सडक पेटीमा सुतिरहेका व्यक्तिको ढुङ्गाले हानेर हत्या

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलङ्कीको सडक पेटीमा सुतिरहेका व्यक्तिको ढुङ्गाले हानेर हत्या भएको जनाएको छ । आज (आइतबार) बिहान साढे २ बजेको समयमा ५५ वर्षीय पुरुषको हत्या भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार थापागाउँमा बिहान अपरिचित व्यक्तिले ढुंगाले हान्दा चौधरी थरका पुरुषको उपचारको क्रममा शहीद अस्पतालमा मृत्यु भएको हो । हत्या आरोपमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अपराध महाशाखा, परिसर काठमाडौं र प्रहरी वृत कालीमाटीबाट खटिएको टोलीले थापालाई ढुंगेअड्डाबाट पक्राउ गरेको हो । कलंकी क्षेत्रमा मजदुरी गरेर खाइ हिँड्ने चौधरीको टाउकोमा चोट लागेको बताइएको छ । उनको शव शहीद अस्पताल कलङ्कीमा राखिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया