काठमाडौं । साहित्यकार विन्दु अधिकारी ढकालद्वारा लिखित नयाँ कथा संग्रह ‘मावली दिदी’ बजारमा आएको छ । उक्त कृतिको प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, प्राज्ञ माया ठकुरी, कथाकार ढकालकी आमा लक्ष्मी अधिकारी, पति नेपाल प्रहरीका एसएसपी भीमप्रसाद ढकाल, पुत्र विप्लव ढकाल ‘विपु’ लगायतले संयुक्तरुपमा विमोचन गरे ।
कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले कथाकार ढकाल ऊर्जाशील साहित्यकार भएको उल्लेख गर्दै भने, ‘मावली दिदीभित्र समाविष्ट विन्दुजीका कथामा समाजका विविध पक्षमिहिन ढंगबाट प्रतिबिम्वित भएका छन् । संग्रह एउटा पठनीय कृतिका रूपमा आएको छ ।’ प्रतिष्ठानको आख्यान विभाग प्रमुखसमेत रहेकी कथाकार प्राज्ञ ठकुरीले ‘मावली दिदी’ हाम्रै गाउँसमाजकी एउटी प्रतिनिधिमूलक पात्र भएको बताइन् । उनले कथा संग्रहभित्रका सबै कथाले पाठकलाई तान्ने दाबी गरिन् ।
कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै समालोचक डा. यज्ञश्वर निरौलाले संग्रहभित्रका सबै कथा पठनीय रहेको जिकिर गरे । उनले कथाकार ढकालले नयाँ शैलीबाट कथा वाचन गरेका बताए । धनकुटाको चुङमाङमा जन्मिएकी कथाकार विन्दुको यसअघि ‘विन्दुहरू’ नामक कविताकृति प्रकाशित छ । मावली दिदी ब्रदर बुक्स पब्लिकेशनले प्रकाशन गरेको हो । संग्रहभित्र १५ ओटा कथा समाविष्ट छन् ।
प्रतिक्रिया