दाउन्नेमा बस दुर्घटना, चालकको मृत्यु

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा परी चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको दाउन्नेमा आज दिउँसो बस आफैँ अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा बसका चालकको मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–२ घ्यूखोलामा ना ६ ख ५०३५ नं. को बस आफैँ अनियन्त्रित भएर पल्टिँदा बसका चालक दाङ घोराही उपमहानगरपालिका–१४ बस्ने ४० वर्षीय मोतीराम बुढाको मृत्यु भएको हो ।

बस सडक छेउमा खस्दा चालकको मृत्यु भएको हो । चालक सडकदेखि २०० मिटर तल खस्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । बसमा सवार यात्रु भने सबै सकुशल रहेको उनले बताए ।

यस्तै बौदिकाली गाउँपालिका–६, कोटरथमा लु १ ज ३३२९ नम्बरको जिप पल्टिँदा चार जना घाइते भएका छन् । घाइते हुनेमा बौदिकाली गाउँपालिका–४ बस्ने ३१ वर्षीय मोहनसिंह थापा, २२ वर्षीय यमबहादुर गाहा, ३७ वर्षीय पीताम्बर गाहा, २५ वर्षीय कुलबहादुर गाहा रहे छन् । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

प्रतिक्रिया