भ्रष्टाचारविरोधी कवितामा मनोज प्रथम

काठमाडौं । हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा रौतहट निवासी कवि मनोज विश्वकर्मा प्रथम भएका छन् । समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका) ले स्थापना गरेको सो पुरस्कारमा एक हजार अमेरिकी डलर राशीसहित सम्मानपत्र रहेको छ । प्रतियोगिताका लागि प्राप्त कवितामध्ये पहिलो चरणमा उत्कृष्ट पच्चीस कविता सार्वजनिक गरिएको र ती कविताको भर्चुअल माध्यमबाट प्रत्यक्ष वाचनसमेत गराइएको थियो । प्रतियोगिताका लागि डा. रामप्रसाद ज्ञवाली, स्नेह सायमि र गीता त्रिपाठी रहेको तीन सदस्यीय निर्णायक समिति बनाइएको र सो समितिले गरेको सिफारिसका आधारमा निर्णय घोषणा गरिएको फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनबाट ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता २०२०’ का संयोजक राधेश्याम लेकालीले उत्कृष्ट २५ कविमा मनोज विश्वकर्मा, जितेन्द्र बस्नेत, संगीता पोखरेल, पिटर कुवर, प्रकाश आचार्य, जीवन आरोही, सानु खनाल, दिलीप कुवर, जनक रसिक, दीप पाण्डे, प्रज्वल अधिकारी, निरज दहाल, टिएन भट्ट “विश्वामित्र“, रमा अधिकारी कादम्बरी, सुरज पराजुली, सुष्मा तिमल्सिना, सन्तोष लामिछाने, दिपेन्द्र अरुण, केशवराज ज्ञवाली, मोहित जोशी, सोमनाथ दहाल, नवराज अधिकारी, नारायण अधिकारी, सुवास शर्मा र भीष्मप्रसाद भट्टराई रहेको जानकारी दिए । काठमाडौंमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने र उत्कृष्ट पच्चीस कविताको पुस्तक प्रकाशन पनि गरिने लेकालीले बताए ।

प्रतिक्रिया