छायांकनमा ‘चिसो मान्छे’

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा चलचित्र ‘चिसो मान्छे’ को छायांकन सुरु भएको छ । सोमबारदेखि काठमाडौंबाट थालिएको यो चलचित्रको प्रदर्शन मितिसमेत पहिले नै तय गरिएको छ । छायांकन सुदूरपश्चिमको बाजुराको एक गाउँमा पुगेर सकिने यो चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का र देशभक्त खनालको मुख्य भूमिका रहेको छ । एक महिनाअघि नै निर्देशक खनालसहित स्वस्तिमा र देशभक्त बाजुरा पुगेका थिए । उनीहरुले छायांकन स्थलसहित त्यहाँको भाषा, भेषभूषा तथा संस्कृतिको अवलोकन गरेर फर्किएको निर्माण पक्षले जनाएको छ ।

डिएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा मुख्य भूमिकामा रहेकी अभिनेत्री स्वस्तिमाले सुदूरपश्चिकी युवतीको रुपमा प्रस्तुत हुँदैछन् । उनले चलचित्रमा स्थानीय (बाजुरा) को रहनसहन, लवज तथा भाषा बोल्नेछिन् । बाजुराकी एक गाउँले युवतीको रुपमा आफूलाई प्रस्तुत गर्न अभिनेत्री खड्का केही दिनअघि बाजुराको गाउँमा पुगेर स्थानीय युवतीसँग घुलमिल भएकी थिइन् । उनीहरुको शिल स्वभाव नजिकबाट अनुभूत गरेर फर्किएकी हुन् । सञ्चारकर्मी डिबी खड्काले निर्देशक खनाललाई संवादको स्थानीयकरणमा सघाएको निर्माण पक्षले जानकारी दिएको छ ।

दुई कलाकार स्वस्तिमा र देशभक्तलाई बाजुराको भाषामा संवाद गर्न पत्रकार खड्का र सुदूरपश्चिमकी गायिका शोभा थापाले सिकाएका हुन् । ‘पशुपति प्रसाद’, ‘आमा’ लगायतका चलचित्र निर्देशन गरेका निर्देशक दिपेन्द्र के. खनालले चलचित्र विशेष हुने जनाएका छन् । चलचित्रको कथा, पटकथा र संवादसमेत खनालले नै लेखेका हुन् । शर्मिला पाण्डे निर्माता रहेको चलचित्रमा अभिनेत्री खड्का, अभिनेता खनालका साथै कलाकार अर्पण थापाले काम गर्ने पक्का भएको जनाइएको छ । यो चलचित्र २०७८ भदौ ११ गते देशव्यापी प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया