फेरिँदै चिमखोला र कुइनेमंगलेको परिचय

म्याग्दी । यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधारका सुविधा नभएको म्याग्दीको कुइनेमंगले गाउँको परिचय अहिले भने फेरिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–८ मा पर्ने कुइनेमंगलेको घ्यासीखर्कमा यातायातका साधन पुगेपछि गाउँको सौन्दर्यमा शिक्षा, स्वास्थ्य र जनचेतनाको विकासले निखारता ल्याएको छ । गलेश्वरदेखि कुइनेमंगलेसम्म ३६ किलोमिटर सडकको ट्रयाक निर्माणमा स्थानीय सरकारसँगै संघीय र प्रदेश सरकारको समेत साझेदारी रहेको छ ।

तीन वर्षको लगातारको प्रयासपछि सडकको ट्रयाक निर्माणले पूर्णता पाएपछि गत फागुनको दोस्रो साता दर्मिजा, चिमखोला र कुइनेमंगले गाउँमा सडक पुगेको हो । सडक पुगेपछि यी गाउँको मुहार उज्यालिएको हो । ०७४ मा ट्रयाक खोल्न सुरु गरिएको उक्त सडकमा गण्डकी प्रदेश सरकार, रघुगंगा गाउँपालिका र तुदी पावर कम्पनीको गरी १८ करोडभन्दा बढी रकम खर्च भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

‘आव ०७४/७५ देखि हालसम्म यस सडकखण्डमा १८ करोडभन्दा बढी बजेट खर्च भएको छ’, उनले भने, ‘सडक पुगेपछि यस क्षेत्रका तीन वटा वडामा विकासको ढोका खुलेको छ भने जनजीवन पनि सहज भएको छ ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीका अनुसार यस सडकमा गाउँपालिका, प्रदेश र संघीय सरकारबाट कुल ४ करोड ५ लाख ७२ हजार ६ सय ८७ खर्च भएको छ । गाउँपालिका अध्यक्ष भण्डारीले व्यक्तिगतरूपमा १० लाख लगानी गरेका छन् ।

त्यसैगरी यस वर्ष गाउँपालिकाको पहलमा चिमखोला र कुइनेमंगले क्षेत्रमा जलविद्युत् निर्माण सुरु गरेका तुँदी हाइड्रोपावर र संयुक्त ऊर्जा प्रालिले ११ करोड बजेट यस क्षेत्रको सडक निर्माणमा खर्चिएको जनाएका छन् । सडक डिभिजन कार्यालयले तीन वर्षको अवधिमा २ करोड ७६ लाख ४९ हजार ५ सय २४ विनियोजन भई काम गरेको पाइएको छ ।

ट्रयाक खुलेपछि हिजोआज दैनिकरूपमा जीप, बोलेरो, ट्रयाक्टर, मोटरसाइकल आवतजावत गर्ने थालेका छन् । यातायातका साधन सञ्चालन भएपछि गाउँ सहरसँग जोडिएको छ । स्थानीय उत्पादनको बजारीकरणमा सहज भएको छ । कुइनेमंगले गाउँ अझै पनि धेरैलाई दुर्गम नै लाग्छ तर शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासको पूर्वाधारले गति लिन थालेपछि गाउँको सुन्दरतामा परिवर्तन भएको छ । गाउँका स्थानीयवासी शिक्षित बन्दै गएका छन् । स्वास्थ्य, शिक्षा, खानेपानी यातायातलगायत विकासका पूर्वाधारले कुइनेमंगले गाउँ जोडिँदै गएको स्थानीय बुद्धिजीवी हरि छन्त्यालले बताए । उनुभयो । अक्करे पहाड अजंगको भिरमा रोकिएको सडकलाई तीन वर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, संघ र जलविद्युत् निर्माण गर्ने कम्पनीसँगको साझेदारीमा सडकको ट्रयाक निर्माण सम्भव भएको हो ।

०६७ देखि सडक निर्माण थालिएकामा टुक्रे बजेटका कारण लामो समय लागेर सडक निर्माणले पूर्णता पाएको वडा–४ का वडाध्यक्ष रुकबहादुर गर्बुजाले बताए । यस सडक सञ्जालले यस क्षेत्रका करिब पाँच हजार जनसंख्या प्रत्यक्षरूपमा लाभान्वित बनेका छन् । खच्चड र मानिसले नै बोकेर खाद्यान्न लगायतका सामान ढुवानी गर्दै आएका स्थानीयवासीले सडकले सिधा सम्पर्क जोडिएसँगै गाउँमा उत्पादन हुने उपजलाई सहज बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन् ।

यस क्षेत्रमा उत्पादन हुने आलु, सिमीलगायतका कृषिउपज र भेँडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पु¥याउने अपेक्षा गरिएको वडा–८ का वडाध्यक्ष गमान छन्त्यालले बताए । उनले धवलागिरि आइसफल पदमार्ग र रिखार क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्नसमेत सडकले सघाउने बताए । सडक कुइनेमंगले गाउँवासीलाई मात्र नभएर दग्नाम, दर्मिजा र चिमखोलावासीका लागिसमेत वरदान सावित भएको छ । गाउँमा सडक नपुग्दा घण्टौँ लगाएर दैनिक उपभोग्य सामान किनबेच गर्नुपर्ने बाध्यता भए पनि अहिले घरघरमा व्यवसाय गर्न पाउँदा त्यस क्षेत्रका जनता दंग छन् ।

मोटरबाटोले गाउँको मुहार नै फेरिदिएको स्थानीयवासी दलमान छन्त्यालले बताए । घरघरमै सवारी साधनले सामान ल्याउँदा गाउँमा चहलपहल बढेको उनको भनाइ छ । सडक पुगेपछि कुइनेमंगलेवासीलाई आवतजावतमा मात्र सहज भएको छैन उनीहरूको कष्टकर दैनिकीसमेत बदलिएको छ ।

प्रतिक्रिया