मौलाकालिकामा मूर्ति निर्माण

नवलपुर । मौलाकालिका मन्दिरको सिँढीमार्गको दायाँबायाँ रहेका ढुंगामा कलात्मक मूर्ति कुँदिएका छन् । १५ मूर्तिकारले तीन जना सहयोगीको साथमा १५ दिनमा मूर्ति तयार पारेका हुन् । उनीहरूले सिँढीमार्गको दायाँबायाँ १६ वटा आकर्षक मूर्ति कुँदेका छन् । धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैँडाकोट, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं र गैँडाकोट नगरपालिकाको आयोजनामा ‘आस्था’ शीर्षकमा कार्यशाला सञ्चालन गरिएको थियो ।

गैँडाकोट नगरपालिका–१ का वडाध्यक्ष हरिप्रसाद सापकोटाले मौलाकालिका मन्दिर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको स्थानमा मूर्तिले अझै सुन्दरता थपेको बताए । उनले भने, ‘मन्दिर जाने मार्गको दायाँबायाँ मूर्ति निर्माणपश्चात् यसले स्थानीय तथा पर्यटकलाई तान्न थालेको छ । यसले यस क्षेत्रको सौन्दर्य बढाउनुका साथै आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान दिने आशा राख्न सक्छौं ।’ मूर्ति निर्माणका लागि स्थानीय सरकारले चाहे जति सहयोग गर्न नसकेको जनाउँदै उनले आगामी दिनमा आवश्यक सहयोग गर्ने वचन दिए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभागका प्रमुख लालकाजी लामाले पैदलमार्गमा निर्माण भएका मूर्तिका कारण मन्दिरको महत्व तथा सौन्दर्य अझै बढेको जिकिर गरे । उनले भने, ‘मूर्तिकलाले मौलाकालिका मन्दिरको धार्मिक, पौराणिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणबाट समेत महत्व बढेको छ । मूर्ति निर्माण गरिनुमात्रै महत्वपूर्ण काम नभएकाले यसको दीर्घकालीन संरक्षणमा विशेष ध्यान दिनुपर्दछ ।’ मौलाकाली सामुदायिक वनका अध्यक्ष काशीनाथ कँडेलले मन्दिरको सिँढीमार्गमा निर्माण गरिएका मूर्तिले इतिहास लेख्ने काम गरेको बताए । कार्यशालाका संयोजक तथा कलाकार भीम शर्माले मूर्तिकारको अथक मिहिनेत, ऊर्जा र सबैको सहयोगले मूर्ति निर्माण कार्यले पूर्णता पाएको बताए । उनले भने, ‘कला निर्माणसँगै यस क्षेत्रको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्व बढेर गएको छ ।’

मन्दिरको सिँढीमार्गमा रहेका ढुंगामा कलाकारले धार्मिक। सामाजिक तथा प्राकृतिक विषयमा केन्द्रित रही मूर्ति कुँदेका छन् । मूर्तिकारले शिव, गणेश, काली, वनदेवी, कछुवा, हात्ती, गुप्तेश्वर शिवलिंग लगायतका मूर्ति बनाएका छन् । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले कलाकारको मिहिनेतको परिणामले धार्मिक तथा प्राकृतिक मूर्तिले मन्दिरको महत्व अझै बढेको बताए ।

प्रतिक्रिया