पाँचजनालाई ललितकला पुरस्कार

ललितपुर । ललितकला पत्रकारितामा योगदान दिएका पाँच जना सञ्चारकर्मी पुरस्कृत भएका छन् । नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले हरेक वर्ष प्रदान गर्दै आइरहेको नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कार–२०७६ बाट दीपक श्रेष्ठ (विहीन) र २०७७ बाट सिर्जु बज्राचार्य पुरस्कृत भएका हुन् । ललितकला पत्रकारिता, समीक्षा तथा कला इतिहासका अग्रणी व्यक्तित्व नारायणबहादुर सिंहको स्मृतिमा समाजले सो पुरस्कार स्थापना गरेको हो । यस्तै, सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार–२०७६ बाट हेमन्त गौतम र २०७७ बाट दीपक परियार पुरस्कृत भएका छन् । क्रोधकला शिरोमणि कालु कुमालेले स्वर्गीय पत्नी लक्ष्मीमाया कुमालेको स्मृतिमा सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् । यसैगरी, सोफाज ललितकला पत्रकारिता पुरस्कारबाट राधा पौडेल (अजवी) पुरस्कृत भएकी छन् । सबै पुरस्कारको राशि ११ हजार १११ रुपैयाँको रहेको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, क्रोधकला शिरोमणि कालु कुमाले र सोफाजका अध्यक्ष केशवराज खनालले संयुक्त रुपमा पुरस्कार प्रदान गरे । कार्यक्रममा कुलपति केके कर्माचार्यले पुरस्कृतलाई बधाई दिँदै ललितकलाको विकास र विस्तारमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए । उनले सिर्जनाका अन्य विधामा भन्दा ललितकलामा पुरस्कार अत्यन्त थोरै रहेको विचार व्यक्त गरे । उनले भने, ‘ललितकला क्षेत्रमा सक्रिय कलाकार तथा सञ्चारकर्मीलाई प्रोत्साहित गर्नसमेत पुरस्कार तथा लेखनवृत्तिको व्यवस्था गर्नुपर्दछ । यसले मात्रै नेपाली ललितकला क्षेत्रलाई अगाडि बढाउन र कलाकारलाई प्रोत्साहन दिन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’ कार्यक्रममा समाजका उपाध्यक्ष मधु शाहीले ललितकला क्षेत्रलाई जनस्तरसम्म पु¥याउन सञ्चार माध्यमको विशिष्ट भूमिका रहेको बताइन् । उनले नारायणबहादुर सिंह र लक्ष्मीमाया कुमालेका बारेमा चर्चासमेत गरिन् । क्रोधकला शिरोमणि कालु कुमाले फाउण्डेशनका अध्यक्ष राकेश अवालेले कलाइक्षेत्रलाई सञ्चार माध्यमले निकै सहयोग गर्दै र प्रचार प्रसारमा समेत विशिष्ट भूमिका खेल्दै आएको बताए । समाजका कोषाध्यक्ष दिवेश प्रधानले पुरस्कृत व्यक्तित्वको चर्चा गर्दै कलालेखनलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

पुरस्कृत व्यक्तित्व हेमन्त गौतमले पुरस्कारले आफूलाई अझै जिम्मेवारी थपेको बताए । उनले कलालाई आमजनमानसमा पु¥याउन सञ्चार माध्यमले खेलेको भूमिकालाई अझ फराकिलो बनाउनुपर्नेमा जोड दिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेश खनालले पुरस्कृतलाई शुभकामना दिँदै ललितकलालाई पत्रकारिता क्षेत्रले अगाडि बढाउन सहयोग गर्दै आएको बताए । नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले नेपाली ललितकला पत्रकारिता क्षेत्रका चुनौतीलाई चिर्दै अगाडि बढिरहेको जनाए । उनले कलालाई पत्रकारितासँग जोड्दै यसको विकास, प्रवद्र्धन र संवद्र्धनमा लाग्नुपर्ने आवश्यकता बढेर गएको छ । यसैबीच, बिहीबार सम्पन्न सोफाजको साधारणसभाले केशव राज खनाललाई तीन वर्षका लागि पुनः अध्यक्षमा निर्वाचित गरेको छ । यस्तै, उपाध्यक्ष मधु शाही, महासचिव देवेन्द्र थुम्केली, सचिव संगीता श्रेष्ठ र कोषाध्यक्षमा सुनिता लोहनी चयन भएका छन् । यसैगरी, सदस्यमा दिवेशमान सिंह प्रधान, सुनिता साखकर्मी, सीताराम बडाल, रामनाथ घिमिरे र प्रकृति दाहाल रहेका छन् । एक सदस्य पछि थप गरिने समेत जनाइएको छ ।

प्रतिक्रिया