राईडर्सको विजयी सुरुवात

काठमाडौं । सप्तरीको राजविराजमा सुरु तेस्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिगको उद्धघाटन खेलमा रुपनी राईडर्सले बोदे बर्साईन थन्डर्सलाई १३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । राज रंगशालामामा सम्पन्न खेलमा रुपनीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईनले २० ओभर अल आउट हुँदै १ सय ३४ रन बनायो । बोदे बर्साईनको लागि नारायण जोशीले सर्वाधिक ३३, कप्तान सिद्धान्त लोहनीले २४ र योगेन्द्र सिंह कार्की र बिकाश दासले समान १७ रनको योगदान दिए । रुपनी राईडर्सका सुमित झाले ४ ओभरमा २५ ओभरमा ४ विकेट लिए अनिल यादवले २ विकेट, फिर्दोश अन्सारी, सुनिल धमला, कुशल भुर्तेल र अनुज कुमार यादवले १–१ विकेट लिए ।

त्यस अघि टस हारेर ब्याटिङ थालेको रुपनी राईडर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । रुपनीका ओपनर सुनिल धमलाले सर्वाधिक ३७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए । निरज मुखियाले १९, अनिल यादवले अविजित १७, अनुज यादवले अविजित १५ र कुशल भुर्तेलले १२ रन बनाए । बोदे बर्साईनका अफस्पिनर बिशाल सुश्लिंगले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । नारायण जोशी, पप्पु यादव र बसन्त रेग्मीले १–१ विकेट लिए । लिग अन्तर्गत सोमबार दुई खेल हुनेछन्। बिहान ९ बजे सुरु हुने पहिलो खेलमा दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोइलाडी जायन्टस र पवन सरार्फ कप्तानीको बजाज खडक वारियार्स तथा दिउसो १ बजे हुने खेलमा मेहबुब आलम कप्तानी टिभीएस किंग्स राजविराज र सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साईन थन्डर्सले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया