वाइज तथा गल्र्स यू–१७ र भेट्रान्स युगल ४५ गरी ८ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ । ¥याङ्किङ प्रतियोगितासमेत रहेको च्याम्पियनसिपमा नेपाल ब्याडमिन्टन संघसँग आबद्ध जिल्ला ब्याडमिन्टन संघ र आबद्ध हुन बाँकी जिल्ला, विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।

करिब २७ लाखको अनुमानित बजेट रहेको च्याम्पियनसिपमा पुरुष तथा महिला एकलका शीर्ष तीन विजेताले नगद ५० हजार, २५ हजार र १२ हजार ५ सयसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै युगल तर्फका शीर्ष तीनले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सयसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै यू–१७ ब्वाइज तथा गल्र्सका शीर्ष तीन विजेताले नगद २० हजार, १० हजार र ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया