नयाँ सरकार बन्न सकस : नेकपामा फेरी एकता होला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकै अर्को समुह दाहाल–नेपाललाई संसदीय दलको बैठकमा आउन आव्हान गरेका छन् । उनले प्रधानमन्त्रीबाटै आफुलाई हटाउन खोजेको हो भने संसदीय दलको बैठकमा आएर विधि र प्रक्रियाबाट हटाउन चुनौति दिएका हुन् । पुष्पकमल दाहाल–माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको राजिनामा माग गरिरहेका बेला उनले भने विधि, पद्दति, प्रक्रिया, संविधान, कानुन र नियमवालीअनुसार आफुलाई हटाउन भनेका हुन् । नेकपा (ओली समूह)को गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमवार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आफूले संसदीय दलको बैठक बोलाइदिने समेत बताए । विगतमा दुई पक्षबीच निक्कै तल्लोस्तरको वाकयुद्ध चलिरहेका बेला प्रधानमन्त्री ओलीले एकताका लागि केही खुकुलो भएको संकेत गरेका हुन् ।

उनले आफुलाई विधि, पद्दति र प्रक्रियाबाट हटाए मान्ने स्पष्ट गरे । ‘पार्टीको कमिटीमा आउनुपर्यो, अध्यक्ष र महासचिवले बोलाएको बैठकमा आउनुपर्यो, दलको नेताले बोलाएको बैठकमा आउनुपर्यो । दलको नेता फेर्नुहोस् न विधिवत फेर्नुहोस्, दलको बैठक बोलाइदिन्छु आउनुहोस् न विधिवत’, उनले दाहाल–नेपाललाई सन्देश दिए । उनले आफूलाई अविश्वासको प्रस्तावमार्फत हटाउन पनि चुनौती दिए ।

‘तपाईहरुले देखिरहनु भएको छ, प्रधानमन्त्रीको खोजी कत्रो भईराखेको छ । दौडाह दौड छ प्रधानमन्त्रीको खोजीमा । दिए खान्थ्ये म पनि भनेको छ । त्यसको पनि एउटा विधिपद्दति छ । प्रक्रिया, संसदीय अभ्यास, संविधान, कानुन र नियमावली छ । त्यस अन्तर्गत आउनुहोस् र बस्नुस्’, प्रधानमन्त्री ओलीले अगाडी भने, ‘विधिप्रक्रियाबाट आउनुहोस् । हामी मान्छौं । मानेर केही बिग्रिदैन, डेढ वर्ष हामी प्रतिपक्षमा बसौंला । डेढ वर्ष प्रतिपक्षमा बसेपछि दुईतिहाई लिएर फेरी फर्कन्छौं । किनभने हामीलाई कुनै छलछाम गर्नुछैन, तिकडम गर्नु छैन । हाम्रो उदेश्य भनेको देश बनाउने हो ।’

प्रधानमन्त्री ओलीले पार्टी संसदीय दलको मुख्य सचेतकबाट देवप्रसाद गुरुङलाई आफ्नो अधिकार प्रयोग गरेर हटाएको बताए । ‘नियुक्ति दिनेलाई हटाउने अधिकार हुन्छ । देव गुरुङलाई मैले मुख्य सचेतक बनाएको हो, मैले नै हटाएँ,’ ओलीले भने । साथै उनले दाहाल–नेपाल पक्षसँग केन्द्रीय कमिटीमा बहुमत रहेको पुष्टि नभएको दाबी पनि गरे । ‘केन्द्रीय कमिटीको बहुमत कहाँ पुष्टि भयो ? कार्की ब्यांक्वेटमा कसैलाई भोज खान बोलाएर, त्यो भोज खान आएका मान्छे गनेर बहुमत हुन्छ ?’ ओलीले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीको सोमबारको पोखराको भाषणलाई कतिपयले नेकपाको एकताको शुरुवात हुन सक्ने संकेतका रुपमा लिएका छन् । तर, परिस्थिति अझै पनि एकताको पक्षमा देखिएको छैन । दुवै पक्ष निक्कै आक्रमक र विभाजनबाट निक्कै अगाडी पुगिसकेकाले त्यो तत्काल सम्भावना नदेखिएको नेकपाकै विगतमा एकताको पक्षमा उभिएका दोस्रो तहका नेताहरु भन्छन् ।

प्रतिक्रिया