न्यू डायमण्डसंग आर्मी पराजित

नेपालगन्ज । होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले सातौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । बाँके जिल्ला भलिबल संघको आयोजनमा नेपालगन्जस्थित रंगशालाको कभर्डहलमा आइतबार भएको खेलमा डायमन्डले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । सुरुवाती दुई सेटमा सहज जित निकालेको डायमन्डले तेस्रो सेटमा गुमाएको थियो । सुरुवातदेखि नै अग्रता बनाउँदै डायमन्डले पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेट डायमन्डले २५–२१ ले आफ्नो पक्षमा पार्दै जिततर्फ अघि बढेको थियो । तर तेस्रो सेट डायमन्डले २३–२५ ले गुमाएको खेल चौथो सेटमा लम्बिएको थियो ।

चौथो सेटमा सुरुवातमा पछि परेपनि डायमन्डले उत्कृष्ट प्रदर्शन गर्दै २५–२१ ले जित्न सफल भयो । एक समय ९–१३ ले पछि परेको डायमन्डले लगातार ७ अंक जोड्दै खेललाई १६–१३ को स्थितिमा ल्याउदै जितको बाटो देखाएको थियाए । त्यसपछि डायमन्डले ९ अंक जोड्दा आर्मीले ८ अंक मात्रै जोड्न सफल भयो । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी डायमन्डकी झरना श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भइन् । जितसँगै डायमन्डले उपाधि जित्ने सम्भावना जीवितै राखेको छ । डायमन्डको दुई खेलबाट ४ अंक छ । पराजित आर्मीको तीन खेलबाट ३ अंक छ । शीर्षस्थानमा रहेको एपिएफको ६ तथा दोस्रो स्थानमा रहेको पुलिसको ५ अंक छ ।

प्रतियोगिताकै अर्काे खेलमा विभागीय नेपाल एपिएफ क्लबले तुलनात्मक रुपमा कमजोर टोली लुम्बिनी युनाइटेडमाथि ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । एपिएफले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ ले पराजित गरेको हो । एपिएफकी जितपछि एपिएफको दुई खेलबाट ६ अंक पुगेको छ । लगातार तेस्रो हार बेहोरेको लुम्बिनीले अंकको खाता खोल्न सकेको छैन । लुम्बिनी आर्मी र पुलिससँग समान ३–० को सोझो सेटले पराजित भएको थियो ।

लिगमा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको छ । लिगपछि बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ । लिगको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल एपिएफ क्लब तथा दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया