‘पिके’ को सिक्वेल

मुम्बई । अभिनेता आमिर खान अभिनीत बलिउड चलचित्र ‘पिके’ को सिक्वेल बन्ने भएको छ । सन् २०१४ को चर्चित ‘पिके’ को सिक्वेलको तयारी भइरहेको निर्माता विधुविनोद चोपडाले जनाएको भारतीय सञ्चार माध्यमले खबर छापेका छन् । ६ वर्षअघि सार्वजनिक उक्त चलचित्रमा अभिनेता आमिर र अभिनेत्री अनुष्का शर्माको मुख्य भूमिका रहेको थियो । उक्त चलचित्रमा आमिर अर्को ग्रहबाट आएको ‘एलियन’ को भूमिकामा प्रस्तुत भएका थिए । अब बन्ने यसको सिक्वेलमा भने अभिनेता रणवीर कपुरको मुख्य भूमिका रहने जनाइएको छ ।

पहिलो सिक्वेलमा ‘एलियन’ जुन ग्रहबाट आएका थिए, त्यहीँ फर्केको देखाइएको थियो । सोहीबेला रणवीर नयाँ ‘एलियन’ का रुपमा पृथ्वीमा झरेको देखाइएको थियो । नयाँ सिक्वेलमा रणवीरको कथा समेट्ने निर्माता विधु विनोदले बताएका छन् । उनका अनुसार पटकथा लेखक अभिजित जोशीले अझैसम्म पटकथा लेखेका भने छैनन् । दिवंगत अभिनेता सुशान्तसिंह राजपुत, बोमन इरानी र सञ्जय दत्तको पनि अभिनय रहेको ‘पिके’ का निर्देशक राजकुमार हिरानी हुन् ।

प्रतिक्रिया