धम्पुस चुचुरोका आरोहीको अनुभव

‘मानिसको जीवनमा धेरै रहर हुने गर्छन्, कुनै पूरा हुन्छन् कुनै हँुदैनन् । मलाई पनि हिउँसँगको चुचुरोमा पुग्ने रहर निकै थियो पूरा भयो’ माघको ३ गते धम्पुस पिक (६ हजार १२ मिटर) आरोहण गर्न सफल ४३ वर्षीया हीराकुमारी मल्लले एउटा सपना पूरा भएको अनुभव सुनाउँदै भनिन् । ‘म सन् २००७ बाट टे«किङ गाइडका रूपमा काम गर्दै आएकी छु, विदेशी पर्यटकलाई नेपालको भूगोल, रहनसहन र संस्कृतिका बारेमा बुझाउँदै र हिमालका चुचुरो देखाउँदै जाँदा मलाई पनि त्यहाँ पुग्ने रहर जाग्यो, चुचुरोमा पुग्न आँट चाहिने रहेछ, अन्ततः सफल भएँ ।’ उनले सफल हुन चुनौतीको पहाड त चढ्नैपर्ने रहेछ त्यो पार गरेपछि सफलता मिल्छ भन्ने शिक्षा र आत्मविश्वास आरोहण पछि पाएको बताइन् ।

मनाङकी ३३ वर्षीया मनु गुरुङ पनि झण्डै आधा दर्जनभन्दा बढी चुुचुरोमा पुगिसकेकी छन् । अझै अग्ला हिमाल चढ्ने रहर पनि साँचिरहेकी छन् उनी । ‘मैले ट्रेकिङ क्षेत्रबाट माउन्टेन क्लाइम्बिङको अनुभव बटुल्दै छु, टेन पिक, चुलो वेष्ट, अन्नपूर्णलगायत झण्डै आधा दर्जन पिकको सफल आरोहण गरेकी छु, पछिल्लो पटक धम्पुस पिकको अनुभव केही फरक रह्यो ।’

गुरुङले अत्याधिक हावाको वेग र चिसोले गर्दा केही कठिनाइ भएको सुनाइन् । हिमाल आरोहणप्रतिको रुचिका बारेमा गुरुङले भनिन्, ‘म नेपालकी छोरी, डाँडापाखा कन्दरा कति गरेकी छु, चुचुराको फेदमा कैयाँैपटक पुगेकी छु तर चुचुरो उक्लने कुरामा हामीलाई विश्वास नगरिँदो रहेछ ।’ उनले २०१३ मा एउटा पिक चढ्न जाँदाको अनुभव सुनाउँदै भनिन्, ‘म केही समय अघि हिमाल आरोहणको तयारी गरेकी थिएँ तर त्यहाँका केही मानिसहरूले मलाई विदेशीसँग विहे गरेर आएको हो ? नत्र एक्लै महिलाले कहाँ हिमाल चढ्न सक्छन् भनियो, मलाई यो कुराले निकै चोट पुग्यो । आफ्नै भू–भागका चुचुरोमा पुग्न विदेशीसँग बिहे गर्नुपर्ने वा अरूको साहारामा मात्र उक्लनुपर्ने हो र ? किन विश्वास नगरेका आफ्नै चेलीहरूलाई,’ गुरुङले भनिन्, ‘मलाई यस्तै यस्तै कुराले पनि थप प्रेरणा मिल्यो र म चुचुरोमा उक्लन थालेँ र सफल पनि भएँ ।’ उनले कठिनाइसँग जुधेर आत्मविश्वास जगाउनसके असम्भव भन्ने केही नहुने बताइन् । आफूमा विश्वास गर्न सक्यो भने ९० प्रतिशत सफलता आफ्नो पक्षमा हुने उनको दाबी छ ।

म्याग्दीका ३४ वर्षीय ¥याफ्टिङ गाइड सनकुमारले जुग्जाली खोलामा पौडिरहेको मानिस चुचुरोमा पुग्दाको अनुभव बटुल्ने आरोहरण गरेको बताए । उनले भने, ‘समुद्री सतहबाट उच्च तहसम्मको अनुभव बटुल्न मन लाग्यो । केही दिनको तालिमले ऊर्जा मिल्यो अनि ६ हजार मिटरको चुली उक्लन सफल भइयो ।’ जुग्जालीले धम्पुस पिकको आरोहरणको सफलताले अन्य चुचुरोमा पनि पुग्न ऊर्जा मिलेको बताए । ट्रेकिङ गाइडसमेत रहेका जुग्जाली पर्यटन क्षेत्रमा यस्ता गतिविधिका बारेमा अनुभव हुन जरुरी ठान्छन् । उनले आफ्नो अनुभवलाई पर्वतीय पर्यटन प्रवद्र्धनका लागि प्रयोग गर्ने बताए ।

गएको कम्तीमा १५ वर्ष अघिदेखि मर्दी हिमालको बेसक्याम्पमा ट्रेकर्स प्याराडाइज रेस्टुरेन्ट सञ्चालन गरेका होटल व्यवसायी सुदीप गौतम पनि हिमालको फेदमा बस्नु र चुचोरामा पुग्नु फरक भएको अनुभव रहेको बताउँछन् । ‘म सानै उमेरदेखि मर्दी हिमालको फेदमा होटल व्यवसायमा आवद्ध छु, तर आँखा अगाडि देखिरहने हिमालहरूको चुचुरोमा पुग्न सहज रहेनछ । जब कठिनाइहरू चिर्दै अगाडि बढियो जीवनमा सफलता पाउन पनि सहज रहेनछ भन्ने शिक्षा हासिल गरियोे ।’ गौतमले हिउँ हुँदा र हिउँ नहुँदा दुबै समयमा कठिन भएको अनुभव सुनाए । ‘प्रतिघण्टा ७५ किलोमिटरको हावाको वेगले धानिन नसक्दाको अनुभव अविस्मरणीय रह्यो । ६ हजार १२ मिटरको उचाइमा पुगेपछि खुसीका आँशु झरे, आनन्द लाग्यो ।’ गौतमले जीवनको मिठो अनुभवलाई व्यावहारिक जीवनमा पनि प्रयोग गरेर अघि बढ्ने बताए ।

नेपाल पर्वतारोहण संघ (एनएमए) गण्डकी प्रदेशका सचिव गौतमले नेपालको पदयात्रा पर्यटन मोटर गुड्न मिल्ने बाटोले गर्दा नासिँदै गएको अवस्थामा अब पर्वतीय पर्यटनबाट पर्यटन बजारलाई विस्तार गर्नुपर्ने बताए । ‘विश्वमा १४, नेपालमा आठ र गण्डकी प्रदेशमा मात्र तीनवटा आठहजार मिटर अग्ला हिमाल छन् । योसँगै अनगिन्ति पिकहरू यस क्षेत्रमा छन् यसको प्रवद्र्धन गर्न सके अब विश्व जगतमा पर्वतारोहण पर्यटनलाई विकाउन सकिन्छ,’ गौतमले भने । कास्की मादी गाउँपालिकाका दिपेशबाबु सुवेदीले सन् २००४ बाट ट्रेकिङ क्षेत्रमा प्रवेश गरेर पदयात्रा पर्यटनको अनुभव लिए पनि पिकको आरोहण पहिलोपल्ट गरेको बताए । पदप्रदर्शक भएर काम गर्दा धेरैपटक ५ हजार ५ सयको उचाइमा टल्केका हिमालहरूसँग आँखा जुधाउँदै हिँडियो तर धेरैपछि मात्र ती चुचुरोमा पुग्ने अबसर मिल्यो ।’ सुवेदीले सोचेको कुरा पुगेपछि निकै खुसी लागेको बताए । उनले पर्यटन क्षेत्रमा कुनै कुराको अनुभव आवश्यक रहेकोले ‘माउन्टेन क्लाइमिङ’ को अनुभवले यस क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

लोमाङथाङ गाउँपालिका–४ का ५२ वर्षीय टासि पासाङ गुरुङसँग पनि पहिलो पटक ६ हजार मिटरको चुचुरोमा पुग्दा निकै खुसी लागेको अनुभव छ । ‘१६ वर्षदेखि पथप्रदर्शक र हाल टे«किङ व्यवसायमा आवद्ध छु, धेरैपल्ट उचाइमा पुगे पनि माउन्टेन क्याइमिङ अनुभव पहिलोपल्ट लिन पाएँ,’ गुरुङले भने, ‘पिक आरोहणको समयमा ५ हजार ८ सय ५० मिटरमा पुगेपछि निकै बेगले चलेको हावाले निकै गाह्रो भयो, मुख छोप्दा सास फेर्न गाह्रो, नछोप्दा चिसोले हानेर गाह्रो तर जसरी पनि हामी विचलित भएनौँ हाम्रो लक्ष्यमा पुग्यौँ,’ उनले चुचुरोमा पुगेपछि एकअर्कालाई अंकमाल गरेर खुसी साटासाट गरेको र केहीबेर चुचुरोमा फोटो खिचेर फर्किएको बताए । उमेरले सबै आरोहीभन्दा जेठा उनले अरू चुचुरोे चढ्न आत्मविश्वास बढेको सुनाए ।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको आयोजनामा माघ ३ गते १० जना आरोही धम्पुस पिक (थापापिक उपनामले पनि चिनिने) पुगेका थिए । चार जना मौसमको प्रतिकूलता कारण बीचबाट फर्किए भने बाँकी ६ जना आरोहण गर्न सफल भएका संघका अध्यक्ष शेषकान्त शर्माले जानकारी दिए । उनले गण्डकी प्रदेशका पिकहरूको प्रवद्र्धन गरेर पर्वतीय पर्वतारोहणको लागि एउटा उत्कृष्ट गन्तब्यको रूपमा विकास गर्न पहिलोपटक धम्पुस पिक आरोहण गराइएको बताए । ‘गण्डकी पर्वतीय गतिविधिमा पछाडि परेको महसुस हामीले गरेका छाँै, यस क्षेत्रका हिउँचुचुराहरूको आधिकारिक तथ्यांक अझै संकलन हुन सकेको छैन । यस क्षेत्रका हिमालहरूको प्रोफाइल तयार गर्न प्रदेश सरकारसँग आग्रह गरेका छौँ ।’ उनले प्रदेशमा १८ वटा अहिलेसम्म नचढिएका पिक रहेका र त्यसबारेमा पछिल्लो समय जानकारीमा आएको बताए ।

गण्डकी प्रदेशमा सुन्दर हिमश्रृंखलाका उच्च नमुना भए पनि यसलाई बेच्न नसकिएकोले अब प्रचारप्रसारसहित प्रवद्र्धनमा जुट्ने उनको भनाइ छ । ‘साहसिक गतिविधि अन्तर्गत पर्ने यस क्षेत्रमा धेरै आन्तरिक तथा बाह्य पर्यटकको रुचि देखिन्छ, तर तालिम दिने दक्ष जनशक्तिको कमि छ, त्यसैले तालिमलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।’ उनले हालै प्रारम्भिक पर्वतारोहरण प्रवद्र्धनात्मक तालिममार्फत् मध्यमस्तरका चुचुरोलाई प्राथमिकता दिएर धम्पुस पिक आरोहरण गराइएको जानकारी दिए । चुचुरो आरोहणका लागि एनएमए सर्टिफाइड प्रशिक्षक आशिष गुरुङ र अनुप गुरुङ थिए । ६ हजार मिटर माथिका चुचुरोमा आरोहणका लागि मनाङमा पर्वतारोहणको तालिम केन्द्र छ । त्यहाँ आधारभूत पर्वतारोहण तालिम सञ्चालन हुँदै आएको छ भने सगरमाथा क्षेत्रमा ए्ड्भान्स तालिम दिइने गरिएको छ ।

उनले प्रदेश सरकारसँग हिम चुचुरोको स्पष्ट संख्या र पिक प्रोपाइल बनाउन आग्रहसँगै, पर्वतीय क्षेत्रमा हुने दुर्घटनामा तत्काल उद्धार गर्ने तालिमप्राप्त जनशक्ति नभएकाले १०÷१५ जना ‘डेडिकेटेट टिम’ सहित आवश्यक उपकरणको व्यवस्था गर्न माग गरिएको जानकारी दिए । शर्माका अनुसार ६ हजार मिटरका चुचुरो आरोहरणको लागि एक जनाको ५० हजारदेखि एक लाख रुपैयाँसम्म खर्च लाग्ने गर्दछ । एक जनाको २५ हजार जति बिमामै खर्च हुन्छ भने अन्य पर्वतारोहण सामग्रीको लागि खर्च हुने गर्दछ ।

प्रतिक्रिया