गोठमै चितुवाले जनावर खान थालेपछि

कञ्चनपुर । चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन् । गाउँजजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राती आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । बाख्रा, बंगुर र गाईलगायतका जनावर चितुवाले खान थालेको परदेशी चौधरीले बताइन् । उनका अनुसार दुई साताको अवधिमै चितुवाले स्थानीयवासीको गोठमा बाँधेका एक दर्जनभन्दा बढी बंगुर र बाख्रा खाएको छ ।

‘गाउँका बासिन्दाले पालेका कुकुरसमेत बाँकी राखेको छैन’, उनले भनिन्, ‘राति कुन बेला आउँछ, पत्तो लाग्दैन । सामुदायिक वन छेउमा खाएको अवशेष मात्रै फेला पार्छौं ।’ गए राति मात्रै ३५ हजार हालेर खरिद गरेको जर्सीगाई चितुवाले गोठमै छिरेर मारेको अवस्थामा फेला परेको स्थानीयवासी धनबहादुर चौधरीले बताए । ‘चितुवाका कारण निकै नोक्सानी बेहोर्नुपरेको छ, यसलाई नियन्त्रण नगरे मानवीय क्षतिसमेत निम्त्याउन सक्छ’, उनले भने ।

चितुवाको डरका कारण रातीको समय गाउँका बासिन्दाले हिँडडुलसमेत बन्द गरेका छन् । ‘दैनिक गाउँमै छिरेर घरपालुवा जनावर मारेर खान थालेको छ’, अशोक चौधरीले भने, ‘स–साना बालबालिकालाई समेत आक्रमण गर्ने सम्भावना भएकाले निकै त्रसित भएका छौँ । गाउँमा चितुवाको त्रासले बस्न नसकिने अवस्था आउन थालेको छ ।’ सामुदायिक वन संरक्षण गरी उपभोक्ताले हराभरा बनाएपछि चितुवा लगायतका जनावर आउन थालेका हुन् । सम्बन्धित निकायसँग यस क्षेत्रका बासिन्दाले चितुवा नियन्त्रण गरी मानवीय क्षति हुनबाट जोगाउनका लागि माग गरेका छन् ।

प्रतिक्रिया