डिम्याट खाता खोल्नेको संख्या साढे ३० लाख

काठमाडौं । सेयर बजारको आकर्षण सँगै डिम्याट खाता खोल्नेको संख्या ३० लाख ६१ हजार पुगेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को साधारण सेयरमा दरखास्त दिनको लागि धेरैने डिम्याट खाता खुलेको थियो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या कुल ३० लाख ६१ हजार ६ सय ६८ पुगिसकेको छ । सेयर बजारमा प्रवेश गर्न डिम्याट खाता अनिवार्य छ । सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैंकमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । हाल धितोपत्र ददाल, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर, हस्तान्तरण प्रतिनिधिलगायत संघसंस्थाले धितोपत्र बोर्डबाट अनुमति लिएर यस्तो सेवा सञ्चालन गरिरहेका छन् ।

डिम्याट खाता खोल्ने संख्या साढे ३० लाख नाघेपनि दैनिक बजारमा कारोबार गर्नेको संख्या भने करिव ४ लाख जति रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । आईपीओ भर्नेको संख्या हालसम्म करिब १६ लाख रहेको छ । नेप्सेका अनुसार दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या करिब ६ लाख पुगेको छ । जसमध्ये अनलाइन कारोबारका लागि युजर आइडि तथा पासवर्ड लिने लगानीकर्ताको संख्या ४ लाख ४५ हजार ३५३ पुगेको छ । अनलाइन आईडी लिएका मध्ये पनि २ लाख २२ हजार ५६९ जना लगानीकर्ताले अनलाइन मार्फत नै सक्रिय कारोबारमा संलग्न हुने गरेको नेप्सेले जनाएको छ । अनलाइन लिनेहरुमा ५० प्रतिशत बढी लगानीकर्ताले सक्रिय रुपमा कारोबार गर्ने गरेका छन् ।

नेप्सेका अनुसार अहिले शेयर बजारमा अनलाइन तथा अफलाइन मार्फत ५ लाख ९४ हजार ८७९ जना सक्रिय लगानीकर्ता रहेका छन् । सिडिएससीका अनुसार पनि शुक्रबारसम्ममा ३० लाख ६१ हजार ६६८ डिम्याट खाता खुलेका छन् । यसबाहेक अझै सयौंको संख्यामा डिम्याट खाता खोल्ने प्रक्रिया जारी छ । पछिल्लो चरणमा प्राथमिक बजारमा १५ लाख बढी लगानीकर्ताहरुले सेयर आवेदन गर्ने गरेका छन् । कतिपयको दोहोरो डिम्याट खाता रहेको भएपनि डिम्याट खाता खोल्ने मध्ये ५० प्रतिशत बढी लगानीकर्ताले आइपीओमा आवेदन गर्ने गरेका छन् । लकडाउनपछि नियामक निकायले अनलाइन कारोबारलाई प्रोत्साहन गर्न थालेपछि दोस्रो बजारमा अनलाइन मार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या समेत निरन्तर बढ्न थालेको हो ।

प्रतिक्रिया