वाग्मतीस्तरीय कराते प्रतियोगिता चैतमा

काभ्रे । कराते एकेडेमी काभ्रेको आयोजना तथा नेपाल सितोरियो कराते सङ्घ काभ्रेको संयोजकत्वमा आगामी चैत १ र २ गते बनेपामा वाग्मती प्रदेशस्तरीय कराते प्रतियोगिता हुने भएको छ । यसअघि २०७६ सालमा नै गर्ने तयारी भएको सो प्रतियोगिता कोभिड–१९ को प्रभावका कारण स्थगित भएको थियो ।

खेलमार्फत समय अनुकूल अझ सबल र सक्षम खेलाडी तथा रेफ्रीहरु उत्पादन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो प्रतियोगिताले आन्तरिक र बाह्य पर्यटक आकर्षण वृद्धि हुने जनाइएको छ । प्रतियागितामा महिला र पुरुष गरी दुई विधामा खेल हुने आयोजकले जनाएको छ । आयोजना संयोजन गर्ने संस्था नेपाल सितोरियो कराते सङ्घका अध्यक्ष प्रताप वैद्यका अनुसार महिलातर्फ सातवटा समूह ४० केजीदेखि ६८ केजी तौल समूहका अतिरिक्त काटा र पुरुषतर्फ ४५ केजी तौल समूहदेखि ७५ र सोभन्दा माथि खुल्ला तथा काटा गरी आठ समूहमा स्पर्धा हुनेछन् ।

प्रतियोगितामा प्रदेशभित्रका एक जिल्लाबाट तोकिएको एउटा तौल समूहमा भाग लिन आउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । सो प्रतियोगितामा १३ जिल्लासहित आयोजक संस्थाका गरी १४ समूहका करीब २१० जना खेलाडीहरुले सहभागिता रहने छ । प्रतियोगितका लागि करीब २२ लाख ८७ हजार खर्च लागत अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष कुवेर मानन्धरले जानकारी दिए । बनेपाको लायकु मञ्चमा हुने प्रतियोगिताका लागि सबैजसो खेलाडीहरुको छनोट भइसकेको सङ्घका उपाध्यक्ष राजेशकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया