लोककला कार्यशाला

काठमाडौं । नेपालमा प्रचलित लोककलाको प्रवद्र्धन लक्ष्यका साथ दुईदिने लोककला कार्यशाला सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागको आयोजनामा भएको लोककला कार्यशालाको शुभारम्भ गर्दै प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपालको पहिचान झल्काउने कलाको विकासमा आफूरुले काम गरिरहेको बताए । उनले भने, ‘नेपालको विविधतालाई झल्काउने लोककलाको विकासका निम्ति प्रतिष्ठानले विविध गतिविधि गरिरहेको छ । त्यसैका कडीका रुपमा यो कार्यशाला गरिएको हो ।’ प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले लोककलाले नेपालको विविधतालाई चिनाउन सकेको धारणा व्यक्त गरे । सदस्यसचिव विपिनकुमार घिमिरेले लोककला जनस्तरमा विकास भएको र तिनीहरुको कलात्मक सौन्दर्यको रुपमा आएको भनाइ राखे । प्रतिष्ठानका प्राज्ञ रमेशनाथ खनालले नेपाली मौलिक तथा जनस्तरको कलाको प्रवद्र्धन, संवद्र्धन र विकासमा लागि प्रतिष्ठानले योजनाबद्ध ढंगले काम गरिरहेको बताए । कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले लोककलाले आमजनसमुदायको संस्कृति, संस्कार, जनजीवनका विविध आयामलाई चित्रण गर्ने विचार व्यक्त गरे । उनले भने, ‘समाजमा परापूर्वकालदेखि नै कला तीन ढंगले विकास भएको पाइन्छ । पहिलो राजकीय कला, दोस्रो परम्परागत शास्त्रीय कला र तेस्रो लोककला । यीमध्ये जनस्तरको मनोभावनाको सम्बोधन र उनीहरुको भावनाको प्रतिनिधित्व लोककलामा हुन्छ ।’

प्रतिष्ठानका लोककला विभाग प्रमुख मिथिला देवीले लोककलाले नेपालको सुन्दरतालाई बढाउन महत्वपूर्ण भूमिका खेलेको सुनाइन् । उनले भनिन्, ‘विभिन्न जातजाती तथा समुदायमा लोककला संस्कार, परम्परा, संस्कृति तथा जनजीवनसँग जोडिएर आएको छ । यो नै नेपालको पहिचान र मौलिकताको प्रतिबिम्ब हो । यसको विकास, संवद्र्धन, प्रवद्र्धन तथा संरक्षणमा प्रतिष्ठानले काम गरिरहेको छ । कार्यशाला पनि त्यसैको कडीको रुपमा गरेका हौं ।’ कार्यशालामा अग्रज कलाकार एससी सुमन, प्राज्ञ सञ्जय वान्तवा, किरण सिंगु लिम्बू, रजनी सिंख्वाल, रुवी कर्ण, रञ्जु यादव, एनबी गुरुङ, डिबी राई, मेलिना चित्रकार, गीता ठाकुर लगायतका कलाकारको सहभागिता रहेको छ ।

कार्यशालामा सहभागी अग्रज मिथिला कलाकार एससी सुमनले लोककला आमजनताको कलाको रुपमा विकास भएको बताए । उनले लोककलाको विकासका निम्ति कार्यशाला, गोष्ठी, प्रशिक्षण महत्वपूर्ण हुने भनाइ व्यक्त गरे । दुईदिने कार्यशालामा काठमाडौं उपत्यकाको सांस्कृतिक वैभवलाई क्यानभासमा उतारेको सहभागी कलाकार रजनी सिंख्वालले बताइन् । उनले भनिन्, ‘लोककलाको संरक्षणका लागि यस्ता कार्यशाला तथा गतिविधि नियमित रुपमा गरिनुपर्दछ ।’ प्राज्ञ सञ्जय वान्तवाले नेपाल बहुसांस्कृतिक मुलुक भएकाले यहाँ रहेका विविध कला र संस्कृतिको उत्थान र प्रवद्र्धनमा राज्यले न्यायोचित ढंगले काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘प्रतिष्ठानले लोककला कार्यशालामार्फत विविध समुदाय र जातीमा प्रचलित लोककलाको संरक्षणमा एक पाइला भए पनि काम गरेको अनुभूति भइरहेको छ ।’

प्रतिक्रिया