कुसुम र ईश्वरीलाई ग्रान्ट

काठमाडौं । ‘नेपाली फिमेल फिल्म मेकर्स’ (एनएफएफ) ले महिला निर्देशक कुसुम कालिकोटे र ईश्वरी आचार्यलाई ग्रान्ट प्रदान गरिएको छ । उनीहरुलाई एनएफएफले विराटनगर फिल्म वर्कसप (बिएफडब्ल्यु) को सहयोगमा ‘वुमन एन्ड जेन्डर सर्ट फिल्म ग्रान्ट’ प्रदान गरेका हो । एनएफएफद्वारा जारी विज्ञप्तिमा कुसुम र ईश्वरीलाई लघुचलचित्र अनुदान प्रदान गरेको जनाइएको छ । कुसुमलाई फिल्म फिक्सनल कथा र ईश्वरीलाई वास्तविक पात्रको चित्रण गर्ने वृत्तचित्र ‘दोज डेज’ का लागि आर्थिक सहयोग प्रदान गरेको जनाइएको छ । सस्टेनेबल हिमालयन फाउन्डेसनद्वारा प्रायोजन गरेको अनुदानबाट दुवै विजेताले २५/२५ हजार नगद प्राप्त गरेका छने । साथै उनीहरुलाई छोटो चलचित्र निर्माणका लागि विज्ञको मेन्टरसिप पनि प्राप्त गर्ने जनाइएको छ ।

‘सेतो सूर्य’ र ‘हाइवे’ का निर्देशक–निर्माता दीपक रौनियार र आशा मगरातीले मेन्टरको भूमिका निर्वाह गर्ने एनएफएफकी शान्ता नेपालीले जानकारी दिइन् । दीपक र आशाले विराटनगर फिल्म वर्कसप सञ्चालन गर्दै आएका छन् । कुसुमले आमा बन्न लागेकी महिलाको उदासिनताको कथा भन्ने लघुचलचित्र ‘अन्योल’ बनाउँदै छन् भने ईश्वरीले काठमाडौंमा पहिलो पटक रजस्वलाका क्रममा भेदभाव भोग्नुपरेका युवतीको वास्तविक कथा चित्रण गर्दैछन् । यसक्रममा उनले फरक उमेर समूह, जाति र पेशाका महिलाको दस्तावेज तयार गर्नेछन् ।

कुसुम र ईश्वरी ३२ जना निवेदकमध्येबाट छनोट गरिएको ‘नेपाली फिमेल फिल्म मेकर्स’ (एनएफएफ) ले जनाएको छ । कार्यशालामा सहभागीलाई महिलाको जीवनमा विवाह, यौनदुव्र्यवहार, यौनिकता लगायतका विषयमा अवधारणा तयार पार्न लगाइएको थियो । निर्देशकका निजी अनुभवसँग जोडिएका कथालाई निर्णायकले प्राथमिकतामा राखेर ग्रान्टी छानेका हुन् । ग्रान्टीले ३ देखि ५ मिनेट लामो चलचित्र निर्माणका लागि ६ देखि ८ हप्ता खर्चने जनाइएको छ ।

प्रतिक्रिया