कुमाताको तेस्रो संस्करण

चितवन । सञ्चारकर्मी एवं कथाकार वसन्त पराजुलीद्वारा लिखित  कथा संग्रह ‘कुमाता’ को तेस्रो संस्करण प्रकाशन हुने भएको छ । एक वर्षअघि सार्वजनिक भएको उक्त संग्रहलाई तेस्रो संस्करण प्रकाशन गर्ने निर्णय भएको भुँडीपुराण प्रकाश प्रालिले जनाएको छ । प्रालिका शैक्षिक निर्देशक अनुपम पराजुलीद्वारा जारी विज्ञप्तिमा एक वर्षमा तेस्रोपटक पुस्तक प्रकाशन गर्न लेखकसँग लिखित सहमति भएको जनाइएको छ । भुँडीपुराणले प्रकाशन गरेको कुमाता कथा सग्रह २०७६ फागुन २६ गते पहिलोपटक प्रकाशन भएको हो । यसको दोस्रो संस्करण २०७७ असारमा प्रकाशन भएको थियो ।

चितवन साहित्य परिषद्को चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार, राउन्ड टेबुल गसेफ हेटौँडाको सम्मान र हाम्रो मझेरी प्रतिष्ठानको स्रष्टा सम्मानबाट सम्मानित भएको कुमाता संग्रहले छोटो समयमा नै पाठकको मन तान्न सफल भएको प्रालिका शैक्षिक निर्देशक पराजुलीले बताए । पत्रकार एवं कथाकार वसन्त पराजुलीले नारीप्रधान विषयवस्तुलाई टपक्क टिप्दै काल्पनिकताको जलप लगाएर कथा तयार भएकाले पाठकले यसलाई मनपराएको बताए ।

समाज सदियौँदेखिको जकडिएको पितृसत्तात्मक प्रवृत्तिलाई उधेन्ने काम कथामा भएको जनाउँदै कथाकार पराजुलीले महिलाको पीडा, महिलामाथिको दमन, दुःख र शोषणको उजागर गराउनु कथा संग्रहको ध्येय भएको जिकिर गरे । उक्त संग्रहमा १० वटा कथा समेटिएका छन् । गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भ कथामा समेटिएका छन् । कथाकार पराजुलीले कतिपय समाजमा देखिएका र नदेखिएका सत्यलाई उजागर गरिएको बताए ।

यस कथा सग्रहलाई देशका अन्य भागमा जस्तै चितवन र छिमेकी जिल्लाका पाठकले पनि मनपराएको सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले सुनाए । उनका अनुसार चितवन, मकवानपुर र नवलपरासीमा स्थानीय संघसंस्थाले कार्यक्रमको आयोजना गरी पुस्तकको समीक्षा गरेका थिए । पछिल्लो समय साहित्यमा कलम चलाउन थालेका पराजुलीको कथा संग्रहसमेत प्रकाशनको तयारीमा छ । पराजुली विगत २२ वर्षदेखि चितवनमा रहेर गोरखापत्र दैनिकमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया