काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय समाचार समिति (रासस) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष राससका कार्यकारी सम्पादक (अङ्ग्रेजी प्रमुख) दीपराज सन्याल तथा उपव्यवस्थापक राजेशकुमार श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।
सन्याल २०५४ र श्रेष्ठ २०५० सालदेखि राससमा प्रवेश गर्नुभएको थियो । सङ्गठनको बिहीबार बसेको बैठकले यही फागुन ७ गते आयोजना हुने राससको ६०औँ वार्षिकोत्सवका अवसरमा उनिहरूलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको सङ्गठनका संयोजक प्रेमप्रसाद उपाध्यायले जानकारी दिए । पुरस्कारको राशि जनही रु पाँच हजार ५५५ रहेको छ ।
हाल जोशी सपिङ सेन्टर रहेको नयाँसडकस्थित पूर्वव्यवस्थापक आदित्यध्वज जोशीको घरबाट विसं २०१८ फागुन ७ देखि राससको कार्यप्रारम्भ भएको थियो ।
राससका पूर्वव्यवस्थापक जोशीको नामबाट विसं २०६६ मा स्थापित उक्त पुरस्कारबाट यसअघि राजु शाक्य, फिरुराम चौधरी, ध्रुवभक्त श्रेष्ठ, बलबहादुर विश्वकर्मा, मदन गौतम, शम्भुप्रसाद यादव, रमेश मिश्र, पवित्रा गुरुङ, कृष्णप्रसाद शर्मा, भोलानाथ पौडेल, रामभगत बुढाथोकी, मङ्गलबहादुर जलहारी, न्हुछेराज बज्राचार्य, सागुरसिंह राना, जगतकृष्ण श्रेष्ठ, रजनी बज्राचार्य, तीर्थप्रसाद भट्टराई, रामलाल श्रेष्ठ, विष्णुप्रसाद लामिछाने र हरि बाँस्तोला सम्मानित भइसकेका छन् ।
प्रतिक्रिया