स्याङ्जाको पहिलो बालमैत्री नगर : भिरकोट

स्याङ्जा । ‘कागज व्यवहार बोलीको निरन्तरता, भिरकोट नगरपालिकाको प्रतिबद्धता’ भन्ने मूल नारासहित स्याङ्जाको भिरकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ । भिरकोट नगरपालिकाले ३९ सूचकहरू पूरा गरे पश्चात बालमैत्री नगर घोषणा गरिएको हो । शनिबार गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले बालमैत्री नगर घोषणा गर्दै बालमैत्री कार्यक्रमले बालबालिकामाथि हुने सबै खाले हिंसा तथा अन्यायको अन्त्य हुने बताए । बालबालिकाको शिक्षा स्वास्थ्य राज्यले जिम्मा लिनुपर्ने बताउँदै प्रमुख शेरचनले भने, ‘बालमैत्री स्थानीय शासन सबै तहमा हुन आवश्यक छ यसले बालश्रम, बालविवाहजस्ता घटनालाई न्यूनीकरण गर्छ ।’ हरेक तह व्यावहारिक रूपमै बालमैत्री हुन आवश्यक रहेको भन्दै प्रमुख शेरचनले बालबालिकाको क्षेत्रमा गरिने लगानीले भविष्यमा उचित प्रतिफल मिल्ने बताए ।

भिरकोट नगरपालिकाले ३९ सूचक मध्ये २० ओटा सय प्रतिशत र १९ ओटा ९९ दशमलव ६७ प्रतिशत नतिजा हासिल गरेको नगरप्रमुख छायाराम खनालले बताए । नेपालभरीका नगरपालिकामध्ये भिरकोट सातौँ, गण्डकी प्रदेशमा दोस्रो र स्याङ्जामै पहिलो बालमैत्री नगर घोषित भएको हो । बालमैत्री नगर घोषणाका लागि भिरकोटले ०७५ साल पुस ९ देखि नै बालमैत्री स्थानीय शासन अवलम्बन गरी वडा तथा नगरमा बालमैत्री स्थानीय शासन अवधारणालाई सुनिश्चित गर्दै आएको थियो ।

वडा तथा नगरस्तरीय बाल सञ्जालको गठन गर्ने, विद्यालय तथा सार्वजनिकस्थलमा बालमैत्री संरचना तयार गर्ने जस्तो कार्यमा नगर अगाडि बढेको थियो । बच्चा गर्भ अवस्थादेखि नै स्वस्थ्य हुनुपर्दछ भन्ने उद्देश्यले हरेक गर्भवती महिलालाई अण्डा वितरण गरिएको बताउँदै नगरप्रमुख खनालले भने, ‘जन्मिनु, बाँच्नु र पहिचान पाउनु बालबालिकाको अधिकार हो । त्यसैले गर्भ अवस्थामा पोषणयुक्त आहार वितरण गरेका छौँ, जन्मेपछि शिक्षा, स्वास्थ्यको पहुँच पु¥याउने रणनीति बनाएका छौँ भने जन्मदर्तालाई बालअधिकार र पहिचानको अवधारणा अघि सारेका छौँ ।’

अव हरेक वर्षको २२ फागुनमा भिरकोटले बालमैत्री दिबस मनाउने नगरप्रमुख खनालले बताए । उक्त कार्यक्रममा नेपाली कांगे्रस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, प्रदेश सांसद दीपक घर्तीमगर, प्रदेश सांसद मेखलाल श्रेष्ठ, जिल्ला समन्वय उपप्रमुख दिलीप बगाले, गलकोट नगरपालिकाका नगरप्रमुख भरत गैह्रे, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, वडा–१ का अध्यक्ष एवं प्रवक्ता दीपेन्द्र केसी, वडा–२ का अध्यक्ष कमल त्रिपाठी, बालसंजालका नगर अध्यक्ष सुदीप पौडेल लगायतले बोलेका थिए । सोही अवसरमा भिरकोट नगरपालिकाको डिजिटल प्रोफाइलसमेत सार्वजनिक गरिएको थियो । नगरभित्रको विकासको योजना बनाउन यो प्रोफाइल तयार गरिएको हो । प्रोफाइल लागू भएसँगै नगरभित्रको हरेक घरधुरी, सरकारी संघसंस्था, सडक, खानेपानीजस्ता तथ्यांक मोबाइलबाट हेर्न मिल्नेछ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया