स्रष्टा सम्मान

काठमाडौं । निबन्धकार शंकर लामिछनेको ९४औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ पत्रकार एवं लेखक भैरव रिसाललाई अभिनन्दन गरिएको छ । शंकर लामिछाने प्रतिष्ठानद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा लेखक गणेश रसिक, नियात्राकार प्रतीक ढकाल र दया फाउन्डेसनलाई सम्मान एवै पुरस्कृत गरिएको छ । रसिकलाई ५० हजार नगदसहित शंकर लामिछाने निबन्ध पुरस्कार र नियात्राकार प्रतीक ढकाललाई २५ हजार नगदसहित शंकर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गरिनुका साथै दया फाउन्डेसनलाई सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लामिछाने देवकोटापछिका सबैभन्दा सशक्त निबन्धकार भएको बताए । उनले भने, ‘शंकर लामिछाने प्रतिष्ठानले गर्दै आएका कार्यक्रमले लामिछानेलाई नयाँ पुस्तामाझ चिनाउन ठूलो मद्दत पुगेको छ ।’

कार्यक्रममा अभिनन्दित व्यक्तित्व भैरव रिसाल, पुरस्कृत व्यक्तित्व गणेश रसिक र सम्मानित संस्था दया फाउन्डेसनका संस्थापक एवं निवर्तमान अध्यक्ष किपा माथेमाले अभिनन्दन, पुरस्कार र सम्मानका लागि आभार व्यक्त गरे । अभिनन्दित एवं पुरस्कृत व्यक्तित्वका बारे बोल्दै समालोचक प्रमोद प्रधानले उपयुक्त व्यक्तिको चयन भएको र सबैको आआफ्ना विधा क्षेत्रमा उल्लेखनीय योगदान रहेको चर्चा गरे । शंकर लामिछानेकी धर्मपत्नी रत्ना लामिछानेको समेत उपस्थिति रहेको सो कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष आख्यानकार पद्मावती सिंह, प्रतिष्ठानका सदस्य नियात्राकार युवराज नयाँघरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेत, बुकहिल प्रकाशनका प्रमुख एवं सञ्चारकर्मी भूपेन्द्र खड्का र प्रतिष्ठानका सदस्य पुष्पा खनालले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया