सल्यान । प्रेममा असफल भएपछि मान्छेले कतिसम्म गर्न सक्दो रहेछ भन्ने सल्यानमा घटेको घटनाले पुष्टि गरेको छ । गत वर्ष २ फागुन प्रणय दिवसकै दिन त्रिवेणी गाउँपालिका–१ काभ्राकी १६ वर्षीया कविता बोहोराको असफल प्रेमकै कारण हत्या गरिएको कुरा पुष्टि भएपछि रहस्य खुलेको हो । कविताको हत्या भएको एक वर्ष एक महिनापछि प्रहरीले हत्यामा संलग्न १६ वर्षीय एक बालकलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीको लामो अनुसन्धानपछि घटनामा संलग्न बालकलाई जिल्ला अदालत सल्यानको निर्णय बमोजिम पुर्पक्षका लागि नेपालगञ्ज सुधार गृहमा पठाएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय सल्यानमा आयोजित पत्रकार सम्मेलनामा प्रहरीले लामो अनुसन्धानपछि सफलता हात पारेको जनाएको छ ।
कवितालाई आफूले प्रेम गर्ने तर कविताले प्रेम नगरी अर्को व्यक्तिसँग प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि हत्यासम्मको योजना बनाएको कुरा अभियुक्तले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक गोविन्द थापाले जानकारी दिए । ‘अभियुक्तले कवितालाई १३ वर्षको उमेरदेखि नै विवाह गराँै भन्ने गरेको रहेछ र कविताले उसलाई कुनै वास्ता नगरेपछि मेरो नहुने भए अरूको पनि हुन दिन्न भन्ने मनसायले हत्या गरेको रहेछ’, थापाले भने । प्रहरीले अनुसन्धानका क्रममा दुई दर्जन बढी व्यक्तिहरूलाई अनुसन्धानका लागि ल्याएको र निकै सुक्ष्म अनुसन्धानपछि प्रहरी हत्यारासामु पुगेको प्रहरीको भनाइ छ ।
त्रिवेणी गाउँपालिका–१ जनता मावि काभ्रामा पढ्ने र नाताले कविताको दिदीको छोरा पर्ने अभिुक्तले कविता १३ वर्षको उमेरदेखि नै मन पराउने र विवाहको प्रस्ताव राख्दै आएका थिए । कविताले विवाहको प्रस्ताव गरेको कुरा आफनो आमालाई समेत भनेकी थिइन् तर बाबुआमाले छोरीको उमेर नपुगेकोले पढ्ने कुरा गरेपछि कविताले त्यसलाई बेवास्ता गर्दै आएकी थिइन् । घरसमेत नजिकै भएकोले पनि विद्यालय आउँदाजाँदा सँगै हुने र प्रेमपत्र झोलामा राखिदिने गर्दा पनि कविताले कुनै प्रतिक्रिया दिएकी थिइनन् ।
कविताले कुनै पनि प्रतिक्रिया नदिएपछि आवेसमा आएका बालकले ०७६ सालको फागुन २ गते प्रणय दिवसको दिन प्रेम स्वीकार गर्न सक्ने झिनो आशा लिएर प्रस्ताव गरेको तर कविताले कुनै प्रतिक्रिया नदिएपछि त्यसै दिन राती कविताको हत्या गर्ने योजना बनाएको अभियुक्तले प्रहरी तथा जिल्ला अदालत सल्यानमा स्वीकार गरेका छन् । कविताको कोठामा टेलिफोनको नेटवर्कले राम्रोसँग काम नगर्ने र नजिकै बुबाआमा सुत्ने भएकोले पनि फोन गर्नका लागि उनी घरबाहिर आउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बाहिर आएको समयमा अभियुक्तले कपाल समातेर धारिलो हतियार प्रयोग गरी टाउको तथा घाँटी रेटेर भकारोमा हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।
अभियुक्तले कवितालाइ फकाउन निकै मिहिनेत गरेको तर कविताले कुनै पनि महत्व नदिएपछि हत्याको योजना बनाएको प्रहरी नायव उपरीक्षक थापाले बताए । ‘अभियुक्तले आफनो नहुने भए अरूको पनि हुन दिन्न भनेर नै हत्या गरेको र प्रहरीले पक्राउ गरेपछि के के भन्ने भनेर डायरीमा टिपेर राखेको डायरी प्रहरीले बरामद गरेको छ’, थापाले भने । प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुर तथा सिआइबीको टोलीसमेत परिचालन गरेको थियो । तर, हत्याराले घटनास्थलमा कुनै पनि प्रमाण नछोडेको तथा शवमा अन्य व्यक्तिहरूले छोएकोले कुकुर अलमलमा परेको प्रहरीको भनाइ छ तर कुकुरले आउने बेला र जानेबेला देखाएको बाटो प्रयोग गरेको अभियुक्तले स्वीकार गरेको प्रहरीको भनाइ छ ।
यसैवीच कविताका बुबा खडकबहादुर बोहोराले आफूहरूले कल्पना नै नगरेको व्यक्ति घटनामा संलग्न भएको बताएका छन् । ‘घरबाट तीन मिनेटको दुरीमा घर थियो उसले प्रेम प्रस्ताव राखेको तर हत्या गर्ला भनेर सोचेका थिएनौँ, छोरीले अर्कै केटासँग फोन गरेको थाहा पाएपछि उसले हत्या गर्ने योजना बनाएको रहेछ ।’ आफ्नो दुई वटा छोरी मात्रै रहेको र सम्पत्तीमा समेत आँखा लगाएकोले प्रेम गर्न खोजेको र असफल भएपछि हत्या गरेको आफनो अगाडि स्वीकार गरेको बोहोराले बताए ।
प्रहरीले लामो समय लगाएर सफलता हात पारेको भए पनि उसलाई आजीवन कारावासको सजाय दिए मात्रै छोरीको आत्माले शान्ति पाउने उनले बताए । ‘मेरो छोरीलाई हत्या गर्नुपर्ने कुनै कारण थिएन यस्ता अपराधीलाई सजाय कम भयो भने भोलि अरू पनि घटना घटाउन सक्छन् मेरो माग भनेकै उसलाई आजीवन कारावासको सजाय होस् भन्ने हो’, बोहोराले भने । प्रहरीले अनुसन्धानका लागि सबै विकल्पहरू प्रयोग गरेको र सफल अनुसन्धान गरी दोषी पत्ता लगाएको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी निरीक्षक लक्ष्मण वलीलाई सम्मान गरिएको छ ।
प्रतिक्रिया