पदमको ‘विश्रामपुर’

काठमाडौं । साहित्यकार पदम गौतमले लेखेको उपन्यास ‘विश्रामपुर’ सार्वजनिक भएको छ । यो गौतमको पहिलो उपन्यास हो । यसअघि उनले ‘फूलको लासमाथि’ र ‘रगतको शयनकक्षमा’ कविता संग्रह तथा ‘एकलासको फूल’ र ‘घाम झुल्कनुअघि’ गजल संग्रह प्रकाशित छन् । उपन्यास राजनीतिले लगातार चुसेको एक देहाती गाउँको कथामा आधारित छ । उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउँका कथासँग मिल्ने प्रकाशन संस्था सांग्रिलाले जनाएको छ ।

आञ्चलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमत संग्रहदेखि यता झण्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक विषयको चित्रण गरिएको छ । राजनीतिक दलले देखाएको सपना र सत्ताले गर्ने सपनाको हत्यापछि सीमान्तकृत समुदायले भोग्नुपर्ने कथालाई उपन्यासमा उधिनिएको छ । साहित्यकार गौतमले उपन्यासको भावभूमि र मुख्य विषय तीन–चार दशकअघिका त्यहाँका मान्छेका सपनाको हत्या भएको बताए । उनले भने, ‘मैले धेरै पटक समाजका सपना र मेरा कल्पनालाई एकै ठाउँमा जोड्ने प्रयास गरेँ । पात्र र गाउँ काल्पनिक भए पनि सपना उही हुन्, मान्छेका कथा उही हुन् ।’

प्रतिक्रिया