बाँदर धपाउन उपकरण वितरण

मकवानपुर । जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्षित गरी खाद्यान्न बाली नोक्सानी पु¥याउने बाँदर धपाउन उपकरण वितरणको तयारी थालेको छ । बाँदरका कारण वर्षौंदेखि बाली बिरुवामा नोक्सानी खेप्दै आएका गाउँपालिकाभित्रका किसानहरूको समस्यालाई मध्यनगर गर्दै ठूलो आवाज निकालेर बाँदर धपाउने उपकरण वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए ।

गाउँपालिकाले बजेट विनियोजन गरी किसानलाई बाँदर धपाउने २ सय ८० वटा उपकरण वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाइँले जानकारी दिए । गाउँपालिकाले पाँच लाख बजेट छुट्याएको छ । पहिलो चरणमा २ सय ८० वटा उपकरण खरिद गरी वितरण गरिने अध्यक्ष हुमागाइँले जानकारी दिए ।

उपकरण जीवजन्तुलाई तर्साउन/डराउनका साथै बालीविरुवामा आएकालाई भगाउन प्रयोग हुने जनाइएको छ । बन्दुक पड्काएको जस्तो आवाज आउने उपकरणबाट ठूलो आवाज आउने भएकाले बाँदरसहित अन्य जीवजन्तु भगाउन सकिने अनुमान गाउँपालिकाले लिएको छ ।
गाउँपालिकाले उपकरण प्राप्त गर्नका लागि किसानहरूलाई सूचना प्रकाशितसमेत गरेको छ । उपकरण गाउँपालिकाले निःशुल्क वितरण गर्ने अध्यक्ष हुमागाइँले जानकारी दिए । गाउँपालिकाका आठ वटै वडाका बाँदर प्रभावित क्षेत्रका टोलविकास संस्था, सहकारी संस्था, कृषक समूह तथा कृषि फार्महरूले उपकरण माग गर्न सक्ने अधिकृत पुडासैनी बताए ।

प्रतिक्रिया