‘सावधान’ मा बालयौन

काठमाडौं । अभिनेत्री वर्षा राउत अभिनीत लघुचलचित्र ‘सावधान’ सार्वजनिक भएको छ । बालयौन दूराचारको विषय उठाइएको यो चलचित्रको लेखन तथा निर्देशन दीपेन्द्र लामाको रहेको छ । करिब १० मिनेटको चलचित्रमा बालिकामाथि आफन्तबाट हुने यौनदूव्र्यवहारलाई उठान गरिएको छ । जसमा बालिकामाथि भएको यौनदूव्र्यवहारको विषयलाई आमाबुवाले राम्रोसँग नसुन्ने प्रसंगलाई प्रस्तुत गर्न खोजिएको छ ।

चलचित्रमा अभिनेत्री वर्षाका साथमा प्रवीण खतिवडा, आर्जेश रेग्मी, काव्या अधिकारी, अनिता बस्नेत र भूपेन्द्रसिंह धामी लगायतका कलाकारको अभिनय छ । निर्देशक लामाले चलचित्र अभिभावकलाई सचेत गराउने उद्देश्यले निर्माण गरिएको जिकिर गरे । उनले बेलैमा अभिभावक सचेत भएनन् भने ठूलै दुर्घटना निम्तिन सक्ने विषयलाई चलचित्रमा देखाउने खोजिएको बताए । उनले भने, ‘हामीले आफ्ना छोराछोरीलाई मिठो खाना, राम्रो लुगा र महँगो शिक्षा त दिन्छौं तर उनीहरुमाथि भइरहेको दुव्र्यवहारप्रति भने बेखबर हुनसक्छौं । बेलैमा अभिभावक सचेत भएनन् र छोराछोरीको कुरामा सुनाइ भएन भने ठूलै दुर्घटना निम्तिन सक्छ ।’

जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले संयुक्त लगानी गरेको चलचित्रले विकृति मानसिकतालाई केलाउने कोशिस गरेको छ । समाजमा रहेको विकृति मानसिकतालाई चलचित्रमा उतार्ने कोशिस गरिएको निर्माता फुर्वाले बताइन् । उनले भनिन्, ‘घरभित्र हुने यौन दुर्व्यवहारबारे हामी खुलेर कुरा गर्दैनौं, यसले गर्दा पीडक झन् उत्साही हुन सक्छन्, त्यसैले यस्तो विषयमा सबैले खुलेरै चर्चा गरुन् भन्ने हाम्रो उद्देश्य हो ।’

चलचित्रको कथाले मन छोएकाले आफू अभिनय गर्न तयार भएको अभिनेत्री वर्षा बताइन् । उनले सामाजिक तथा संवेदनशील विषयलाई अधिक दर्शकसम्म पु¥याउने काममा कलाकारले पनि भूमिका निर्वाह गर्नुपर्छ भनेरै काम गर्न राजी भएको सुनाइन् । उनले भनिन्, ‘संवेदनशील विषयलाई धेरैभन्दा धेरै दर्शकसमक्ष पु¥याउनु कलाकारको कर्तव्य पनि हो । यो फिल्मले पनि यही उद्देश्य बोकेकाले मैले काम गरेकी हुँ ।’ चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ । काठमाडौंको कपन क्षेत्रमा छायांकन गरिएको यो चलचित्र एकैदिनमा खिचिएको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया