आँगनभन्दा पहिले घरभित्र बढारौँ

भक्त घिमिरे

तपाईंलाई थाहा छ, आँगन पहिले बढा¥यो भने घरभित्र बढारेको कसिंगर निकाल्दा आँगन फेरि मैला हुन्छ । तसर्थ, पहिले घरभित्रदेखि बढार्दै आँगनसम्म सफा गर्नुपर्छ । यहाँनेर मैले भौतिक रूपमा बनेको घरको कुरा गरिरहेको छैन । यहाँ संस्कारको घर, संस्कृतिको घर अथवा सामाजिक आस्थाको घरको चर्चा उठाउन खोजिरहेको छु । यहाँनेर घर भनिरहँदा घरभित्र एउटा सिंगो परिवार पनि हुन्छ भनेर साथसाथै बुझ्नुपर्दछ । त्यो परिवारमा नयाँ सदस्य जन्मिँदा उत्सव हुन्छ भने कसैको देहान्त हुँदा शोक व्याप्त हुन्छ । हामी त्यही शोक अथवा मृत्यसंस्कारको सन्दर्भमा केही चर्चा गर्न लागिरहेका छौँ ।

नेपालका तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको मृत्युपछि उनको क्रियाकर्म कति दिन गर्ने–गराउने भनेर ठूलै तहल्का मच्चियो । सञ्चारमाध्यमहरूमा यस विषयले निक्कै चर्चा पनि पायो । यद्यपि, सञ्चारमा यो कुरा उठेको त्यतिबेला मात्र होइन । त्योभन्दा लगत्तै अघि जुन, २०१८ मा डा.उपेन्द्र देवकोटाको निधन हुँदा पनि त्यस्तै भएको थियो । त्योभन्दा अझ केही वर्षअघि पनि नेपालमा यो कुरा उठाएर परिवर्तनमा जोड दिएका कारण एक जना राजनीतिज्ञलाई धार्मिक अभियन्ता भनिने केही रुढीका हिमायती पण्डाहरूले निकै ‘श्राप’ दिएका थिए । त्यतिबेला मात्र होइन, जहिल्यै पनि यस्ता सांस्कारिक विधिहरूमा आवश्यक फेरबदल गर्नुपर्ने राय र छलफलहरू चलाउने मानिसहरूलाई कोल्टे आँखाले हेरिन्छ । क्रियाकर्मको अवधि घटाउन चर्चा चलाउनेहरूलाई जवाफ दिनका लागि अहिले एउटा पुस्तक नै प्रकाशित भएको छ जसले चलिआएको १३ दिने क्रियाकर्मलाई छोट्याउने अनुमति दिँदैन । अनुमति नदिने मात्र होइन, त्यस्तो चर्चा उठाउनेहरूलाई अपराधी नै करार गरिन्छ ।

त्यस्तो मिथ्या अपराधीकरणका कारण १३ दिने काजकिरियालाई तीन, पाँच वा सात दिनमा सिध्याउन नमिल्ने अड्चन कहाँनेर छ भनेर सोध्न निकै गाह्रो छ । तर, सामाजिक साझा सहमति भएमा यो काम गर्न केही पनि गाह्रो छैन । हरेक संस्कारका कर्मकाण्ड विधिले ‘कुनै कर्म विवादित भएमा वेदसित तामेली गर्नु अथवा पञ्च समाजले गरेको निर्णयलाई सर्वोपरी ठान्नु’ भनेर समाजको हातमा अधिकार सुम्पिएका छन् । तर, समाजलाई निर्देशन गर्ने पण्डित पुरोहितहरू एकमत हुनु जरुरी छ । किन पण्डित पुरोहित यहाँ म भनिरहेको छु भने, उनीहरू बीचको मतान्तरले समाजमा अन्योल सिर्जना भइरहेको छ । उदाहरणका लागि अघिल्लो वर्षको दसैँमा भएको एउटा प्रसंग पेस गर्न चाहेँ ।

एक परिवारमा दसैँको टीकाकै दिन कसैको जन्म भयो । अभिभावकले कसरी दसैँ मनाउने–अथवा मनाउन मिल्छ–मिल्दैन भनेर एकजना पण्डितलाई प्रश्न गरे । ‘बच्चा जन्मिएपछि १० दिनसम्म सुतक बार्नुपर्ने हुनाले दसैँको कुरै आएन’, जवाफ आयो । फेरि अर्का पण्डितलाई प्रश्न राखियो । उनको जवाफ यस्तो आयो, ‘सात दिनमा कुश–गहुँत गरी कार्यसम्पन्न गर्न मिल्छ । तर, सात दिनमा दसैँ पनि गइसक्छ ।’ बल्लबल्ल वर्षदिनमा आएको दसैँ, रमाइलो गर्न नपाएर कच्मरिएका परिवारको मन शान्त भएन । फेरि अर्का पण्डितलाई सोही प्रश्न राखियो । उनले भन्दिए, ‘बच्चाको जन्मले कहाँ चाड–पर्व र शुभकार्य रोक्छ र; कत्रा कत्रा पुराण, विवाह र व्रतहरू पूरा गर्न तीन दिनमै न्वारन गरिदिएको छु मैले स्वयं, बोलाउनुस् एक जना ब्राह्मण र शुद्धा–शुद्धि गराउनुस अनि मनाउनुस दसैँ ।’

काजकिरियाको कुरा पनि यस्तै हो । केही पण्डितहरूको कुरा छ : वेदमा किरिया–कर्मबारे केही लेखिएन । महाभारतको युद्धमा मर्ने कसैको अन्त्येष्टि कार्यबाहेक १३ दिन किरिया गरिएन । द्वापर युगका अन्तिम राजा परीक्षित र कलिका प्रथम राजा जन्मेजयको १३ दिन किरिया गरिएन । गरुड पुराणमा मानिसको आत्म मृत्युपछि प्रेतलोकमा जान्छ र पुनर्जन्मको लागि पहिलो अंग शिर बन्छ भन्दै मृत्युपछिका १३ दिनमा विभिन्न अंगहरू बनिने बयानबाजी जोडेर किरियाकर्मलाई १३ दिनसम्म तन्काइएको छ । तर, यसमा कुनै वैज्ञानिक आधार छैन भनेर फेरि केही पण्डितहरू नै उफ्रिरहेका छन् । ती उफ्रिने पण्डितहरूको तर्कमा आंशिक सत्यता छ कि जस्तो पनि लाग्छ । किनभने शास्त्रले ‘मानिसको मृत्युपछि ८४ लाख जीवयोनी पार गरेर मात्र पुनः अर्को मानव जन्ममा प्रवेश गर्दछ’ भनिएको छ । यो पनि वैज्ञानिक रूपमा पुष्टि हुने कुरा त होइन तथापि मानिसको मृत्युपछि पुनः अर्को मानव जन्मका लागि तयार हुने कुरालाई शास्त्रले नै काटिदिएको कुरा यही वर्णनले प्रष्ट पार्दछ । वैज्ञानिक तर्कमा जाने हो भने कुनै पनि प्राणीको भ्रुण बनिरहँदा सुरुमा टाउको बन्ने प्रश्नै हुँदैन । बन्यो भने पनि पहिला श्वास–प्रश्वासका छाती र रक्तसञ्चारका लागि मुटु नबनी त्यो टाउको सजीव हुँदैन । त्यसैले पहिले मुटुको धमनी बनेर मात्र विस्तारै अरूअरू अंगहरू बन्दै जान्छन् । शरीर तथा प्रजनन् विज्ञानको कुरा छोडेर परम्परागत सन्दर्भमा मात्रै अडिने हो भने केही गम्भीर अन्योलहरूलाई उचित व्याख्यान विधिले चिर्नुपर्दछ । जीवनभरि पुनर्जन्म लिन नपरोस्, यही जीवनपछि मोक्षप्राप्त होस् भन्दै रात–दिन बैकुण्ठवासको कामन गर्ने भक्तिसमर्पित आत्माहरूलाई गरुड पुराणले मृत्युको केही दिनपछि लगत्तै जन्माउने प्रयास गर्दछ । मृत्युको लगत्तैपछि अर्कै कुनै मानवरूपमा जन्माइएको आत्मालाई फेरि वर्षदिनमा प्रेत बनाएर श्राद्धको पिण्ड खान निम्ता गर्दछ । वैदिकी संस्कृतिमा खिसी गर्न म यी वाक्यहरू यहाँ लेखिरहेको छैन । यहाँनेर समाजलाई शास्त्रका विज्ञहरूको यथोचित परामर्श चाहिएको छ ।

माथि नै भनियो वेदमा काज–किरियाबारे केही लेखिएको छैन तर, ‘पारस्करगृह सूत्रमा छ, यो पनि वेद समान महत्वपूर्ण शास्त्र हो ; त्यसकारण यसलाई पनि वेद बराबर मान्नु पर्दछ’, भनेर हिन्दू कर्मकाण्डविशेषज्ञ डा. आमोदवर्धनले फर्मान जारी गरेका छन् । यद्यपि, घर सञ्चालनका लागि बनाइएको पारस्करगृहसूत्र जस्तो सामान्य नियम वा गृहविधानलाई वेदको दर्जा दिनै नमिल्ने सयौँ दिग्गज महात्माहरूको मत पनि छ । पारस्कर गृहसूत्रलाई ‘वेदजस्तै हो’, भन्नुमा केही निहित उद्देश्यहरू होलान् । तर, यो कथन यथार्थमा एउटा थुम्कोमा चढेर मैले सगरमाथा आरोहण गरेँ भन्नुजस्तै हो ।

यो प्रथालाई १३ महिना, १३ हप्ता, ६ हप्ता (४५ दिन) बाट १३ दिनमा झारिएको मानिन्छ । यसको प्रमाण के छ भने विसं १९९८ कात्तिक १६ गते राणाकालीन नेपालका प्रधानमन्त्री जुद्धशमशेरले ‘अब उपरान्त १३ दिनभन्दा बढी किरिया गर्न नपाइने’ भनी ‘इश्तिहार’ जारी गरेका छन् । जसको अर्थ त्योभन्दा अघि १३ दिनभन्दा बढी किरिया गरिन्थ्यो र त्यसलाई कम गरेर १३ दिनमा ल्याइयो भन्ने हो । अब यसलाई समयसापेक्ष तीन, पाँच वा सात दिन बनाउन किन नमिल्ने ?

चार वेद र एक लाखभन्दा धेरै श्लोक भएको महाभारतमा १३ दिने काजकिरियाको बारेमा केही स्पष्ट उल्लेख नभएकोले यसलाई तीन, पाँच वा सात दिनमा पूरा गर्नु शास्त्रसम्मत नै हुन्छ भन्ने मत भएका मान्छेहरूको संख्या कम छैन । अझै गहिरिएर गीताको अध्याय–२ श्लोक २१, २२ र २३ लगायत कोशितुकि उपनिषद् अध्याय–१ श्लोक ६ र ७ लाई अर्थ लगाएर विचार गर्नुहोस्, मृत्युपछिको दानदक्षिणा पितृले पाउने कुरै छैन ।
१३ दिनबाट किरिया–कर्मलाई घटाउँदा आमाबाबुले आफूलाई पालनपोषण गरेको ऋण चुक्ति नहुने भनेर लिँडेढिपी गर्नेहरू घोत्लिएर यहाँनेर सोचून्, बाँचुञ्जेल वृद्धाश्रममा जिम्मा लगाएर मरेपछि सय–झड्का विधान गर्दा त्यो ऋण ब्याजसहित चुक्ति हुन्छ त ?

परम्परागत कट्टरताका पुलिन्दाहरूले गहिरिएर सोच्नुपर्ने हो, उहिले अधिकांश पुरुषहरू घर–गृहस्थमा भन्दा युद्ध र तपस्यामा लिप्त हुन्थे । युद्धमा जानेहरूले कुन मुलुकमा छोडिएका आफ्ना आमा–बाबु वा आफन्तको खबरसमेत समयको अन्तरालमा मात्र प्राप्त गर्थे । तपस्यामा रहेकाहरू त कैयौँ तपस्याकै दौरान समाधिस्थ पनि हुन्थे । उनीहरूले आफन्तको वा आफन्तले उनीहरूको किरियाकर्म गर्नु कसरी सम्भव भयो होला ? यो चर्चा हो, यसबारेमा जानकारी भएकाहरू सौहार्द्रपूर्ण छलफलमा सहभागी बनौँ ।

पारम्परिक कट्टरताका पक्षधरहरू आज मान्छेको बाँच्ने शैलीमा आएको परिवर्तनले हाम्रो समाजलाई कहाँबाट कहाँ पु¥याइदिएको छ–भन्ने कुरै बुझ्दैनन्, बुझे पनि बुझ्न चाहँदैनन् । समाजका पुराना अन्तर–सम्बन्धहरू कताबाट कता पुगेका छन् भनेर सोच्नै सक्तैनन् । चेतना र विश्वासको आधारमा हरेक परिवारभित्र सांस्कृतिक विद्रोह, सांस्कारिक विघटन देखा पर्न थालेको छ अनि धर्मसंस्कृतिका कुरा त्यही विघटनको दोसाँधमा रहेको समाजसित अन्तरसम्बन्धित छन् भन्ने कुरामा उनीहरूको चिन्तन देखिँदैन । धर्म–संस्कृतिको नाममा शदियौंदेखि चलेका पुराना अभ्यासहरूमा इतिहासका राजामहाराजाद्वारा लादिएका राजनीतिक चलनहरू पनि मिसिएका थिए भनेर उनीहरूका छेउमा चर्चा गरे त्यस्तो चर्चा गर्नेहरूलाई उनीहरू ‘धर्मविरोधी’ को ठप्पा लगाइदिन्छन् ।

अबका दिनमा मानिसका आपसी अन्तरसम्बन्धहरूको सवालमा पुरानै बुझाइ राखेर सामाजिक जीवनको गति बढ्नेवाला छैन । यसर्थ धर्म र संस्कृतिका पहरेदार अगुवाहरूले तिनको वैज्ञानिक आधार केलाएर पुरानो समयको राजनीतिक इतिहासबाट आएका सांस्कृतिक आधारशीला र खास अर्थमा धर्मको पृथकता छुट्याइदिनु जरुरी भएको छ । धर्मको नाममा समाजमा जबरजस्ती थोपरिएका विश्वासका अधिकतम पुरातन शैली र ढाँचाहरूलाई अबको पुस्ताले ‘धर्म’ मानेर थाम्नेवाला पनि छैन । जस्तैः बालविवाह र सतीप्रथालाई धर्म–संस्कृतिमा कसरी मिसाइयो ? असली देवपूजन नारीले गर्न नहुने–वेद तथा संस्कृत साहित्यको अध्यापन जनै र टुप्पी नपालेकाहरूले गर्नै नपाउने आदिजस्ता कुरा धर्म कसरी भए ? यी धर्म हुन् कि पाप हुन् ? यस्ता प्रश्नहरू सोधिएमा धर्मको अख्तियारी बोकेका अगुवाहरू कोही च्याँठिएर भाग्छन्, कोही बाउँटिन्छन् र उत्तर दिँदैनन् ; कोही प्रश्न सोध्नेहरूमाथि नै ‘धर्मछाडा’ भनेर अभियोग लगाइदिन पनि बेर लाउँदैनन् । ‘ठूला मान्छेलाई सोझो नजरले हेर्नै हुँदैन’ भन्ने पाठ पढाइएका हामी लठेप्राहरूलाई त्यस्ता गहकिला प्रश्न सोध्ने हिम्मत पनि कसरी पो आउला र ! आइहाले पनि समुचित व्याख्या र शालीन उत्तर पाउन असम्भव प्रायः हुन्छ ।

यस्ता तमाम कारणहरूले धर्म–संस्कृति भनेको बुढाहरूले मात्र मान्ने चलन हो भनेर नयाँ पुस्ताले बुझिरहेको छ । नयाँ पुस्ताका मान्छेहरूले कुनै संस्कृतिक अनुष्ठानको आयोजना नै गरिहाले पनि पुरानो पुस्ताका बुढाखाडालाई खुसी पार्ने हिसाबले मात्रै गर्दछन् । अतः अबका दिनमा समाजका सबैखाले सांस्कृतिक आधारहरू केलाएर तिनको संरक्षणका लागि साझा समझ्दारी कायम गर्नु अनिवार्य भएको छ । ‘यसो भएन भने त्यसो हुन्छ, त्यसो भएन भने यसो हुन्छ–खबरदार’; भन्दै धम्कीको भाषा, चेतावनीको शैलीमा गेरुधारीहरूले ललकारेको ठ्याम्मै सुहाउँदैन । धर्म बुझेर त्यसको अभियानमा लागेका मान्छेहरू समुद्रजस्ता शान्त, शालीन र सौहार्द्र हुनु श्रेयस्कर हुन्छ ! शास्त्रहरूले धर्मको रक्षा साधु–सन्तहरूले गर्ने बताएका छन् । साधु–सन्तको कुनै जात–थर हुँदैन । उनीहरू सागरजस्ता हुन्छन् । कुनै निश्चित जाति, वर्ण, वर्ग, लिंग, भाषा र देशका सिमानाहरू धर्मका लागि आधार हुँदैनन् । धर्म सर्वव्यापी छ । मान्छे जहाँ जहाँ छ ती सबै ठाउँमा धर्म छ र ‘धर्म’ बाहेक यसको अर्को कुनै नाम पनि छैन । मानिसका पृथक विश्वासका आधारमा बनेका संस्कार–संस्कृतिहरूलाई मात्र भाषा, क्षेत्र र देशका सीमानाहरूमा बाँड्न सकिन्छ । धर्म त्यो होइन ।

हामीले माथि सुरु गरेको सन्दर्भबाट टाढा पुगियो कि ! मूल सन्दर्भमै लागौँ है त । अहिले धर्म–संस्कृतिकै शिराबाट एउटा सवाल व्यापकरूपमा उठिरहेको छ ; कसको मृत्युमा कति दिन किरियाकर्म गर्ने ? मतहरू विभिन्न छन् तर, सवाल उठाउने प्रायः सबैको उद्देश्य र चिन्तन एकै लक्ष्यमा केन्द्रित देखिन्छ । दुवै पक्षले राखेको आशा त संस्कार–संस्कृतिको दीर्घकालीन संरक्षण नै हो । दुवैतर्फीका अन्तिम लक्ष्य सबैका लागि मान्य नै होलान् । तर, दुवैतिर ‘मेरा गोरुको बाह्रै टक्का’ भन्ने लिँडेढिपी छ । नयाँ शैलीको वर्तमान जीवनपद्दति, नयाँखाले सामाजिक सम्बन्ध, हरेक व्यक्तिका पारिवारिक आर्थिक सम्बन्ध आदि परिवेशलाई हेरेर हाम्रा सांस्कृतिक आधारहरू फेरिनुपर्ने, पुरानो ढाँचाबाट फेरिए मात्र यसलाई दीर्घकालनसम्म टिकाएर लान सकिने जिकिर एउटा पक्षले गरिरहेको छ भने अर्को एउटा पक्ष छ जो हरेक पुराना कुराहरू यथावत राख्नुपर्ने, यी ‘ईश्वरकै पालाबाट सुचारु भइआएका’ले अपरिवर्तनीय छन् भन्नेजस्ता ढिपी गरिरहेको छ ।

आफ्नो मतमा धेरैभन्दा धेरै अनुयायी भएदेखिन् त्यसबाट आफ्नो आय–आर्जनको बाटो निर्धारित हुने आशामा कति हो कति मान्छे धर्मको झण्डा बोकेर हिँडेका छन् । ती सबैको कुरा पालैपालो सुन्यो भने एउटै बुझिन्छ तर, निचोडमा लगेर अलिकति फरक बताइदिन्छन् । जस्तो कि, एउटै ग्रन्थ श्रीमद्भागवत पुराण वाचन गर्नेहरूमध्ये एउटा वाचकले श्रोताहरूलाई बैकुण्ठ लान्छन्, अर्का वाचकले गोलोकधाम पु¥याउँछन् अनि अझै अर्काले परमधाम र कता कता पु¥याइदिन्छन् ! एउटै ग्रन्थ पढेर सुनाइने उपदेश एकैखाले हुनुपर्छ कि पर्दैन ? यदि वैदिक÷पौराणिक ज्ञानको तात्पर्य एउटै हो भने सबैको अथ्र्याइ एक हुनुपर्छ कि पर्दैन ? पर्छ भने वाचक र उपदेशकहरूले सांसारिक रीतिका कुरामा अल्झिएर धर्मलाई राजनीतिकण किन गरेका हुन् ? उनीहरूकै बीचमा एकात्म्यता हुनु जरुरी छ कि छैन ? पण्डितहरूलाई यजमानले ३, ५, ७ वा १३ दिन वा कति दिनमा किरिया गराउने भन्ने कुराको गल्फती गर्दैमा फुर्सद छैन, यस्ता तमाम प्रश्नहरूको गहिराईसम्म पुग्ने पहल कसले गर्न भ्याओस् ? प्रश्नै गरिहाले पनि कुनै न कुनै बहाना जोडेर दायित्वबाट फुत्किनु उनीहरूको अर्को धर्म छँदैछ !

यस पंक्तिकारको विचारमा तीन, पाँच वा सात दिनमा किरियाकर्म गर्ने परम्परा हिन्दूहरूमा अब ल्याउने होइन, उहिलेदेखि चलेर आएको थियो । विचार गर्नुहोस्, केही दशकअघिसम्म तीन, पाँच वा सात दिनको किरियाकर्म गर्ने गैरतागाधारी समूहलाई पनि हाम्रो समाजले मज्जासँगले हिन्दू मानेको थियो । उनीहरूका घरमा गएर हाम्रा पुरोहित पण्डितले मनग्गे कर्मकाण्डको सुरो चलाएर आएकै थिए । कुम्ले थैलो भरी दानको गुण्टुरो बोकेर आएकै थिए । केही समय अघिका राष्ट्रिय जनगणनाहरूलाई हेरौँ; राई, लिम्बू, मगर, सुनुवार (मारापाचे), तामाङ, गुरुङ, शेर्पा आदि सबैलाई ‘हिन्दू’ भनेर तथ्यांक समेटिएको कुरा कसैले नकार्न सक्तैन । यदि संस्कारमा भिन्नता भएका ती तमाम जातिपरम्पराहरू हिन्दू हुन सक्छन् भने सबैले तीन दिन वा सात दिनको किरियाकर्म गर्दा के हुन्छ ? अथवा ती सबैलाई १३ दिन (अहिले कसैले १६ दिन पनि भन्छन्, खास गरी भागवत पाठ थपेर १६ दिन बनेको हो, वास्तवमा १३ दिन नै हो) को किरियाकर्म नगरेमा तिमीहरूलाई हामी हिन्दू मान्न सक्तैनौँ भनेर किन भनिएन ? जीवविज्ञानको तक्निकीय प्रावधान मिसाएर धर्मशास्त्रले नै १३ को दिनको किरियाकर्म गरिए मात्र ‘भवसागर’ पार तर्ने सिद्धान्त बताएको बखान गर्नेहरू पनि अहिले थुप्रै देखिँदैछन् ।

त्यो अर्थमा अस्तिसम्म गैरतागाधारीको किरियाकर्म गराउने पुरोहित–पण्डितहरूले किन उनीहरूलाई पार तर्ने विधि नसुझाएर तीन दिन, सात दिनको मात्र कर्म गराए ? उचित कर्म नगराई दानको रूपमा घुस लिएको दण्ड ती पुरोहित पण्डितहरूलाई लाग्छ कि लाग्दैन ? त्यसो गर्ने पुरोहित–पण्डितहरू बितेरै गइसकेका भए तिनका उत्तराधिकारीहरूलाई तिनको पितृदण्ड लाग्छ कि लाग्दैन ? असली तथ्य भन्नुपर्ने हो भने त्यो बेलाको सामाजिक परम्परा बहुआयामिक थियो । संस्कृतिमाथि सर्वपहुँचको माध्यम विद्यमान थियो समाजमा । अतः अबका दिनमा हिन्दूसंस्कृतिलाई सबैको साझा सांस्कारिक आधार बनाउने र यसलाई सर्वग्राह्य बनाउने हो भने आफूलाई हिन्दूसंस्कृति (वास्तवमा सनातन वैदिक भन्नुपर्ने हो–तर हिन्दू फेसनेबल नाम चलेको छ) का अनुयायी सम्झिनेहरू सबैले मृत्युसंस्कारमा ३ देखि १३ दिन किरियाकर्मको तर्क–बितर्क छोडेर गम्भीर चिन्तनका साथ साझारूपमा शास्त्रीय अनुसन्धान र सामाजिक रूपान्तरणको बाटोमा अघि बढ्नुपर्दछ । निश्चितरूपमा पढ्नु वा शिक्षित हुनु भनेको कमाउन सक्ने हुनु नै हो । तर, कमाउनुको अर्थ आफ्नो चार इञ्चको पेट र चार फिटको शरीर ढाक्ने उद्देश्यका लागि आर्थिक उपार्जन मात्र गर्नु होइन । समाजको चेतनास्तर, दीर्घकालीन अस्तित्व र भाइचारापूर्ण सहिष्णुता पनि कमाउनुपर्छ !

किरिया गर्नु भनेको कुनै धर्म होइन, यो पूर्णरूपमा एउटा संस्कार मात्र हो । किरियाकर्म भनेको मरिसकेकाहरूका लागि हो कि बाँचेकाहरूका लागि हो ? भन्ने प्रश्नको उत्तर पनि गरुडपुराणको बयान भन्दाबाहेक अरू स्रोतबाट आजसम्म जाहेर हुनसकेको छैन । शास्त्रहरूको विश्लेषण गर्दा किरियाकर्म भनेको धर्म त हुँदै होइन; यो अशुद्ध भएको ठाउँमा गरिने शुद्धिकार्य मात्र हो भन्ने नै बुझिन्छ । धर्म भनेको नितान्त व्यक्तिनिहीत गुण हो भने संस्कार–संस्कृति भनेका सामूहिक अभ्यासहरू हुन् । काजक्रिया भनेको पनि संस्कारको सामूहिक अभ्यास नै हो । धर्म र संस्कारबीच भिन्नताहरूलाई स्पष्टरूपमा छुट्याएर बुझ्नु जरुरी हुन्छ । हाम्रो समाजमा देखिएका साधु–सन्तहरूले कसैलाई पनि धर्म गराउन सक्तैनन् । उनीहरूले केवल अर्ती–उपदेश बाँड्दै संस्कृतिको रक्षार्थ कार्यक्रमहरू चलाउन सक्छन् । यसर्थ, संस्कार–संस्कृतिको सवालमा उनीहरू सामाजिक सहिष्णुता र सद्भावना कायम गराउने लक्ष्यका अभियन्ता हुन सक्छन् । त्यस्ता अभियन्ताहरूले समाजको विकासक्रमलाई ध्यान दिनुपर्छ । अभियन्ताहरूले समाजलाई टुत्र्mयाउने होइन, जुटाउने अभ्यास गर्नुपर्दछ ।

शास्त्रीहरूले आफ्नो बजार र आफैंलाई मनपर्दो पाराले शास्त्रहरूको व्याख्या गरिरहेका छन् ! विश्लेषण चाहियो, अनुसन्धान चाहियो । हरेक कुरामा कारण र वैज्ञानिक पुष्टिसहित विवरण पेस गर्नुप¥यो ! उहिले नै फलानाका बाजेले, फलानाका नातिले यसो गरेका थिए, त्यो नै परम्परा बन्यो अनि हामीले पनि त्यसै गर्नुपर्छ ; नत्र हाम्रो धर्म नासिन्छ भन्नेजस्ता हावा कुरामा कोही पनि नलागेस् ! बाजेले ढुंगा धेरै भएको जमीनमा ढुंगा पन्साएर खेतीयोग्य माटो बनाउन पर्खाल उठाए होलान् ; अहिले नातिले प्लटिङ गरेको जमीनमा घर बनाएर, बाजेको परम्परा धान्न ढुंगा किनेर ल्याई बारीमा पर्खाल लाउनु पर्दैन ! साधु–सन्तहरूले धार्मिक÷सांस्कृतिक रूपान्तरणमा मुख्य नेतृत्व वहन गर्नुपर्छ । अरूले सहयोग पु¥याउनेछन् । साधु–सन्तहरू पनि समाजका जिम्मेवार सचेत वर्ग हुन् । यसर्थ, सज्जनहरूले बिग्रिएका कुराहरूमा पनि जिम्मेवारी बोध गर्न सक्नुपर्छ । सन्तहरूले निन्दा र स्तुतिमा भिन्नता देख्तैनन् भनिन्छ । ‘सप्रिएकाजति आफूले गरेको र बिग्रिएका जति अर्काले’ भन्ने अवसरवादको लक्षणा देखाउनु विद्वान् हुनुको संकेत होइन । घरभित्रको दुर्गन्ध हटाउन आँगनभन्दा पहिले घरभित्र बढार्नुपर्छ । यसर्थ, धर्मको आँगन छोडेर भँडार, चुह्लो–चौकोदेखि बढार्दै कसिंगर फालौँ । (हाल पेन्सिलभेनिया/अमेरिका)

प्रतिक्रिया