कृषिमा रमाउँदै युवा

केही समय पहिला युवाको रोजाइमा नपरेको कृषि पेसामा अहिले विस्तारै युवाहरू आकर्षित हुन थालेका छन् । एक समय कृषि पेसा भन्नेबित्तिकै नाक खुम्च्याउने युवापंक्ति अहिले भने यो पेसाप्रति आकर्षित हुन थालेका छन् । नेपालका युवाको रोजाइमा पर्ने गरेको वैदेशिक रोजगारीलाई कोरोना महामारीले समस्यामा पारेपछि नेपाली युवा विकल्पका रुपमा कृषि पेसामा आउन चाहेका हुन् । कृषि पेसा भन्नासाथ समाजलेसमेत दुःखी पेसा मान्ने गरेकामा यसको व्यावसायिकतासँगै युवापुस्ता यसतर्फ आकर्षित बनेको हो । कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा गएका धेरै युवाले रोजगारी गुमाएपछि उनीहरूमा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोच पलाएको हो । वैदेशिक रोजगारीमा गएका साथै कतिपय अन्य पेसा अँगालेका युवाले पनि आफ्नो पुरानो पेसासँगै कृषिलाई सँगसँगै लैजान थालेका छन् । तीमध्येमा एक दीपक भट्टराई संगीताका साथमा कृषि पेसामा रमाउदै छन् । झण्डै तीन दर्जन गीत गाइसकेका कालीगण्डकी गाउँपालिका– ७ मिर्मीका भट्टराई यतिखेर व्यावसायिक कृषिलाई पनि सँगै लिएर हिडेका छन् ।

‘सुरुआत आफैँबाट गरौँ, परिवर्तन सम्भव छ,’ भन्ने सोचका साथ लागेर आफू व्यावसायिक कृषिमा लागेको भट्टराईको भनाइ छ । कृषि पेसामा लाग्दा एउटा कलाकारले के गर्ला र भन्ने गरेको सम्झँदै दीपकले अहिले आफ्नो काम देखेर सबै दंग पर्ने गरेको बताए । गीत गाउँदै हिँड्ने मान्छे कृषिमा लागेर के गर्नसक्ला भन्ने पनि अहिले उनले बाख्रा र कुखुरा पालेर सफल भएपछि प्रशंसा गर्न थालेका छन् । एघार वर्ष गीतसंगीतमा बिताएका उनी अहिले आफ्नै गाउँ मिर्मी फाँटमा कलाकार आधुनिक कृषि तथा पशुपालन फर्म सञ्चालन गरेर उदाहरणीय बनेका छन् । उनको फर्ममा चौबीसै घण्टा लोकदोहोरीका धुन गुञ्जिरहेका हुन्छन् ।

फर्ममा पुग्ने जोसुकैलाई पनि संगीतको धुनसँगै बाख्रा, स्थानीय जातको कुखुरा र टर्कीसँगै खेलिरहेका भट्टराईको सक्रियताले लोभ्याउने गरेको छ । घरमा भएका दुईवटा माउ बाख्राबाट व्यवसायको थालनी गरेका उनको फर्ममा अहिले १५ वटा माउ बाख्रा छन् भने पाठापाठीसहित ५० वटा पुगेका छन् । स्थानीय खरी बाख्रालाई जमुनापारीको बिउ बोका लगाएर व्यवसाय विस्तार गरेको उनले बताए, ‘अहिले बोयर बोका ल्याएको छु, यसले व्यवसायमा थप सफलता मिल्ने विश्वास बढेको छ ।’ व्यवसायलाई थप व्यवस्थित गर्न गाउँपालिकाले गरेको सहयोगबाट झनै हौसला मिलेको उनले बताए । पैसा कमाउन विदेश जाने सोच आफूमा नरहेको र आफ्नै गाउँठाउँमा केही गर्छु भनेर कृषि कर्ममा लागेकोले आफूले गरेको परिश्रमअनुसारको प्रतिफल पाएको उनले बताए । उत्पादन गर्नसके बजारको समस्या नभएकोले घरपरिवार चलाउनकै लागि वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँघरमा परिवारसँगै बसेर काम गर्नु धेरै राम्रो हुने उनको अनुभव छ ।

केही समय अगाडि नपढेका, अरु केही काम नजान्ने र नगर्नेले गीत गाउने हो भन्ने समाजको बुझाई थियो तर बिस्तारै चेतनाको विकास र गीतसंगीतको महत्व बढेपछि बल्ल सम्मान गर्न थालियो भने कृषिमा पनि त्यस्तै रहेको दीपकको बुझाइ छ । आधुनिक प्रविधिको प्रयोग गरेर काम गर्ने हो भने कृषि पेसामा भविष्य रहेको उनले बताए । आपूmले फर्म सञ्चालन गरेसँगै गाउँका अन्य युवा पनि कृषिमा आकर्षित बन्दा आफूलाई निकै खुसी लागेको उनले बताए । गाउँपालिकाले बिउ तथा बिरुवा उपलब्ध गराएर किसानहरूलाई कृषि पेसामा लाग्न प्रोत्साहन गरेकाले पनि आफूले यो पेसामा नै भविष्य देखेर यसैमा लागेको उनले बताए । बाख्रा तथा कुखुराबाट महिनामा एक लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य लिएका उनी अब बंगुरसमेत थपेर व्यवसायलाई थप विस्तार गर्ने योजनामा छन् । आपूmले व्यवसाय सुरु गरेपछि छिमेकीमा पनि गरे हुँदो रहेछ भन्ने प्रभाव परेको र अहिले एउटा माउ पाल्नेले दुई वटा र दुई वटा पाल्नेले चार वटा पाल्न थालेकाले पनि आफूले गर्दै आएको पेसाले आफूलाई मात्रै नभएर समाजलाई नै हौैसला प्रदान गरेकाले खुसी लागेको उनले सुनाए ।

दुई वर्षअघि तरकारी खेतीबाट कृषि कर्ममा लागेको दीपकले असिना र मौसम प्रतिकूलताका कारण सुरुआती चरणमै घाटा खानुप¥यो । ‘तरकारीबाट उत्पादन लिन नसकेपछि छिमेकीले अब यसले गर्दैन, फेरि माइक समातेर गीत गाउन जान्छ भन्न थाले,’ उनले भने, ‘तर कृषिमा धेरै अवसर देखेर लागेकोले यो पेसालाई छाड्न सकिनँ अनि बाख्रा र कुखुरापालन गर्ने अठोट गरेर अहिले यसमै निरन्तर लागिरहेको छु, यसबाटै आफ्नो भविष्य उज्वल बनाउँछु ।’ ‘राम्रो जागीर नेपालमै पाए केलाई जान्थे साउदी कतार थन्काइदिन्थे पासपोर्ट, नसकिने रैछ झ्याप्पै ज्यान फाल्नलाई जिउन पनि साह्रै गाह्रो भो, सम्झनालाई औँठी साटौँला, नराम्रोनी राम्रै मानियो’ बोलका लोक दोहोरी गीत गाएका दीपकले दुई वर्ष पहिले पाँच हजारबाट सुरु गरेको व्यवसायमा अहिले करिब १२ लाख लगानी पुगेको बताए । बाख्रा, टर्की र स्थानीय जातका कुखुरा पालेका उनले महिनाको महिनाको ४०/४५ हजार कमाउनका लागि बिदेसिनु नपर्ने बताए ।

यसैगरी काठमाडौंमा बसेर सांगीतिक क्षेत्रमा काम गर्दै आएका गल्याङ नगरपालिका–९ गेजाका कुसुम भण्डारी गाउँ फर्किएर दुई वर्षदेखि केरा खेती गर्दै आएका छन् । घर नजिकै तीन रोपनी जमीनमा तीन सय केराका बिरुवा लगाएको र प्रतिबोटबाट एक हजारका दरले वर्षमा केराखेतीबाट वार्षिक तीन लाख रुपैयाँ आम्दानी गर्दै आएको भण्डारीले बताए । तीन रोपनी जमीनमा लगाएको केरा खेतीलाई विस्तार गरेर पाँच रोपनीमा केरा खेती गर्ने योजना रहेको सुनाउँदै भण्डारीले समग्र गेजालाई केरा गाउँका रुपमा चिनाउने उद्देश्यअनुसार गाउँभरि केरा खेतीको विस्तार गर्न लागिएको बताए । लगाएको एक वर्षभित्रमा केराले उत्पादन दिने र सिँचाइको अभाव भएको ठाउँमा रिपियान भएको पाखोमा लगाउन सकिने भएकोले गाउँघरका बाँझो पाखो बारीलाई सदुपयोग गरेर केरा खेती गरेको खण्डमा राम्रो आम्दानी लिन सकिने कुसुमले बताए । गाउँघरमा बसेर केरा खेती गर्दै आएका कुसुमले गाउँमै कीर्तन समूहको निर्माण गरेर बेला मौकामा गाउँघरमा हुने पूजाआजामा आफ्नो समूहले भजन गाउने गरेको बताए । गाउँमा त्यसै खेरा गएको पाखो बारीको सदुपयोग गरेर आयआर्जनको बृद्धिसँगै परम्परा र संस्कृतिको संरक्षण गर्ने योजनाअनुसार कीर्तन समूहसमेत निर्माण गरेर काम गर्दै आएको भण्डारीले बताए ।

बाह्र वर्ष खाडी मुलुकमा बिताएर स्वदेश फर्किएका थमन गुरुङ अहिले कुखुरापालनमा रमाउदै आएका छन् । अर्जुनचौपारी गाउँपालिका रापाकोटका थमन गुरुङले संयुक्त अरब इमिरेट्स र मलेसियागरी १२ वर्ष वैदेशिक रोजगारीमा विताए पनि स्वदेश फर्किएपछि हरियाली पोल्ट्री फर्म सञ्चालन गरेर अहिले यसमै रमाएका छन् । अर्जुनचौपारी– ३ रापाकोट स्थायी घर भएका थमन गुरुङ अहिले वालिङलाई कर्मथलो बनाएर यो व्यवसायीका रूपमा काम गरिरहेका छन् । गएको असारदेखि कुखुरापालन व्यावसाय सुरु गरेका थमनको फर्ममा अहिले २ हजार २ सय ब्रोइलर कुखुरा छन् । कोरोना महामारीले गर्दा देशमा बन्दाबन्दी भएपछि केही त गर्नुप¥यो भनेर थमनले कुखुरापालन रोजेका हुन् । रोजगारीको अबको विकल्प भनेको कृषि र त्यसमा पनि थोरै लगानीबाट गर्न सकिने र आम्दानी पनि छिटो हुने भएकाले यो व्यवसाय गर्न थालेको थमनले बताए ।

कुखुरापालनसम्बन्धी कुनै पनि तालिम नलिए पनि थमनले साथीहरूको सल्लाह र युट्युब लगायतका सामाजिक सञ्जालको सहायतामा व्यवसायको थालनी गरेका हुन् । वार्षिक ८४ हजारमा पाँच रोपनी जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेको गुरुङले अब खोरको विस्तार गर्नुका साथै कुखुरासँगै टर्की पनि पाल्ने योजना रहेको बताए । वास्तविक किसानले अझै पनि अनुदान पाउन नसकेको र व्यावसायिक किसानहरूको निष्पक्ष अनुगमन गरेर कामको आधारमा अनुदान दिनसके कृषिमा धेरै प्रगति हुने गुरुङले बताए । नेपालमा कृषिको क्षेत्रमा लाग्ने युवाको भविष्य राम्रो रहेको बताउँदै थमनले विदेश जान लगानी गर्ने पैसा कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरे । थमनले भने, ‘युवा साथीहरू विदेशको मुख ताकेर बस्ने र विदेशतिर भौतारिनुभन्दा कृषिक्षेत्रमा लाग्नुस् काम दाम र नाम यहीँ छ ।’

जिल्लाका अधिकांश स्थानमा कोरोना भाइरसको प्रकोपसँगै रोजगारी गुमाएका युवाहरू दिनप्रतिदिन कृषि पेसाप्रति आकर्षित हुँदै गएका छन् । यसैगरी वालिङ नगरपालिका–१२ फौदीखोलामा शुभ बिहानी बंगुरपालन फर्म सञ्चालन गर्दै आएका डम्बरबहादुर गुरुङले बंगुरपालन व्यवसायबाट आफूले राम्रो आम्दानी लिन सफल भएको बताए । बिहान उठेदेखि राति अबेरसम्म बंगुरकै सेवामा खट्ने गरेको बताउदै गुरुङले भने, ‘बंगुरपालनका लागि मेहनत धेरै गर्नुपर्छ । यसबाट आम्दामी पनि लिन सकिन्छ ।’ कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका समयमा बंगुरका पाठापाठी बिक्री नहुँदा समस्या भए पनि अहिले त्यस्तो केही समस्या नभएको गुरुङले बताए । विगत ६ वर्षअघि आठ लाखको लागतमा बंगुरपालन व्यवसाय गर्दै आएका गुरुङले पाठापाठी बिक्री गरेर राम्रो आम्दामी लिएका छन् । बंगुरको पाठापाठीलाई पाँच हजारदेखि ५ हजार ५ सय रुपैयाँ सम्ममा बेच्ने गरेको गुरुङले बताए । सरकारले कृषकका लागि दिने अनुदान खास किसानसम्म नआएको गुनासो गर्दै उनले भने, ‘व्यवसाय गर्ने किसान अनुदानका लागि धाउने कि फर्ममा काम गर्ने ?’ उनले प्रश्न गरे । नेपालमा कृषिका साथै पशुपालन व्यवसायमा भविष्य भएको बताउँदै उनले रोजगारीको लागि अरूको मुख ताक्नुभन्दा अब युवा सानोठूलो व्यवसाय आफँैले गर्न सकिने अनुभव सुनाए ।

प्रतिक्रिया