वीरगञ्ज । जीतपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान परमानन्द चौधरीले अघिल्लो वर्षभन्दा यसवर्ष मकै खेतीको क्षेत्रफल बढाएका छन् । यसको कारण चौधरीलाई खेती सहज लागेर होइन, कृषि अनुसन्धान केन्द्र रानीघाट वीरगञ्जले उपलब्ध गराएको मकै रोप्ने नयाँ प्रविधि पाएकाले हो । चौधरीले यस वर्ष साढे चार बिघा क्षेत्रफलमा मकै खेती गरेका छन् । उनले अघिल्लो वर्ष मेसिनबाट मकै रोप्दा सबै खर्च कटाएर ४ लाख ५० हजार मुनाफा कमाएपछि यस वर्ष हौसिएर उनले साढे चार बिघा क्षेत्रफलमा मेसिनबाट खेती गरेका हुन् । परम्परागत विधिभन्दा मेसिनले रोपेको मकैबाली सप्रिने, राम्रो घोगा र दाना लाग्ने भएपछि त्यसभेगका खेस्रौल, खैरवा, कञ्चनपुर, आँमाटारका १० किसानले यसवर्ष करिब ३० बिघा क्षेत्रफलमा व्यावसायिक रूपमा मकैखेती गरेका छन् ।
त्यस भेगका किसानले डिकाल–९०० एम, मायोनिप–३३५५ र शंकर–२२४४ जातको मकै लगाएर मेजप्लान्ट भन्ने मेसिनबाट तीन बिघा क्षेत्रफलमा मकैखेती गरेको निरञ्जन चौधरीले भन्, ‘चारपांग्रे ट्र्याक्टरबाट खेतमा चलाउन सकिने यो उपकरणले मानिसले भन्दा व्यवस्थित रूपमा लाइनमा मकै रोप्दा बाली सप्रिन्छ ।’ एक जना ट्र्याक्टर चालकले मेसिन चलाएर मकै रोपी विषादी छर्न लाग्ने मजदुरबाहेक अन्य मजदुर नलाग्ने, खर्च वचत हुने भएकाले मेसिनबाट मकै रोपिएको उनले बताए ।
मकैको बिउ रोप्नुअघि कल्टिभेटर र रोटाभेटर मेसिनबाटै खेत जोतिएको र ल्यान्ड लेभलर मेसिन चलाएर सतह मिलाउँदा समय र खर्च कम लागेको भन्दै अर्का किसान सहदेव चौधरीले भने, ‘मेजप्लान्ट मेसिन सिफारिस गरेको कृषि अनुसन्धान केन्द्र वीरगञ्जका प्रमुख एवं वरिष्ठ वैज्ञानिक सचिनकुमार मिश्राले चीनबाट खरिद गरिल्याएको मेसिनको परीक्षणपछि प्रयोग गर्दा मकै खेती राम्रो हुन थालेको छ ।’ परीक्षणपछि उक्त मेसिन किसानका लागि वरदान र अत्यन्तै उपयोगी सावित भएपछि उक्त मेसिनको अत्यधिक प्रयोग हुन थालेको बताउँदै वरिष्ठ वैज्ञानिक मिश्रा भन्छन्, ‘यो मेसिनको प्रयोगले मकै बाली राम्रो हुन थालेपछि अहिले बारा जिल्लामा करिब ३० बिघा क्षेत्रफलमा किसानले मेसिन प्रयोग गरी व्यावसायिक रूपमा मकै खेती गरिरहेका छन् ।’
कृषि मजदुरको बढ्दो अभावका कारण किसानलाई समस्या हुँदै गएको र परम्परागत विधिबाट खेती गर्दा लागत, मिहिनेत, झन्झट बढी हुने भएकोले किसानलाई यान्त्रिकीकरणतर्फ अभ्यस्त बनाउने प्रयासमा केन्द्र लागेको छ । किसानले यो उपकरण खरिद गर्दा बजार मूल्य करिब २ लाख ५० हजार पर्न आउने भए पनि बारामा गत वर्षदेखि थुप्रै किसानले यो उपकरण प्रयोग गरी व्यावसायिक रूपमा मकैखेती गरी आर्थिक लाभ लिन थालेका छन् । जितपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलकै किसान जितु झाले आफ्नो १० बिघा खेतमा मेसिनबाट उखु रोपेका छन् । पछिल्लो समय कृषि मजदूर घट्दै गएको र परम्परागत ढंगले खेती गर्दा लागत बढी लाग्ने भएकाले यस वर्ष उनले पहिलोपटक उपकरणको मद्दतले उखु रोपेका छन् । उनलाई मेसिनबाट उखु रोप्न कृषि औजार अनुसन्धान केन्द्रले अर्धस्वचालित मेसिन उपलब्ध गराएको छ ।
कृषि औजार अनुसन्धान केन्द्र रानीघाटले बिहीबार हिउँदे बाली प्राविधिको एक दिवसीय स्थलगत अवलोकन तथा मूल्यांकन भ्रमण गरी जगरनाथपुर गाउँपालिका–३ बिजबनियाँमा त्यहाँका किसान अभयकुमार यादवले १९ बिघा क्षेत्रफलमा गरेको गँहुखेतीको भ्रमण गरेको थियो ।
किसान यादवले टर्वो ह्याप्पी मेसिनबाट गरेको गहुँ खेती राम्रो देखिएको जानकारी दिए । मेसिनबाट गँहु खेती गर्दा कम लागत लाग्ने तथा उत्पादन पनि बढी हुने भएकोले विगत ०५४ सालदेखि मेसिनद्वारा गहुँखेती गर्दै आएको किसान यादवको भनाइ छ । परम्परागत रूपमा खेती गर्दा प्रति कठ्ठा एक मन गँहु उत्पादन हँुदै आएकोमा मेसिनबाट गहुँखेती गर्दा प्रति कठ्ठा चार मनसम्म उत्पादन हुने किसानको भनाइ छ ।
कृषि औजार अनुसन्धान केन्द्र वीरगञ्जसँग जोडिएर ०५६ सालदेखि कृषियन्त्र प्रयोग गरी खेती गर्दै आइरहेका वीरगञ्ज महानगरपालिका–२६ सुगौली विर्ताका किसान नेमिलालप्रसाद साहले भने, ‘मेसिनबाट खेती गर्दा उत्पादन बढंी लिन सकिए पनि बजारको अभावमा ती उत्पादित सामान बेच्न समस्या हुने गरेको बताए ।’
प्रतिक्रिया