आइपिएल पाँच सहरमा गर्ने तयारी

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ भारतका पाँच सहरमा हुने सम्भावना छ । भारती क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) र आइपिएल गवर्निंग काउन्सिलबीच कहाँ, कहिले र कति सहरमा गर्ने भन्ने छलफलमै रहेको छ । आइपिएल २०२० कोरोना महामारीको कारण संयुक्त अरव इमिरेट्स (यूएई) मा गत नोभेम्बरमा सम्पन्न भएको थियो । यस सिजन भारतमा हुने छ । आइपिएलमा ८ फ्रेन्चाइज टोली छन् । यसअघि आठ फ्रेन्चाइज टोलीले आफ्नो होम अवे मैदानमा खेल्दै आएका थिए । तर कोरोना महामारीको कारण यस सिजन भने सिमित सहरमा गर्ने तयारी भई रहेको छ ।

आइपिएल आयोजनाबारे बिसिसिआईले शुक्रबार फ्रेन्चाइज टोलीसँग छलफल गरेको थियो । चेन्नई, अहमदाबाद, कोलकाता, दिल्ली र बेंगलोर अस्थायी रुपमा रहेको बिसिसिआईले जनाएको थियो । तर निश्चित भने गरेन । मुम्बईको विषयमा भने महाराष्ट्र सरकारसँग छलफल जारी छ । कोरोना महामारीको दोस्रो लहरको प्रभाव महाराष्ट्रमा बढी देखिएको हुँदा मुम्बईमा जोखिम उच्च बताइएको थियो । आइपिएल अप्रिल दोस्रो सातादेखि सुरु हुने सम्भावना छ । २०२२ देखि आइपिएलमा १० टोली हुने छन् ।

यस सिजनको आइपिएलको लागि अक्सन गत फेब्रुअरी १८ मा सकिएको थियो । चेन्नईमा सम्पन्न अक्सनमा दक्षिण अफ्रिका अलराउन्डर क्रिस मोरिस सर्वाधिक महँगो मूल्यमा अनुबन्ध भएका थिए । मोरिसलाई राजस्थान रोयल्सले आइपिएल इतिहासकै सर्वाधिक रकम १६ करोड २५ लाखमा किनेको थियो । रोयल च्यालेन्जर्स बेंगलोरले न्युजिल्यान्डका तीव्र गतिका बलिङ अलराउन्डर काइल जामिसनलाई १५ करोड भारु र अष्ट्रेलिया ग्लेन म्याक्सवेललाई १४ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो । अष्ट्रेलिया तीव्र गतिका बलर झेय रिचर्डसनलाई पन्जाबले अक्सनमा १४ करोड भारुमा अनुबन्ध गरेको थियो । नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई कुनैपनि टोलीले खरिद गरेनन् ।

प्रतिक्रिया