कोइला नआउँदा इँटा व्यवसायी मर्कामा

नेपालगञ्ज । भारतले कोइला आयातमा रोक लगाएपछि यस क्षेत्रका इँटा व्यवसायी समस्यामा परेका छन् । इँटा उत्पादनको सिजन भएकैबेला भारतले इँटा पकाउन प्रयोग हुने कोइला आयातमा रोक लगाएपछि तयार भएको काँचो इँटा पकाउन नसकिएको स्थानीय व्यवसायीको गुनासो छ । इँटा व्यवसायी संघ बाँकेले दिएको जानकारीअनुसार इँटा पकाउनका लागि भारतको झारखण्ड र बंगालबाट कोइला आयात गर्ने गरिएकोमा अहिले एक्कासि भारतले आयात रोक्दा व्यवसायीलाई समस्या परेको छ ।

इँटा व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले भारत सरकारले कोइला अभाव भएको बहाना बनाएर आयातमा रोक लगाएको जनाउँदै कोइलाको अभावमा तयारी इँटा त्यसै राख्नुपरेको बताए । उनले पानी पर्यो भने करोडौंका इँटा गलेर नोक्सानी हुने डर व्यवसायीलाई रहेको बताए । बाँके, बर्दिया, दाङ, सुर्खेतका इँटा उद्योगीले भारत र तेस्रो मुलुकबाट कोइला आयात गर्दै आएका छन् । भारतले आफ्नो देशको मात्र नभई तेस्रो मुलुकबाट आउने कोइला समेतको आयातमा रोक लगाएको चाँद इँट्टा उद्योगका सञ्चालक चाँद खानले बताए । उनले इँटा पकाउन प्रयोगमा आउने हुने ब्रिगेडसमेत भारतले ल्याउन नदिएको बताए । ‘उखु मिलबाट निस्केको फोहरबाट बनेको ब्रिगेडसमेत भारतले ल्याउन नदिँदा हामी समस्यामा परेका छौँ,’ उनले थपे ।

संघका अनुसार बाँकेमा ६० वटा इँटा उद्योग सञ्चालनमा छन् । भारतले दुई सातादेखि कोइला आयात गर्न नदिएको किसान इँटा उद्योगका सञ्चालक रज्जव अलीले बताए । कोइला नपाउँदा १० लाख काँचो इँटा बाहिर रहेको उनले बताए । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले पनि गत दुई हप्तादेखि भारतबाट कोइला नआएको बताएका छन् । कोइला बोकेका मालबाहक गाडी नआएपछि मात्र भारतले कोइला ल्याउन नदिएको जानकारी पाएको उनको भनाइ छ । कोइला आयातमा भारतले रोक लगाएको भन्ने जानकारीमा आए पनि के कारणले रोकेको हो भन्ने आधिकारिक जानकारी नआएको उनले बताए । भारतले कोइला ल्याउन नदिँदा उत्पादन रोकिएकोले यस क्षेत्रमा इँटा अभाव हुने सम्भावना बढेको छ । कोइला ल्याउन नपाए इँटाको मूल्य पनि बढ्न सक्ने उद्योगीले जनाएका छन् ।

प्रतिक्रिया