काल भैरवलाई चितवन भेट्रान्स उपाधि

चितवन । कालभैरव हेटौंडाले दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान्स कपको उपाधि कालभैरव जितेको छ । आज सम्पन्न फाइनलमा बुटवल उपमहानगरपालिका भेट्रान्स बुटवललाई टाइब्रेकरमा पराजित गर्दै कालभैरवले उपाधि हात पारेको हो । भरतपुर ७ स्थित कृष्णपुर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलको टाइब्रेकरमा कालभैरव हेटौंडा ४–२ ले विजयी भयो । कालभैरव हेटौंडालाई जिताउन गोलरक्षक रामराज लामाले टाइब्रेकरमा बुटवलको २ प्रहार बचाए । उनले दोस्रो र चौथो प्रहार रोके ।

त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको १४ औं मिनेटमा भरतकुमार कैचा थापाले गोल गर्दै बुटवललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमा नै कालभैरव हेटौंडा खेलमा फर्कियो । पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा नरेश थापाले कालभैरव हेटौंडाका लागि बराबरी गोल गरे । उपाधिसँगै कालभैरवले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपबिजेतामा सिमित बुटवलले ७५ हजारमा चित्त बुझाएको छ ।

कालभैरव हेटौंडाका नरेश थापा प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । यस्तै चितवन भेटेरान रातोका रविन्द्र श्रेष्ठ सर्वाधिक गोलकर्ता भए । उनले प्रतियोगिताभर ७ गोल गरका थिए। उनले सातै गोल उद्घाटन खेलमा जनकपुर भेटेरानविरुद्ध गरेका थिए । कालभैरवका रामराज लामा उत्कृष्ट गोलरक्षक, कालभैरवकै एजेन लिम्बु उत्कृष्ट डिफेन्डर र बुटवलका भरतकुमार कौचा थापा उत्कृष्ट मिडफिल्डर घोषित भए । उनिहरुले नगद ५–५ हजार रुपैयाँ प्राप्त गरे। चितवन भेट्रान्स क्लबको आयोजनामा भएको प्रतियोगितामा भारतको एकसहित १४ टोली सहभागी थिए ।

प्रतिक्रिया