२ महिनासम्म गोरखा दरबार संग्रहालय बन्द नहुने

गोरखा । आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि गोरखा दरबार संग्रहालय आगामी दुई महिनासम्म सबै दिन खुला हुने भएको छ । संग्रहालय अवलोकनमा आउने पर्यटकको सुविधाका लागि पुरातत्व विभागको सहमतिमा हरेक मंगलबार तथा सार्वजनिक बिदाको दिन पनि खुल्ला गर्ने निर्णय गरिएको संग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

‘यसअघि हरेक हप्ताको मंगलबार र सार्वजनिक बिदाको दिनमा संग्रहालय बन्द हुँदै आएको थियो’, उनले भने, ‘अब चैत र वैशाख महिनामा भने सबै दिन संग्रहालय खुल्ला रहनेछ ।’ संग्रहालयमा नेपाल एकीकरणका प्रणेता तत्कालीन राजा पृथ्वीनारायण शाहको चिनादेखि शाह वंशका पालामा लडाइँ गर्दाका हातहतियार छन् । पर्यटकले पुरातात्विक वस्तु, विभिन्न जातजातिका संस्कृति झल्कने सामग्री, पुराना सिक्का तथा भाँडा, बर्तन, तस्बिर तथा चित्रकलाका साथै विभिन्न जातजातिका संस्कृति झल्कने आकृति संग्रहालयमा अवलोकन गर्न पाउँछन् ।

पर्यटकले संग्रहालयभित्र रहेका तेल चित्रकक्ष, वंशावलीकक्ष, जन्मकुण्डलीकक्ष, दिव्योपदेशकक्ष, हातहतियारकक्ष, धार्मिक परम्परागतकक्ष, जनजातिको झाँकीकक्ष, परिचात्मककक्ष, भडाँवर्तनकक्ष, श्रव्यदृश्यकक्ष, चैत्यकक्ष र हस्तलिखित गरी १२ प्रदर्शनीकक्षको अवलोकन गर्नसमेत पाउनेछन् । ०४३  मा गोरखा दरबार संरक्षित स्मारक क्षेत्रको घोषणा गरी संग्रहालयलाई पृथ्वी स्मृति संग्रहालयको रूपमा विकास गर्ने योजना रहे पनि पछि पूरै जिल्लाको पहिचान दिने गरी गोरखा संग्रहालयका रूपमा विकास गरिएको थियो ।

प्रतिक्रिया