‘काभ्रेली कविका कविताहरू’ सार्वजनिक

काभ्रे । प्रगतिशील लेखक संघ (प्रलेस) काभ्रेले ‘काभ्रेली कविका कविताहरू’ पुस्तक सार्वजनिक गरेको छ । बनेपा नगरपालिकाको हलमा सम्पन्न कार्यक्रममा प्रलेस केन्द्रीय अध्यक्ष प्रा.डा जीवेन्द्रदेव गिरिले उक्त कृतिको विमोचन गरे । उनले नेपालमा समाज रुपान्तरणका लागि प्रगतिशील स्रष्टाले महत्वपूर्ण योगदान दिएको बताए । प्रा.डा. गिरिले यसै सिलसिलामा काभ्रेका स्रष्टाले रुपान्तरणका विषयमा केन्द्रित रहेर कविता संग्रह ल्याएको जिकिर गरे ।

प्रगतिशील लेखक संघ काभ्रे जिल्ला अध्यक्ष भवानी पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा जनमत साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार मोहन दुवालले पुस्तकमा नेपाली समाजको परिवर्तनका विषयलाई चित्रण गरिएको धारणा व्यक्त गरे । पुस्तकमाथि टिप्पणी गर्दै दुवालले समाजका विषयलाई स्रष्टाले सकेसम्म समेट्ने कोशिस गरेको बताए । प्रगतिशील लेखक संघ पूर्वकेन्द्रीय सदस्य रक्तिम लामा, गायक मच्छेश्वर सापकोटा, पनौती साहित्य समाजका अध्यक्ष रामसुन्दर देउजा, नवसाहित्य समाजका अध्यक्ष सीताराम आचार्य सागर, प्रलेस काभ्रेका सल्लाहकार तुयुकाजी ताम्राकार, चण्डेश्वरी माविका प्रधानाध्यापक राजेन्द्रकुमार बज्राचार्य लगायतका साहित्यले समाज रुपान्तरणमा भूमिका खेल्ने बताएका थिए ।

प्रलेस उपाध्यक्ष केदारनाथ आचार्यले पुस्तकमा काभ्रेका स्रष्टाका रचना समेटिएको जनाउँदै प्रगतिको बाटो समाजलाई डो¥याउन स्रष्टाले भूमिका खेल्नुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा तुयुकाजी ताम्रकार, रामसुन्दर देउजा, सीताराम सागर, रक्तिम लामा, नवराज उत्साही, अनामिका सजल, सुभद्रा दाहाल, ललिता अधिकारी, मीरा चापागाईं, सुभद्रा अधिकारी, सुशिला विष्ट, लक्ष्मी सुवेदीले रचनावाचन गरेका थिए । साथै मच्छेश्वर सापकोटाले गीत प्रस्तुत गरेका थिए । सचिव ध्रुव रायमाझीले प्रलेस काभ्रेले पुस्तकमार्फत परिवर्तन र रुपान्तरणको विषयलाई उठान गरेका बताए ।

प्रतिक्रिया