मालढुंगा–बेनी सडक स्तरोन्नति हुँदै

म्याग्दी । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत मालढुंगा–बेनीसम्मको सडकलाई दुई लेनमा विस्तार गरी कालोपत्रे गर्ने योजना अगाडि बढाइएको छ । बहुवर्षीय ठेक्कामार्फत सडक निर्माण गर्न लागिएको हो । म्याग्दीको सदरमुकाम बेनी जोड्ने छोटो दुरीको यो सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका थिए । यस सडकलाई कालीगण्डकी कोरिडोरअन्तर्गत समावेश गरेर सडक निर्माण थालिएपछि स्थानीयवासी उत्साहित भएका छन् । मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको मालढुंगादेखि म्याग्दीको सदरमुकाम बेनी सम्मको खण्डका रूपमा यो सडकलाई कायम गरेर सडक निर्माणलाई अगाडि बढाइएको हो ।

मालढुंगादेखि बेनीसम्म १३ किलोमिटर साँघुरो सडकलाई चौडा पारी मध्यपहाडी सडककै मोडेलमा निर्माण गरिने भएको छ । सडक निर्माणका लागि एपेक्स खड्का कृष्ण जेभी बाँकेलाई छनौट गरी सम्झौताको चरणमा रहेको आयोजनाले जनाएको छ । चैत महिनाभित्र निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भई वैशाखबाट काम सुरु गर्ने तयारी रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख रामेश्वर लम्सालले बताए । उनका अनुसार तीन वर्षभित्र सडक निर्माण सम्पन्न गरिने लक्ष्य छ । कुल ७२ करोड लागत अनुमान गरिएको भए पनि सबैभन्दा कम मूल्यको प्रस्तावलाई स्वीकृत गरेर ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता हुने आयोजनाले जनाएको छ । सडक निर्माणका लागि अर्थमन्त्रालयले बहुवर्षीय ठेक्काका लागि यसै वर्ष स्वीकृति दिएको थियो । यसअघि म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै कोरलासम्म र मालढुंगादेखि बागलुङ र पर्वततर्फबाट समानान्तर रूपमा सडकको काम भइरहेको थियो ।

मालढुंगाबाट बेनी पुग्नका लागि मालढुंगा–बेनी सडक वा बागलुङतर्फबाट कालीगण्डकी किनारैकिनार सडक बनाउने भन्ने विषय अन्योलमा थियो । मालढुंगा–बेनी सडक स्तरोन्नतिका लागि बजेट विनियोजन तथा कालिगण्डकी करिडोरको रूपमा विकास गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहल गरेका थिए । उनको निरन्तरको पहलपछि सडक विस्तारका लागि योजना अघि बढेको सचिवालयका अशोक पौडलले बताए । ०४८ सालमा म्याग्दीको सदरमुकाम बेनी जोड्नका लागि यो सडक ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु भएको थियो । त्यसपछि मालढुंगा–बेनी–दरबाङ–सडक आयोजनाका रूपमा यसमा काम भएको थियो भने पछिल्लो समय डिभिजन सडक कार्यालय बागलुङ मर्मतको काम गर्दै आएको छ । सडक स्तरोन्नति भएपछि मुस्ताङ जाने पर्यटक र पर्वत, म्याग्दी र मुस्ताङका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया