अर्थबजार

कोदोको उत्पादन घट्दै : माग बढ्दै

सौर्य अनलाइन २०७७ फागुन २६ गते २०:१४ मा प्रकाशित

दमौली । पहाडी ग्रामीण भेगमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै गएको छ । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले सहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामीण भेगका लागिसमेत दुर्लभ बन्दै गएको हो । कोदो फल्ने बारी अहिले बाँझो बारीमा परिणत हुँुदै गइरहेको छ । म्याग्दे गाउँपालिका–१ बाख्रे निवासी गोमा न्यौपानेले पहिला डाँडाभरि हुने कोदोखेती अहिले कहिँकतै मात्र हुने गरेको बताइन् । करिब १० वर्ष अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले बीउसमेत राख्न छाडेको उनले बताइन् । उनका अनुसार कोदो लगाउने जग्गा बाँझै छ । काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो लोप हुँदै गएको उनको भनाइ थियो ।

ब्यास नगरपालिका–६ निवासी धु्रव रिमालले काम गर्ने जनशक्ति नपाउँदा आफूले पनि कोदो खेती गर्न छाडेको बताए । ‘छोराछोरी पोखरामा पढ्छन्, घरमा बूढाबूढी मात्र छौँ, बुढेसकालमा खेती गर्न सकिएन,’ उनले भने । वर्षांै पहिलेसम्म मुरीकामुरी कोदो फलाउने उनको घरमा पछिल्लो समय एक गेडा पनि कोदो छैन ।

‘कोदो खाँदा के फाइदा हुन्छ भन्ने कुरा अहिलेका पुस्तालाई थाहा छैन । कोदोले दिने बल धानको भातले कहाँ दिन्छ र’, उनले भने, ‘म सानो हुँदा कोदोको ढिँडो र तरकारीसँग पेट भरेपछि ड्याम्म ज्यान बन्थ्यो । दिनभर काम गर्न सकिन्थ्यो ।’ अहिलेका युवाले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उनको भनाइ छ । औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघरतिर निकै कम हुँदै गएको उनले बताए ।

कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको स्थानीयवासीले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न र घरेलु मदिरा उत्पादन गर्नका लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो, पिठो बनाएर खाने चलन हराउँदै गएको कृषक रामलाल श्रेष्ठले बताए । होटेलमा आउने पाहुनाले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेको म्याग्दे गाउँपालिका–१ स्थित हाइवे रेस्टुरेन्टका सञ्चालक विनोद खनालले बताए ।

कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइने गरेको छ । विगतमा तनहुँको ६ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमीनमा ६ हजार ६ सय मेट्रिक टन कोदो उत्पादन हुँदै आएकामा हाल पाँच सय हेक्टरमा मात्र खेती हुने गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । जिल्लाको पहाडी क्षेत्रमा कोदो खेती हुँदै आए पनि विगतको तुलनामा उत्पादन ह्वात्तै घटेको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । ‘कोदो खेती गर्न धेरै गाह्रो हुने हुनाले पनि खेती कम हुँदै गएको छ’, उनले भने ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय