खोजखबर

प्रअको कुटाइबाट कक्षा ९ की छात्रा गम्भीर घाइते

सौर्य अनलाइन २०७७ फागुन ११ गते ११:३६ मा प्रकाशित

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक (प्रअ) खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा गम्भीर घाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारको लागि महाकाली अस्पतालमा भर्ना गरिए पनि अवस्था जटिल भएका कारण थप उपचारको लागि कैलालीको धनगढीतर्फ लगिएको छ । छात्रा नाथको टाउकामा चोट लागेको छ । छात्राका बुवा पदम नाथले विद्यालय गएकी छोरीमाथि प्रधानाध्यापक विष्टले कुटपिट गरी घाइते बनाएको बताए ।

‘छोरी विद्यालय गएकी थिइन्’, उनले भने, ‘घर आउँदा बेहोस भइन्, अस्पताल ल्याएका छौँ, टाउकामा चोट लागेको छ ।’ छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले छात्रामाथि कुटपिट गरेका प्रअलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको बताए ।

घटनाबारे विद्यार्थी संघसङ्गठन, महिला अधिकारकर्मीले विरोध जनाएका छन् । उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारवाहीको माग अघि सारेका छन् ।

अनेरास्ववियू कञ्चनपुरका नेता रमेश पन्तले घटना दुःखद भएको भन्दै प्रअमाथि कारवाहीको माग गरेका छन् । महिला अधिकारकर्मी शारदा चन्द, मीना भण्डारी र निर्मला भट्टसहितका अधिकारकर्मीले महिला, बालबालिकामाथि भइरहेका घटनाको भत्र्सना गर्दै दोषीउपर कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय