रंग‍-विविध

ढुंगामा जीवन भर्दै मूर्तिकार

टेकराज पोखरेल २०७७ फागुन १४ गते ७:३१ मा प्रकाशित

नवलपुर । गण्डकी प्रदेशको मुटु नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर । नवलपुर जिल्लाको धार्मिक केन्द्र गैँडाकोट नगरपालिका । जहाँ हिन्दू धर्मसँग सम्बन्धित विभिन्न धार्मिकस्थल छन् । गैँडाकोटको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर आस्था र धरोहरका रूपमा रहेको छ । गैँडाकोट–१ मा पर्ने मौलाकालिका मन्दिरको पूर्वमा पवित्र तीर्थस्थल देवघाटधाम, उत्तरमा कालीगण्डकी नदी तथा दक्षिणमा नारायणी नदी छन् । पन्ध्रौँ शताब्दीको अन्त्यतिर सेन राजाको पालामा स्थापना गरिएको मौलाकालिका मन्दिर धार्मिक पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ ।

नारायणगढबाट चार किलोमिटरको यात्रापछि पुगिने मौलाकालिका मन्दिरमा दुई किलोमिटर बाटो भने पैदलै उकालो चढ्नुपर्छ । धार्मिक वन क्षेत्रको दुई किलोमिटर उकालो चढ्नका लागि सिँढी निर्माण गरिएका छन् । सिँढीमार्गको दायाँबायाँ छरिएर रहेका ठूला ढुङ्गा देख्न सकिन्छ । मौलाकालिका फेदीबाट एक हजार ८८२ वटा सिँढी उक्लिएपछि मौलाकालिका माताको दर्शन गर्न सकिन्छ । यही सिँढीमार्गको दायाँबायाँ रहेका ठूला ढुङ्गालाई जीवन्त बनाउनका लागि अहिले मूर्तिकारहरू लागिपरेका छन् । मौलाकालिका माताको दर्शनका लागि फेदीबाट उक्लिएको करिब पाँच मिनेटको पैदल यात्रापछि शुरु हुन्छन् ढुंगामा कोरिएका कलात्मक मूर्तिहरू । गणेश मन्दिर कट्नेबित्तिकै करिब एक किलोमिटरसम्म पैदलमार्गको दायाँबायाँ ढुंगामा मूर्ति कुँदिएका छन् । धार्मिक वन क्षेत्रमा मूर्ति कुँद्नका लागि १२ मूर्तिकार र तीन सहयोगी मूर्तिकार गरी १५ जनाको समूह खटिएको छ । उनीहरूले धार्मिक तथा प्राकृतिक स्वरुप झल्किने मूर्ति कुँदेका छन् । राष्ट्रिय मूर्तिकला कार्यशाला २०७७ अन्तर्गत ‘आस्था’ नाम दिएर मूर्ति कुँद्न सुरु गरिएको हो ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गैँडाकोट नगरपालिकाको आयोजनामा धार्मिक वनमा रहेका ढुंगामा मूर्ति कुँद्न थालिएको हो । कार्यशालामा प्राज्ञ लालकाजी लामा, मूर्तिकार राजन काफ्ले, लक्ष्मण भुजेल, हिम्मत नेम्वाङ, तमबहादुर पुन, प्रकाश थापा, विकाश शाक्य, सरोज श्रेष्ठ, बाबुलाल वाइबा, दिनेश्वर महतो, राजेश बराल, अनमारी तामाङ र सहयोगी कलाकार नुर्बु लामा, सुस्मिता मोक्तान, विजय खत्री रहेका छन् । धार्मिक पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढ्दै गएको मौलाकालिका मन्दिरमा थप आगन्तुक भित्र्याउनका लागि मूर्तिकला महत्वपूर्ण हुने जनाइएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटाले यस मन्दिर नेपालकै मध्य भागमा रहेको तथा धार्मिक र पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण ठाउँ भएको हुनाले यसलाई अझै महत्व दिनका लागि सिँढीमार्गको दयाँबायाँ ढुंगामा मूर्ति कुँदिएको बताए । ‘मूर्ति कुँद्ने भनेर हामीले दुई तीन वर्ष अगाडिदेखि ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागसँग कुराकानी गरिरहेका थियौँ,’ सापकोटाले भने, ‘मूर्तिकला विभागबाट साथीहरू आउनुभएको छ, हामीहरू तीन वटा संस्था मिलेर यो कार्यशालाको आयोजना गरेका हौँ ।’ मन्दिर आउने भक्तजन तथा पर्यटकलाई अलि रमणीयस्थलका रूपमा आकर्षित गर्नका लागि मूर्ति निर्माण गरिएको सापकोटाले बताए ।

‘हिन्दु धर्मावलम्बी मात्रै नभएर अन्य धर्मावलम्बीको पनि जुन खालको धार्मिक आस्था छ, त्यसलाई उजागर गर्न यहाँ आस्थाका मूर्ति निर्माण गरिएका हुन्’, सापकोटाले भने, ‘यहाँ कोही गणेशका, शिवका, बुद्धका, विष्णुका साथै हात्ती तथा कछुवाका मूर्ति निर्माण गरेर वन क्षेत्रलाई अझै आकर्षक बनाउँदैछौँ ।’ धार्मिक पर्यटकलाई बढीभन्दा बढी भित्र्याउने उद्देश्यले सिँढीमार्गसँगै मूर्ति निर्माण गरिएको उनले बताए । उकालो बाटो हिँड्ने बेलामा मूर्तिहरू हेर्दै हिँड्दा थकानको महशुस नहोस्, उहाँहरूको मन सन्तोष होस् भन्ने सोच रहेको सापकोटाको भनाइ छ । ‘यी मूर्ति हजारौँ हजार वर्षसम्म दिगो रहने कुरा भयो, कागजमा कोरेको तस्बिरजस्तो होइन’, उनले भने, ‘यो युगौँयुगलाई रहने र यस क्षेत्रलाई पर्यटकीय र धार्मिक दृष्टिकोणले सकभर मनोरम गराउने उद्देश्य हो ।’

कार्यशाला निर्माणका लागि करिब १५ लाख खर्च हुने धार्मिक सेवा समिति मौलाकालिकाले जनाएको छ । मूर्तिकारहरूलाई बस्ने, खाने तथा फर्किने बेलामा केही दक्षिणासमेत दिनुपर्ने भएकाले १५ लाखको हाराहारीमा खर्च हुने अध्यक्ष सापकोटाले जानकारी दिए । ‘ललितकला प्रज्ञा प्रतिष्ठानबाट कलाकार आउनुभएको हो, उहाँहरूलाई हामीले रित्तो हात फर्काउन भएन”, सापकोटाले भने, ‘फेरि पनि उहाँहरूको श्रमको मूल्य दिन त सक्दैनौँ तर केही खर्च दक्षिणाका रूपमा दिने सोच भने बनाएका छौँ ।’ कार्यशालाको आयोजकको रूपमा गैँडाकोट नगरपालिकासमेत रहेको भए पनि हालसम्म कुनै प्रकारको सहयोग नभएको उनले गुनासो गरे ।

कलावती आर्टस् काउन्सिलका संस्थापक कलाकार भीम शर्माले सहयोगी र कलाकार गरी १५ जनाको समूहले १५ दिन गैँडाकोटमा बसेर धार्मिक सांस्कृतिक महत्व झल्काउने खालका मूर्ति कुँद्ने बताए । ‘गैँडाकोटको मौलाकालिका मन्दिर जाने सिँढीमार्गमा उपयुक्त पत्थरबाट मूर्ति सिर्जना गरिएको छ’, शर्माले भने, ‘मन्दिरमा जाने पैदलमार्गीको लागि आकर्षण, आन्तरिक पर्यटनमा बढावा र प्रकृति सँगसँगै मानिस रहन, बस्न र हिँड्नका लागि यसले थप ‘मोटिभेसन’ गर्छ भन्ने उद्देश्यका साथ यो सुरु गरिएको छ ।’ मूर्तिकला कार्यशालाको प्राविधिक पक्षमा ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागले सहयोग गरेको भन्दै शर्माले स्थानीयरूपमा खानपान बसाइँ र कलाकारलाई फर्किने बेलामा पकेट खर्चको व्यवस्था धार्मिक सेवा समिति मौलाकालिकाले गर्ने बताए ।

सो क्षेत्रमा एक जना मूर्तिकारले कम्तीमा पनि एउटा मूर्ति निर्माण गर्ने शर्माले जानकारी दिए । ‘एक जनाले एउटा मूर्ति त सबैले बनाउनुहुन्छ,’ उनले भने, ‘कसैले अलि सानो मूर्ति बनाउनुभएको छ भने उहाँहरूले चाँडै सक्नुहुनेछ र उहाँहरूले दुईवटा÷तीनवटासम्म मूर्ति बनाउनुहुनेछ ।’ श्रीपञ्चमीदेखि सुरु भएको यो मूर्तिकला यो १५ दिनमा नै नसकिने भन्दै उनले भने, ‘यसपटक हामीले सुरु गरेका छौँ, यसलाई हामीले आगामी वर्षमा पनि निरन्तरता दिनेछौँ ।’ यसपटक अलि व्यापक तरिकाले कार्यशाला गर्ने सोच बनाएको भए पनि कोभिड–१९ का कारण खर्च व्यवस्थापन गर्न नसक्दा कार्यक्रम प्रभावित भएको उनले बताए ।

सो मूर्तिकला कार्यशालामा यही विषयमा स्नातकोत्तर गरेकी काठमाडौंकी मूर्तिकार अनमारी तामाङ पनि छन् । कार्यशालामा १२ जना मूर्तिकारमध्ये अनमारी एक्लो महिला हुन् भने एक सहयोगी मूर्तिकार पनि महिला छन् । एक वर्ष पहिला स्नातकोत्तर सकेकी अनमारीले सात वर्षअघिदेखि मूर्तिकलाको काम गर्दै आएकी छन् । सत्ताइसौँ वसन्त पार गरेकी अनमारीले यस्तो कार्यशालामा सहभागी हुँदा मन प्रफुल्ल हुने बताइन् । नेपालमा महिला मूर्तिकार औँलामा गन्न सकिने मात्रै भएको उनको भनाइ छ ।

‘म स्नातकोत्तर पढ्ने बेलामा मेरो ब्याचमा मूर्तिकला पढ्ने म एक्ली महिला थिएँ’, अनमारीले भनिन्, ‘मभन्दा अगाडिको ब्याचमा पनि एक÷दुई जनाबाहेक महिला मूर्तिकार हुनुहँुदैनथ्यो ।’ उनले मौलाकालिको सिँढीमार्गमा कछुवाको मूर्ति बनाउँदै छन् । यो विष्णुको अवतार पनि भएको भन्दै अनमारीले कछुवा बनाउनुको कारण भने युवाहरूको मनोभावनासँग जोडिएको बताइन् । ‘यो बाटोबाट हिँड्ने क्रममा कति जनाले बाबियोमा गाँठो बाँधेको देखिन्छ, त्यो भनेको दुई प्रेमीले आफूहरूको सम्बन्ध राम्रो होस् भनेर गाँठो बाँधेर हिँडेका हुन्,’ अनमारीले भनिन्, ‘कछुवा भनेको एकदमै धैर्यको जनावर पनि हो, यसको जीवनकाल पनि लामो हुन्छ । यो बाटोमा हिँड्दा बाटो हिँड्न पनि गाह्रो छ, कछुवाले जस्तै सधैँ धैर्य गर्नुपर्छ भन्ने सन्देश दिन यो मूर्ति बनाएको हो ।’ मूर्तिकला मात्रै नभएर सबै प्रकारका काम गर्न गाह्रो नै हुने अनमारीको भनाइ छ । कार्यशालामा एक्लो महिला मूर्तिकार भए पनि अन्य पुरुषसँग काम गर्दा सहज नै भएको उहाँले बताउनुभयो । ‘ढुंगामा खोपेर मूर्ति बनाउन त गाह्रो नै हुन्छ । यसमा महिला पुरुष भन्ने कुरा हुँदैन’, अनमारीले भनिन्, ‘तर कतिपय अवस्थामा महिलाको प्राकृतिक कारणले काम गर्दा अलि असहज हुने गरेको छ ।’ मूर्ति बनाउँदा धेरै बल लगाउनुपर्ने भन्दै कहिलेकाहीँ अलि समस्या पर्ने उनले बताए ।

मूर्तिकला कार्यशालामा मौलाकालिका मन्दिर उक्लिने सिँढीको बायाँतर्फको ढुंगामा झापाका हिम्मत नेवाङले कालीको मूर्तिलाई चिल्लो बनाउने कोशिसमा थिए । उनले कालीको आधा अनुहारको मात्रै मूर्ति कुँद्नु भएको छ । प्रकाश पर्दा मानिसको एकापट्टि छायाँ पर्ने उल्लेख गर्दै नेवाङले मूर्तिकलामा सिर्जदा गर्दा छायाँ कस्तो खालको हुन्छ भनेर आफूले देखाउनका लागि आधा अनुहार भएको मूर्ति सिर्जना गरेको बताए । ‘कालीले आधा अवतार लिएको देखाउन खोजेको हो’, नेवाङले भने, ‘कालीको आभूषण जनाउनका लागि उनको टाउकोमा मानिसको आधा खप्पर नै राखेको छु, खप्परमा लामो सिङ पनि छ ।’ कलालाई फ्युजन गर्नका लागि खप्परको सिङ निकालिएको नेवाङले बताए ।

देवीदेवताको उभिएको, बसेको र सुतेको आसन हुने भन्दै नेवाङले उनीहरूको मुद्रासमेत हुने बताए । ‘मूर्तिकला प्रतिमा लक्षणमा मुद्राका बारेमा उल्लेख गरेको हुन्छ’, नेवाङले भने, ‘काली भन्नासाथ उनको आभूषणमा मानव खप्परको हार हुन्छ, निधारमा अर्को एउटा आँखा र कानमा कुण्डल पनि हुन्छ, मैले त्यसैको मिश्रणमा यो मूर्ति निर्माण गरेको हो ।’ एउटा ठूलो ढुंगामा सिर्जना गर्दा जस्तो ढुङ्गा छ त्यहीअनुसारको रचनामा ढाल्नुपर्ने नेवाङले बताए । ‘ढुंगाअनुसारको कालीको मूर्ति सिर्जना गर्दा मानव खप्पर यहाँ उनको हारमा त आएन’ उनले भने, ‘मानव खप्पर हारमा नआएको कारणले कालीको निधारमा कालीको प्रतिकको रूपमा मानव खप्पर राखेको हो ।’
‘मानव खप्परमा जनावरको सिङ पनि लगाइदिएको छु” नेवाङले भने, ‘कलालाई आधुनिकरण दिएर अलिकति ‘फ्युजन’ पनि गर्न खोजेको हो ।’ काली दिनभर तल चराचुरुङ्गी, पशुपक्षी र मानवबस्तीमा सबैको रक्षा गरेर साँझ भएपछि यसो कसैले देख्ला कि भनेर कोल्टै पर्दै मन्दिरमा जान खोजेको देखाउन यस्तो मूर्तिको सिर्जना गरेको नेवाङको भनाइ छ । ‘यो मूर्ति मोमेन्टमा सिर्जना गरेको छु, कपालहरू फिँजारिएका छन्, जिब्रो बाहिर निकालिएको छ र काली कोल्टे परेकी छन्’ नेवाङले भने, ‘विथआउट आर्ट डेडआर्ट (बिना गतिशीलता भएको कला मृत्यु कला हो) भन्छन्, त्यसैले कलाको नियमअनुसार जाँदा जहिले पनि कलामा मुमेन्ट देखाउनुपर्छ भन्ने कुरा यसमा देखाउन खोजिएको छ ।’

मौलाकालिका मन्दिर दर्शनका लागि जाँदा सुरुमा नै अजंगको प्राणी हात्तीको मूर्ति निर्माण भइरहेको छ । मूर्तिकार तमबहादुर पुनले हात्तीको प्रतिमा निर्माण गर्दैछन् । जंगल पनि भएको र ढुंगाको आकार जस्तो छ सोहीअनुसार आफूहरूले मूर्ति निर्माण गर्ने गरेको पुनले बताए । हात्तीको मूर्ति निर्माणका लागि निकै कठिन हुने भएकाले आफूलाई अर्का एक सहयोगी मूर्तिकारले समेत सहयोग गरिरहेको उनले बताए । ‘आराम गरेर बसेको हात्ती बनाउँदैछु’ पुनले भने, ‘थकाइ मार्नका लागि अढेस लगाएर आनन्दले बसेको हात्ती बन्दैछ ।’

भेटिएको ढुंगालाई राम्रोसँग हेर्ने र त्यहाँ कुन आकृति बनाउँदा राम्रो हुन्छ, के के राख्ने भनेर ‘स्केच’ बनाएपछि मात्रै मूर्ति कुँद्ने काम शुरु गर्ने कार्यशालामा सहभागी मूर्तिकार प्रकाश थापा ‘प्रथा’ ले बताए । ‘मूर्ति निर्माण गरेको यत्ति दिनमा सकिन्छ भन्ने थाहा हुँदैन तर बनाउँदै गएपछि चाँडै सकौँ भन्ने लाग्छ,’ उनले भने, ‘मैले यहाँ शिवजीको मूर्ति, उहाँको माला, नाग र चन्द्रमाको मूर्ति कुँदेको छु ।’ उनले निर्माण गरिएको मूर्तिमा पेन्टस् गर्दा राम्रो नहुने भएकाले मूर्तिलाई पुछेर चिल्लो बनाइने जिकिर गरे । धार्मिक वनमा ढुंगामा कुँदिएका कलात्मक धार्मिक र प्राकृतिक मूर्तिले मौलाकालिकाको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने स्थानीवासीले अपेक्षा गरेका छन् । कोरोनाका कारण घटेका पर्यटकहरू यहाँ मूर्ति निर्माणपश्चात् विस्तारै बढ्दै जाने पनि स्थानीयको अनुमान छ । पदमार्गको दायाँबायाँ रहेका ढुंगामा कुँदिएका मूर्तिले यस क्षेत्रको सौन्दर्यतासमेत बढाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय