ललितपुर । जिल्लाका स्थानीय तहले खुला सरकारको अवधारणालाई प्रभावकारी बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । सेसी नेपालको सहयोग तथा सल्भ नेपाल सुशासन परियोजना र स्थानीय सरकारको सहकार्यमा तयार भएका सामाजिक जवाफदेहिताका प्राविधिक औजारहरू हस्तान्तरण कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले यस्तो प्रविबद्धता व्यक्त गरेका हुन् ।
खुला आँकडा दिवसको अवसर पारेर गरिएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले जवाफदेहिताका प्राविधिक औजारहरूले स्थानीय तहमा सुशासन र पारदर्शिता ल्याउन सहयोगी हुने बताएका थिए । ललितपुरको कोन्जोसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिंतान, उपाध्यक्ष मिग्मा लामा, प्रमुख प्रशासकीय अधिकृत विकाश शर्मा रिजालले सुशासन परियोजनाको सहयोगमा तयार भएका प्रविधिले स्थानीय सरकारका सेवा र सुविधा प्रदान गर्न जनतालाई सहज भएको बताएका थिए ।
त्यस्तै बाग्मती गाउँपालिकाका उपाध्यक्ष रन्जना घिमिरे, प्रमुख प्रशासकीय अधिकृत खम्बुराज चामलिङ, महालक्ष्मी नगरपालिकाका उपमेयर निर्मला थापाले जवाफदेहिताका प्राविधिक औजारहरूको मद्दतबाट स्थानीय तहका हरेक कार्य र गतिविधिको बारेमा जनताले सहजै जानकारी पाउने बिश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रममा सल्भ नेपालका वोर्ड सदस्य सरदराज गौतमले सबै मिलेर अगाडि बढेमा स्थानीय निकायका काम कारबाही प्रभावकारी रूपमा अगाडि बढाउन सकिने बताएका थिए । उनले विकासको साझेदारीका लागि सल्भ नेपाल सदैव तयार रहेको बताए । खुला आँकडा दिवसको अवसर पारेर गरिएको कार्यक्रममा सेसी नेपालका नरेन्द्र रोकायाले जवाफदेहिताका प्राविधिक औजारहरूले नागरिक र स्थानीय निकायको दुरी कम गर्न सहयोग पु¥याउने विश्वास ब्यक्त गरे ।
सुशासन परियोजनाकी जिल्ला संयोजक प्रतिज्ञा न्यौपाने मिश्रले स्थानीय सरकारले दिने सेवा र सुविधालाई प्रभावकारी बनाउन आफूहरूले यस्तो औजारहरू तयार पारी स्थानीय निकायलाई हस्तान्तरण गरिएको बताइन् । सेसी नेपालको सहयोगमा सञ्चालित सुशासन परियोजनाले ललितपुरका विभिन्न स्थानीय तहका काम कारबाही, योजना तथा सेवा सुविधा सहितको जवाफदेहिताका प्राविधिक औजारहरू तयार पारेको थियो । यस्ता औजारहरूले खुला सरकारको अवधारणालाई अगाडि बढाउन सहयोग पुर्याउने संयोजक मिश्रले बताइन् ।
प्रतिक्रिया