पाकिस्तानी प्रधानमन्त्री खान श्रीलङ्का प्रस्थान

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबारदेखि श्रीलङ्काको भ्रमण सुरु गरेका छन् । दुई दिने औपचारिक भ्रमणको लागि उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् । पाकिस्तानी प्रधानमन्त्री खान श्रीलङ्काका समकक्षीको निमन्त्रणामा श्रीलङ्काको भ्रमणमा गएका हुन् ।

भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेशी, प्रधानमन्त्रीका वाणिज्य, उद्योग, कर तथा लगानी सम्बन्धी सल्लाहकार अब्दुल रजाक दाउद र प्रधानमन्त्रीका विषेश सहयोगी सयद जुल्फीकार अब्बास बुखारी पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री भएपछि उनले पहिलो पटक श्रीलङ्काको भ्रमण गरेको अधिकारीहरुले जनाएका छन् । उनी सन् २०१८ को अगस्टमा पाकिस्तानको प्रधानमन्त्री भएका हुन् । खान नेतृत्वको भ्रमण टोलीले व्यापार, लगानी, स्वास्थ्य, शिक्षा, कृषि, विज्ञान तथा प्रविधिलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रिया