मुगु । छायानाथ रारा नगरपालिकाकोे एक सामुदायिक वनमा आगलागी भएको छ । छायानाथ रारा नगरपालिका–४ मा पर्ने पारिवन सामुदायिक वनमाआगलागी भएको हो । शुक्रबार दिउँसो २ बजेबाट हलनी डाँडाबाट लागेको आगोले पारिवन सामुदायिक वन क्षेत्रको धेरै भाग जलिसकेको छ । कामको सिलसिलामा वनमा गएकाहरूले आगो तापेर आगो ननिभाइ हिँडेकाले आगो वन क्षेत्रमा सल्किएको र एक स्थानको आगो वन क्षेत्रमा प्रवेश गरी दुई सय हेक्टरभन्दा बढीवन क्षेत्रमा आगलागी भएको वडा–४ का अध्यक्ष विष्णुकुमार भामले बताए ।
उनका अनुसार आगो कसले बालेका हुन् थाहा नभएको र आगलागीको कारण आगो बाली तापेका र आगो ननिभाइ जाने गरेका व्यक्तिको लापरबाहीका कारण लागेको बताए । आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन । तर, पारिवन सामुदायिक वनले खोजी कार्य गर्दै अनुसन्धान गरिरहेको अध्यक्ष भामले बताए । आगलागीबाट सयौं रोपनी पारिवन सामुदायिक वन जलेर नष्ट भएको छ । अप्ठेरो भिर भएको र सल्ला तथा अन्य पत्कर, झार स्याउला धेरै भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको पारिवन सामुदायि वन उपभोक्ता समितिका अध्यक्ष झिमबहादुर भण्डारीले बताए । आगलागीका कारण करिब दुई करोडभन्दा बढीको क्षति भएको छ । वनमा जाँदा सावधानी नअपनाएकै कारण वन क्षेत्रमा आगलागी भएको स्थानीयको भनाइ छ ।
आगो नियन्त्रणका लागि शुक्रबारदेखि वडा अध्यक्ष भाम र छायानाथ रारा नगरपालिका–४ भामवाडाका प्रत्येक घरका १ सय ५० जना स्थानीय निरन्तर जुटेर २४ घण्टापछि आगो नियन्त्रणमा ल्याउन सफल भएका छन् । प्रत्येक घरका स्थानीय आगो निभाउन शुक्रबारदेखि जंगलमै वास बसेर आगो नियन्त्रणमा ल्याउन सफल भएको स्थानीयको भनाइ छ । यदि जंगलको वास नगरी आगो नियन्त्रणमा सक्रिय नभएको भए आगो नियन्त्रण बाहिर गएर पारिवन सामुदायिक वन पूरै आगलागी भएर अन्य स्थानका वनमा पनि आगलागी हुने स्थानीय बताउँछन् ।
प्रतिक्रिया