कर्णाली । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन । कतिपय मुलुक त बन्दाबन्दीमै छन् । नेपालमा भर्खर खोप अभियान सुरु भए पनि यसको त्रास कायमै छ तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुक जाने युवाको संख्या उत्तिकै छ । कोरोना महामारी सुरु भएयता सुर्खेतका १ हजार ३ सय ७३ युवाले राहदानी लिएका छन् । तीमध्ये ४ सय ९२ ले दु्रत माध्यमबाट राहदानी लिएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । कार्यालयका सूचना अधिकारी श्रीशमशेर राणाले स्वदेशमा रोजगारीका अवसर नभएकाले युवा विदेशिने क्रम नरोकिएको बताए । ‘कोरोना महामारीमा घर फर्केका पनि महामारी नसकिँदै विदेशतिर गएको पाइयो’, उनले भने, ‘गाउँघरमै रोजगारीको भरपर्दो अवसर पाएको भए विदेश जाने क्रम केही रोकिन्थ्यो ।’ विदेशबाट फेर्केका युवालाई लक्षित गरी आयआर्जन तथा रोजगारीका कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्दा युवा पुनः विदेशतर्फ लागेको उनको भनाइ छ ।
त्यस्तै श्रम तथा रोजगार कार्यालयले पछिल्लो ६ महिनामा कर्णालीका दुई सयभन्दा बढी युवाले पुनः श्रम स्वीकृति लिएको जनाएको छ । पछिल्लो तीन वर्षको तथ्यांकलाई केलाउने हो भने कर्णालीबाट पुनः श्रम स्वीकृति लिएर विदेश जानेको संख्या बढ्दो छ । श्रम तथा रोजगार कार्यालयका अनुसार आव ०७५÷७६ मा ९ सय २६ ले श्रम स्वीकृति लिएका छन् । कार्यालय प्रमुख सुनिता दर्लामीले यो संख्या बढेर गत आव ०७६÷७७ मा २ हजार २६ ले पुनः श्रम स्वीकृति लिएको जानकारी दिए । पुनः श्रम स्वीकृति लिनेमा संयुक्त अरब इमिरेट्स, साउदी अरब, दुबई, कतार, मलेसियालगायत खाडी मुलुक जानेछन् । खाडी मुलुक मात्र नभई छिमेकी मुलुक भारतमा रोजगारीका लागि जानेको संख्या पनि बढी छन् ।
प्रतिक्रिया