नगरपालिकाकै लगानीमा सडक कालोपत्र

चरीकोट । दोलखाको भीमेश्वर नगरपालिकाले सडक कालोपत्र गर्न सुरुवात गरेको छ । भीमेश्वर–४ जिलु जाने भटमासे जिलु सडक नगरपालिकाले आफ्नै लगानी गरी कालोपत्र गर्न सुरु गरेको वडा नं४ का वडाध्यक्ष हरिवंश चौलागाईंले जानकारी दिए ।

नगरपालिका र वाग्मती प्रदेश सरकारको कूल ८४ लाखको लागतमा सार्कीस्वाराडाँडादेखि भट्मासे गोलाइसम्म करीब ९०० मिटर पक्की सडक धमाधम निर्माण भइरहेको उनले बताए ।

भूकम्पपछि नगरपालिको निर्माण गरेको जिलु नमूना एकीकृत बस्ती तथा वडा नं ४ का नागरिकलाई लक्षित गरी आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले ७५० मिटर कालोपत्र र २५० मिटर ढलानको काम भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामार्फत सडक पक्की बनाउने काम २०७८ जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी अमूल एण्ड स्नेहा कन्स्ट्रक्सन चरीकोटले निर्माणको जिम्मा लिएको छ । सो सडक खण्डमा कालोपत्रका लागि आवश्यक पूर्वधार जाली पर्खाल, मेसिनरी बाल, पक्की नाला, ह्युमपाइपसहितको कच्वे, सडक ढलानको सम्पन्न भएको निर्माण कम्पनीका प्रमुख प्रवीण श्रेष्ठले बताए ।

समय अवधि भन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उनले जानकारी दिए । अन्य क्षेत्रबाट स्रोत नभएपछि नगरपालिका आफैले लगानी गरेर सडक कालोपत्र निर्माणको काम सुरु गरेको हो ।

कृषि उत्पादनको भण्डारको रुपमा चिनिने जिलुमा सडक कालोपत्र भएसँगै कृषकसमेत खुशी भएका छन् । उत्पादन भएका तरकारी तथा अन्य सामग्री सहज तरिकाले चरीकोट बजारसम्म लगेर व्यापार गर्नको लागि सहज हुने भएको कृषकले बताएका छन् ।

प्रतिक्रिया